काठमाडौं, ३० कात्तिक-देशका झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुर्व्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् ।
हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी ( नाम गोप्य ) ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ । सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ । विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् ।
विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए ।
प्रशिक्षक बस्न्यातले भने आफूमाथि आरोप लागेको पुष्टि गरे पनि त्यो आरोप झुटो भएको दाबी गरेका छन् । हङकङमा प्रतियोगिता चलिरहँदा अनुशासनहीन खेलाडीलाई गाली गरेको उनले बताए । तर, यस विषयलाई ती खेलाडीले नै अनावश्यक मोड दिएको दाबी उनले गरेका छन् ।यस्तो छ आरोप
१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुर्व्यवहारको प्रयास गरेको
२. घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको
३. वादविवाद हुँदा प्रशिक्षकद्वारा खेलाडीलाई अश्लील गालीगलौज गरेको
४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको |