चीनबाट आज ९ लाख डोज खोप काठमाण्डौ ल्याइँदैछ । बेइजिङबाट आठ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजबाट र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सको जहाजबाट ल्याउन लागिएको हो । खोप आएपछि कसलाई कहिलेदेखि वितरण गर्ने भन्नेबारे निर्णय हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराउने घोषणा गर्नुभएको १० लाख डोजमध्ये ९ लाख डोज खोप आज काठमाण्डौ ल्याउन लागिएको हो । यसअघि पनि चीनले आठ लाख डोज भेरोसेल खोप अनुदानमै उपलब्ध गराएको थियो ।
चीनबाट अहिले ल्याइने भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी छ । यसअघि कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन नसकिने सरकारले बताइसकेको छ ।
पहिलो डोज कोभिसिल्डको लगाएकाले दोस्रो डोज पनि कोभिसिल्डकै खोप चाहिने र भारतबाट कोभिसिल्डको खोप ल्याउन नसकिएपछि समस्या भएको हो ।