काठमाडौं, ३० कात्तिक – एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन्।
‘हाम्रो खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेको छ,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ। नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ।’
नगद सहितकाे सम्मानकाे लागि मन्त्री श्रीपालीले अाज नै तयारी गर्न सम्बन्धित निकायलार्इ निर्देशन दिएका छन्। विजयी टाेली भाेलि बुधबार राति ८ बजे नेपाल फर्किंदैछ।
मलेसियाको कुचिङमा बुधबार सम्पन्न एएफसि सोलिडारिटी कपमा मकाउलाई १ शून्यले हराउँदै नेपाली टोली विजेता बनेको थियो। यो विजयले नेपाली फूटबलमा ३७ वर्षदेखिको इतिहास तोडेको बताइएको छ। नेपाललाई उपाधि दिलाउने एकमात्र गोल खेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेड मार्फत गरेका थिए।
यो नेपाल र मकाउबीचको यो छैटौं भेट थियाे। यसअघि दुर्इ देशबीच भएको ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्को १ मा हार व्यहोरेको थियो। एएफसी सोलिडारिटी कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइ बेकरमा ३–० गोल अन्तरले पराजित गरेको थियो।
Previous Articleएएफसी सोलिडारीटी कप फुटबलको उपाधी नेपाललाई
Next Article पाकेटमार चेक साट्न बैंक पुगेपछि पक्राउ