दक्षिण अमेरिकी महादेशको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ । यसअघि सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो ।

कोलोम्बियामा राजनीतिक अस्थिरताका कारण आयोजनाको जिम्मेवारी खोसिएको थियो । तर त्यसयता अर्जेन्टिनामा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि आयोजकले प्रतियोगिता अन्यत्र गर्ने निर्णय लिएको हो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले छिट्टै नयाँ आयोजकबारे जानकारी दिने जनाएको छ ।
अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ । पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि कन्मेबलले यो निर्णय लिएको हो । सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो ।
कोपा अमेरिका १३ जुन देखि १० जुलाईसम्म हुने कार्यक्रम रहेको थियो । तर अब आयोजना स्थल परिवर्तन भएसँगै खेल मिति पनि केहि परिवर्तन हुन सक्छ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो ।
समूह ए मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरुले प्रतिस्पर्धा गर्ने तय थियो ।