बागलुङ आलु खेतीको प्रचुर संभावना भएको जिल्ला हो । बागलुङमा उत्पादित आलुको लोकप्रियता कै कारण स्वदेशका विभिन्न शहरदेखि विदेश समेत निर्यात हुने गरेको छ । बागलुङको ढोरपाटनमा उत्पादित आलु निकै नै स्वादिष्ट हुने हुँदा यसको माग पनि उच्च छ । केही समयअघि ढोरपाटनको आलु युरोपेली मुलुक फ्रान्समा निर्यात भएको थियो । बागलुङमा उत्पादित स्वादिष्ट आलुको अझै व्यवसायिक रुपमा विदेश भने निर्यात हुन सकेको छैन । यसको व्यवसायिक रुपमा खेती गर्ने र विदेश निर्यातको लागि वातावरण बनाउने होभने पैसा कमाउनको लागि विदेश भासिनु पर्ने बाध्यता सधैका लागि अन्त्य भएर जान्छ । जिल्लाको ढोरपाटन र ताराखोलाको आलुको बजार अहिले निकै नै राम्रो छ । तर, बजारमा आलुको जति माग छ त्यो मात्रामा उत्पादन हुन सकेको छैन । कृषकलाई परम्परागत खेती छाडेर आलुको व्यवसायिक रुपमा खेती गर्नतर्फ प्रेरित गर्ने होभने नेपालको तराई र भारतबाट आयात हुने आलु विस्थापित हुने निश्चित छ ।
आलु उत्पादन हुने जिल्लाका पकेट क्षेत्रमा सरकारी निकायले यसको प्रर्वद्वन गर्नको लागि कृषकलाई उत्साहित बनाउन जरुरी छ । ढोरपाटन र ताराखोलामा बाह्ैमास आलु उत्पादन हुने वातावरण हुने हुँदा त्यहाँका उर्वर भूमीमा वैज्ञानिक तरिकाले आलुको खेती गर्न जरुरी छ । त्यसको लागि लाखौं खर्च गरेर विदेश पलायन हुने युवा जनशक्तिलाई खटाउन जरुरी छ । आलुबाट राम्रो आम्दानी हुने हुँदा आलु खेती र यसको बजारीकरणको लागि कृषक र सरकारी निकायले समन्वय गर्न जरुरी छ । बागलुङमा यसबर्ष मात्रै ४० करोडभन्दा बढी मूल्यको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, एक हजार हेक्टर क्षेत्रफलमा गरिएको बर्खे आलुखेतीबाट ११ हजार ६ सय ९४ मेट्रिक टन उत्पादन भएको छ । एकै सिजनमा ४० करोड ९० लाख बराबरको आलु उत्पादन भएको छ । जसमध्ये हालसम्म ५ हजार मेक्ट्रीक्टन आलु बिक्रीबाट १७ करोड ५० लाख रुपैयाँ कृषकको घरमा भित्रिएको छ ।
थोरै लगानीबाट राम्रो मुनाफा आर्जन गर्न सकिने हुँदा जिल्लालाई आलुमा आत्मनिर्भर बनाउने अभियान सम्बन्धित निकायले चलाउन जरुरी छ । जिल्लामा उत्पादन भएको आलु ५० देखि ६० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भएको छ । कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिकीरण बन्दै जानु, अनुदानका कार्यक्रम, बीउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलुखेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको छ । आलुमा राम्रो संभावना भएको हुँदा विदेश जाने पैसालाई यस खेतीमा प्रयोग गर्न जरुरी छ । बागलुङको तारा, हिल, अर्गल, बोबाङ, निसी, तमान, खुंखानी, बोंगादोभान, धम्जा लगायतका गाविसलाई बर्खे आलु उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । यि पकेट क्षेत्रमा आलु खेतीको विस्तार गर्नको लागि जिल्ला कृषि विकास कार्यालयले नयाँ नयाँ प्याकेजका कार्यक्रम ल्याउन जरुरी छ । जसले गर्दा युवा जनशक्ति यो पेशमा समर्पित सकोस् । आलुबाट राम्रो आम्दानी हुने भएको हुँदा यसको खेतीमा अग्रसर हुन अब सबैले सोच्नु पर्छ ।
Previous Articleकात्तिक ३० देखि मंसिर ६ गतेसम्मको साप्ताहिक राशिफल
Next Article खोट पासपोर्ट कि हामीमा !