निर्वाचनमा मतदान गर्नको लागि सबै यौग्य नागरिकहरुले फोटोसहितको मतदाता नामावलीमा अनिवार्य रुपमा दर्ता गर्नुपर्छ । तर, धेरै नेपाली नागरिकले मतदाता नामावलीमा दर्ता गरेको पाइदैन । मताधिकारको महत्वबारे सबै वर्ग सचेत नहुँदा धेरै नागरिक मत प्रयोग गर्नबाट बञ्चित बनेका छन् । तर, कतिपय नागरिकमा भोट हालेर के हुन्छ ? भन्ने मानसिकता हाबी हुँदा मतदाता नामावलीमा दर्ता गर्ने काम हुन सकेको छैन । नागरिकले आफ्नो मतबाट शासक चुन्ने पाउने हुँदा मताधिकारबारे समयमै सचेत हुन जरुरी छ । शासक कस्तो चुन्ने भन्नेबारे नागरिकले आफ्नो मत प्रयोग गर्न आवश्यक छ । देशलाई अध्यारो वा उज्यालोतर्फ लैजान एक मतको पनि अत्यन्त महत्व रहेको छ । त्यसैले मताधिकारको अधिकतम् रुपमा प्रयोग गर्न योग्य नागरिक अग्रसर बन्न जरुरी छ ।
हरेक व्यक्तिको मतको समान महत्व छ । मतदानको अवसर प्रयोग गर्न छुट्नु हुँदैन । दण्डहीनताको अन्त्य गर्दै कानुनको शासनलाई बलियो बनाउन पनि मताधिकार प्रयोग गर्नुपर्छ । भ्रष्ट, अपराधी, चरित्रहिन उम्मेदवारलाई सत्ता संचालनबाट बिमुख गराउन पनि एक मतको महत्व हुन्छ । देशलाई कस्तो बनाउने भन्ने विषयमा पनि मतको उत्तिकै भूमिका हुन्छ । लोकतन्त्र, विधिको शासन स्थापित गर्नको लागि योग्य नागरिकले भूमिका खेल्न सक्छ । नागरिकले आफ्नो मताधिकार सहि ठाउँमा प्रयोग गर्न सकेन भने लोकतन्त्र नै कमजोर बन्दै जान्छ । त्यसैले मतदान गर्नबाट बञ्चित नहुन सबैले फोटो सहितको मतदाता नामावलीमा दर्ता गराउन जरुरी छ । यसै सन्दर्भमा जिल्ला निर्वाचन कार्यालयले पनि जिल्लाका मतदाताको नामाबली अद्यावधिक योजना ल्याएको छ । २०७० सालको संविधानसभा निर्वाचनपछि मतदाता नामाबली अद्यावधिक नभएकोले यो कार्यक्रम संचालनमा ल्याएको हो ।
सरकारले आगामी २०७४ को माघ सम्ममा स्थानीय, संसद र राज्य तहको निर्वाचन गर्ने रणनीति बनाएपछि मतदाता नामाबली अद्यावधिक गर्न आवस्यक भएको हो । गतबर्ष आंसिक रुपमा छुटेका मतदाता नामाबली संकलन गरेपनि आयोगमा अझै समावेश भैसकेको छैन । बागलुङका ३२ गाविसमा संकलन गरिएको नामाबली र कात्तिक २८ गतेदेखि शुरु गरिने मतदाता दर्ता कार्यक्रमलाई आयोगमा पठाइने योजना छ । उमेर पुगेका मतदातालाई नामाबलीमा समावेश गर्न सम्बन्धित निकायले ग्रामिण जनतालाई पायक पर्ने ठाउँमा मतदाता नामावली दर्ताको लागि सहज वातावरण बनाउन जरुरी छ । मतदाता नामावली संकलन अभियानबाट कोही पनि छुट्नु हुँदैन । मताधिकारको महत्व नबुझ्दा अझैपनि जिल्लाका ग्रामिण क्षेत्रका जनताहरुले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न छुटेका छन् । मतदाता नामावली अद्यावधिक नभएमा स्थानीय निकायको निर्वाचनमा बढी झमेला पर्न सक्छ त्यसैले सचेत हुन जरुरी छ । योग्य नागरिकले मतदाता नामावलीको बेवास्ता नगरी आफ्नो पायक पर्ने ठाउँमा पुगेर फोटोसहितको नाम दर्ता गर्न जरुरी छ ।
Previous Article२९ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article प्रचण्ड सरकारका सय दिनः हर्ष न विस्मात