हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता भएको छ।
राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरे।
अब मर्ज पुरा नहुन्जेलसम्म दुबै बैंकको सेयर कारोबार हुने छैन।
अहिलेका दुइटा बैंक एक भएपछिको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने भएको हिमालयन बैंकका प्रवक्ता शितल कोइरालाले जानकारी दिए।
केही कर्मचारी भने कटौती गर्ने लक्ष्य लिइएको छ। इच्छुक कर्मचारीले निश्चित सेवा सुविधा लिएर पनि अवकाश हुन पाउनेछन्।
खासगरी नेपाल इन्भेष्टमेन्ट बैंकमा केही कर्मचारी करारमा रहेकाले यो आर्थिक वर्षपछि स्वतः पदमुक्त हुनेछन्। मर्जपछि अब हिमालयन बैंकको विनियमावली आकर्षित हुने कोइरालाले जानकारी दिए।
यसको अर्थ अब हिमालयन बैंकका कर्मचारीले पाएको सेवा सुविधा नै सो पदसरहका सम्पूर्ण कर्मचारीले पाउने छन्। हाल हिमालयनभन्दा इन्भेष्टमेन्टका धेरै कर्मचारीको तलव, सुविधा कम भएकाले अब उनीहरुको तलव सुविधा बढी हुनेछ।
दुई महिनामै एकीकृत रुपमा कारोबार थाल्ने लक्ष्य लिइएको छ। यद्यपि कोभिड १९को महामारीका कारण यो समय केही लम्बिन सक्नेछ।
मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन्। मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३-३ जना संचालक नियुक्त हुनेछन् । नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियूक्त गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ।
सिइओ अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि ज्योति पाण्डे सिइओ हुनेछन्।
सेयर लगानीका सम्वन्धमा हाल जुन बैंकको जति सेयर छ, मर्जपछि पनि त्यति नै सेयर हुनेछ। हाल दुईमध्ये कुनै बैंकको १ सय कित्ता सेयर छ भने मर्जपछिको सेयर पनि १ सय नै हुनेछ। यदी दुबै बैंकको १–१ सय कित्ता सेयर छ भने मर्जपछिको सेयर २ सय कित्ता हुनेछ।
अब यो बैंक बचत संकलन, व्यवसाय (कर्जा प्रवाह), चुक्ता पुँजी, जगेडा कोषका आधारमा सबैभन्दा ठूलो बैंक हुनेछ।
बैंकको कुल निक्षेप (बचत) करिब ३ खर्ब हुनेछ। चैत मसान्तसम्म हिमालयनको १ खर्ब २१ अर्ब र इन्भेष्टमेन्टको १ खर्ब ६५ अर्ब छ। त्यस्तै कुल कर्जा प्रवाह २ खर्ब ७८ अर्ब हुनेछ।
चुक्ता पुँजी २६ अर्ब ९३ करोड हुनेछ। जगेडा कोष १९ अर्ब १४ करोडको हुनेछ। चैतसम्मको वित्तीय विवरणलाई एकीकृत गर्ने हो भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा हुनेछ।
दुवै बैंकमा खाता हुनेको के हुन्छ?
दुबै बैंकमा बचत खाता हुनेले मर्जपछि पनि दुबै खाता चलाउन सक्छन्। तर क्रमिक रुपमा ग्राहकको एउटै प्रकृतिको खातालाई एकीकृत गराइनेछ।
त्यस्तै अब दुईमध्ये जुनमा बचत खाता भए पनि खाता नम्वर परिवर्तन हुनेछ। त्यसमा ग्राहकलाई कुनै झन्झट हुनेछैन। बैंकले बचतमा दिँदै आएको ब्याजदर पनि परिवर्तन हुन सक्नेछ।
तर दुवै बैंकमा एउटै व्यक्ति वा संस्थाको मुद्दती खाता भएको अवस्थामा भने परिपक्व अवधिसम्म दुइटै खाता हुनेछ।
जुन बैंकले जति ब्याजदर तोकेको छ, समाप्त हुन्जेल दुबै बैंकका खातामा त्यति नै ब्याज पाउँछन्।
टुंगो लागेन हबिबको सेयर
मर्ज सम्झौता भए पनि हबिबको सेयर बिक्रीका सम्वन्धमा भने टुंगो लागेको छैन। हबिबले मर्जअघि नै सेयर बिक्री गर्न चाहे पनि त्यो पुरा हुन सकेन।
यो वैदेशिक लगानीसँग पनि सम्वन्धित भएकाले राष्ट्र बैंक र अर्थ मन्त्रालयले नै सहजीकरण गर्नुपर्ने अवस्था रहेको हिमालयन बैंकका उच्च अधिकारीहरु बताउँछन्।
हाल हबिबसँग हिमालयन बैंकको २० प्रतिशत संस्थापक सेयर छ। हबिबले प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले सेयर बिक्री गर्न खोजेको छ। २ करोड १३ लाख ६८ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्री गरेर हबिबले करिब ६ अर्ब ४ करोड रुपैयाँ रकम लैजाँदै छ।
सेयर खरिदको सुनिश्चितता भए पनि प्रक्रियागत रुपमा हबिबले लैजान केही महिना नै लाग्ने भएपछि अहिले यो विषय थाती रहेको छ।
राष्ट्र बैंकले हबिबलाई लगानी फिर्ता लैजानका लागि कुनै समस्या नरहेको जानकारी गराएको छ। हाल राष्ट्र बैंकसँगै वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ। चैत मसान्तसम्म ११ अर्ब ९६ करोड डलर सञ्चित रहेको राष्ट्र बैंकले जनाएको छ। सेतोपाटीबाट साभार