काठमाडौं, ३० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएका छन् । कार्कीविरुद्ध चलेको पुनरावलोकन मुद्धामा हुलहुज्जत गर्दै म्याद बुझ्न अस्वीकार गरेको दाबीसहित अधिवक्ता ओमप्रकाश अर्यालले दिएको पुरक निवेदनमा सात दिनभित्र उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो ।
सोही आदेश अनुसार कार्की मंगलबार लिखित जवाफसहित अदालतमा उपस्थित भएका हुन् । कार्कीले लिखित जवाफमा आफूले न्यायपालिकाप्रति उच्च सम्मान गर्ने गरेको बताउदै विदेश भ्रमणमा रहेका कारण काबु बाहिरको परिस्थितिमा म्याद बुझ्न असमर्थम भएको जनाएका छन् ।
उनले निवेदक अर्यालले प्रायोजित रुपमा गलत मनसायका साथ आफूविरुद्ध निवेदन दिएको दाबी समेत गरेका छन् । सर्वोच्चले पुनरावलोकन र उक्त निवेदन उपर मंसिर १६ गते सुनुवाई गर्दै छ ।
भाडाको घरमा किन म्याद टाँसियो ?
कार्कीले अख्तियार प्रमुखमा नियुक्त भएसँगै आफु आयोग परिसरकै सरकारी निवासमा बसिरहेको भन्दै लेखेका छन्- ‘यसअघि मेराविरुद्ध जति उजुरीहरु परे, ती सबैको म्याद मेरो भाडामा दिएको घरमा नपठाएर म बसिरहेको सरकारी निवासमा नै तामेल भएको थियो ।’
कार्कीले आफु बसेको सरकारी निवासमा म्याद तामेलीमा कुनै असहयोग नगरेको समेत दाबी गरेका छन् । उनले यसपटक आफु नबसेर तीन बर्षदेखि भाडामा दिएको घरमा किन, कसरी र कुन उद्देश्यले म्याद तामेल गर्न लगियो, त्यसबारे आफु आश्चर्यमा परेको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
यस्तै व्यवस्थापिका संसदमा आफुविरुद्ध परेको उजूरीका बारेमा लेख्दै कार्कीले त्यो संसदको क्षेत्राधिकारभित्रको विषय रहेको भन्दै त्यसबारे अदालतमा जानकारी दिनु नपर्ने बताएका छन् ।
कार्कीले आफुमाथिको आरोप पूर्णरुपमा पूर्वाग्रहमा आधारित रहेकाले खारेज गर्न माग गरेका छन् । तर, कार्कीले भाडामा बसेको घरमा म्याद टाँस्न जाँदा अवरोध पुर्याउने आफ्ना नातेदारहरुका बारेमा भने केही भनेका छैनन् । बरु न्यायीयक प्रक्रियामा अवरोध गरेको भन्ने आरोप गम्भीर र गलत भएको कार्कीको जिकिर छ ।
‘म पूर्वमुख्यसचिवमात्रै होइन, अख्तियार प्रमुख हुँ
अधिवक्ता अर्यालबाट दायर गरिएको उजुरीमा दाबी गरिएका आरोपहरु गलत रहेको र सर्वोच्च अदालतप्रति आफ्नो नियत खराब नरहेको तर्क गर्दै कार्कीले विपक्षीले आफुलाई पूर्वमुख्य सचिवको हैसियतमा मात्र मुद्दा दायर गरेको र अहिले संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा नस्वीकारिएको भन्दै विपक्षी अर्यालको आरोप पूर्वाग्राही भएको जवाफ दिएका छन् ।
कार्कीले निवेदक अर्यालले आफूविरुद्धको उजुरी अथ्यका आधारमा भन्दा पनि अफवाह फैलाउनका लागि दिएको जिकिर गरेका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन्- ‘उजुरीकर्ता निवेदक मप्रति पूर्णरुपमा पूर्वाग्राही भएको मेरो पदीय हैसियतको उल्लेखबाट नै प्रष्ट हुन्छ ।मेरो पदीय हैसियत विपक्षीले उल्लेख गरेजस्तो नेपाल सरकारको पूर्वमुख्य सचिवमात्र नभएर संबैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बहालवाला प्रमुख आयुक्त हुँ । त्यो तथ्य लुकाई मेरो पूर्वपदीय हैसियतमात्र देखाई निवेदन दिनुबाट मप्रति पूर्वाग्रही रहेको प्रमाणित हुन्छ ।’
Previous Articleबागलुङमा ४ नगर, १० स्थानिय निकाय
Next Article एएफसी सोलिडारीटी कप फुटबलको उपाधी नेपाललाई