हिमाली जिल्ला म्याग्दीको एउटा मात्रै नगरपालिका बेनी नगरपालिका हो । यस नगरपालिकामा साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसहरु समेटिएका छन् । कुल ७६.५७ वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकाको २०८६ सालको जनगणनाअनुसार जम्मा ३३,४९८ जनसंख्या रहेको छ । बेनी नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्यहरु भैरहका छन् र आगामी योजनाहरु के–के छन् । यिनै विषयहरुमा आधारित रहेर म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीसँग रुप्से दैनिकका लागि अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंंशः
बेनी नगरपालिकामा हजुरको कार्यकाल कस्तो चलिरहेको छ ?
म यस नगरपालिकासँग पहिलेदेखि नै परिचित छु । खुसी छु, फेरी पनि यहाँ काम गर्ने अवसर मिलेको छ । ऐन, कानुनको कार्यान्वयन गराउँदै नगरपालिकाको दैनिक सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा लगायतका समग्र क्षेत्रको विकासका निम्ती मैले अर्थात् प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने भूमिकामा सबैको साथ र सहयोग आवश्यक हुन्छ । जसका लागि जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुको सकारात्मक साथ र सहयोग मिलिरहेको छ ।
सुन्दर र समुन्नत बेनी नगरपालिका बनाउनका लागि के कस्तो योजनाहरु अगाडि सारिएका छन् ?
नगरपालिकाको गुणात्मक विकासका लागि पूर्वाधार, सामाजिक, आर्थिक तथा पर्यटकीय क्षेत्रमा क्षमता अभिवृद्धि गनुपर्ने हुन्छ । जसका लागि नगर क्षेत्रभित्र सबै सिजनमा निरन्तर चल्ने बाटो पुगिसकेको छ । यसको निरन्तरता दिइरहने छौं । नगपालिकाको आवधिक नगर विकास योजना निर्माणको चरणमा छ । सबै वडाहरुमा स्वास्थ्यचौकीहरु सञ्चालनमा छन् । विद्यालय नर्स कार्यक्रम सञ्चालन भैरहेको छ । शिक्षातर्फ विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको पूनर्गठन भएको छ । दिवा खाजा कार्यक्रम कार्यान्वयन भैरहेको छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीय सम्पदाहरुको थप विकास र प्रर्वद्धन गर्ने काम भैरहेको छ । मानव वस्ती तथा जनघनत्व बढी रहेका बजार क्षेत्रमा ढल तथा नाली व्यवस्थापनमा जोड दिइएको छ । बे.न.पा. ८ क्याम्पसचोकमा ढल तथा पहिरो व्यवस्थापनका लागि व्यतिmगत जग्गा तथा संरचना अधिग्रहण गर्ने काम पनि सम्पन्न भएको छ । तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालय निर्माणका लागि प्रदेश सरकारसँगको सहकार्यमा ५० लाखको लागतमा काम अगाडि बढाइसकिएको छ । बे.न.पा. ५ स्थित पछैमा रावणपार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको साँझेदारीमा तीन करोड २५ लाखको लागतमा आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । बसपार्क तथा फोहोरमैला व्यवस्थापन, बजार संरक्षण, ढल व्यवस्थापन जस्ता संवेदनशील क्षेत्रमा पनि जोड दिइएको छ । नगरवासीको आर्थिक क्षमता विकासका लागि कृषि तथा पशुको क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिरहेका छौं ।
केन्द्र सरकारभन्दा पहिला नै बेनी नगरपालिकाले खरको छाना विस्थापन गर्ने योजना अगाडि सारेको थियो किन ?
नगरवासीले सुरक्षित आवासको अनुभूति गर्नका लागि नगरपालिका क्षेत्रमा खरका छाना रहेको विवरण उपलब्ध भएपछि तुरुन्तै खरका छाना विस्थापन गरी नगरपालिकाले टिन उपलब्ध गराउने कार्यपालिकामा निर्णय गरिएको थियो । खरको छाना विस्थापित अभियान सञ्चालन गरी गत आ.व.मा नगरपालिका भित्रका १०२ वटा घरमा खरको छाना विस्थापित गरी हरियो रङको जस्ता पाताले (टिन) छाना छाउने काम सम्पन्न भएको छ । केन्द्र सरकारले अभियान सुरु कहिले गर्छ भनेर कुरेर बस्नुहुँदैन । नगरपालिका आफै स्थानीय सरकार हो । आफ्नो क्षेत्रमा रहेका समस्याहरुलाई सकेसम्म स्थानीय सरकारले नै समाधान गर्नुपर्छ भन्ने मान्यताले सुरु गरिएको हो । खरको छाना विस्थापित कार्यक्रमले नगरवासीलाई सुरक्षित आवासको महसुस भएको छ ।
नगरपालिकामा कर्मचारी व्यवस्थापन के कसरी भएको छ ? के अहिले नगरपालिकामा पर्याप्त कर्मचारी छन् ?
कर्मचारी व्यवस्थापन नगरपालिकाको दिर्घकालीन सोच र विकाससँग प्रत्यक्ष जोडिन्छ । धेरै शाखाहरु छन् । सुरुमा शाखामा १ जना कर्मचारीले पनि सञ्चालन गर्नुपर्ने अवस्था थियो । संघीय निजामतितर्फका, स्थानीय तहका कर्मचारी र हालै केही अपुग कर्मचारीको करार सेवामा पदपूर्ति गरिएको छ । स्वास्थ्य, कृषि तथा पशु सेवा शाखाहरुमा पनि थप कर्मचारी नियुक्त गरिएको छ । केही प्राविधिक जनशक्तिबाहेक अन्य जनशक्तिको अभाव रहेको छैन । सेवा प्रवाह अझै सहज, सरल र प्रभावकारी रुपमा लगिने छ । नियमितता, अनुशासन, जवाफदेहिता र उत्तरदायित्व जस्ता कुराहरुमा सजग गराई कर्मचारीहरुको मनोबल वृद्धि तथा क्षमता विकासमा जोड दिइएको छ । कर्मचारीहरुको अवसर, समस्या तथा चुनौतीका विषयमा हरेक महिना कर्मचारी वैठक बसी छलफल गर्ने गरेका छौं ।
जिल्ला सदरमुकाम रहेको बेनीको व्यवस्थापन गर्न जटिल छ, तर पनि यसलाई व्यवस्थित गर्ने तपाइँको योजना के छ ?
संघीयता लागू भैसकेपछि पनि नगरवासीले सदरमुकामको नगरपालिका भएकोले समग्र जिल्लाको विकास नगरपालिकामै खोज्ने चाहना रहेको पाइन्छ । सबै गाउँपालिकाहरुले आ–आफ्नो क्षेत्रमा विकास निर्माणको काम गरिरहे जस्तै नगरपालिकाले पनि गरिरहेको छ । २ वटा मात्रै वडा बेनीबजारमा र ८ वटा वडा ग्रामीण क्षेत्रमा छन् । विकास भनेको अनुभव गर्ने कुरा हो । नगरपालिका भित्रकै कुनै वडामा सानो काम हुँदा पनि ठूलो विकास भएको भान हुन्छ । तर कुनै वडामा धेरै बजेट खर्च गर्दा पनि सामान्य देखिन्छ । नगरपालिका जिल्ला सदरमुकाममा भएकोले जिल्लाभरीको बजार क्षेत्र पनि यहि हो । अन्य सेवा सुविधा लिनका लागि पनि जिल्ला सदरमुकाममै सबै गाउँपालिकाबाट आउने गर्छन् । यातायातको व्यवस्था मिलाउने, बजार व्यवस्थापन गर्ने लगायतका काम पनि नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी गर्नुपर्ने हुन्छ । त्यो काम भैरहेको पनि छ ।
जातीय विभेद, महिला हिंसा, बालविवाह जस्ता समस्या नगरपालिकाभित्र छन् कि छैनन् ?
जातीय विभेद, महिला हिंसा, बालविवाह जस्ता सामाजिक कुरितीहरुसँग अछुतो बेनी नगरपालिका पनि पक्कै छैन । यस्ता समस्याहरुको दिर्घकालीन निराकरण गर्नका लागि नगरपालिकाबाट पनि हरेक वडामा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यस्ता कुरितीहरु तथा कु–प्रथाहरु हटाउन लामो समय लाग्छ किनभने अलिखित परम्परा लिखित संविधानभन्दा बलियो हुन्छ, जुन धेरै वर्ष पहिलेदेखि अभ्यास हुँदै आइरहेको छ । १÷२ वर्षमै सबै निर्मूल गर्न सकिँदैन । पहिलेभन्दा धेरै सुधार भएको छ । नगर उपप्रमुखको संयोजकत्वमा नगरपालिकामा न्यायिक समिति पनि छ । विभेद तथा हिंसाका एका दुई घटना यहाँसम्म पनि आउने गरेका छन् । नगरपालिकाले आगामी दिनमा यी र यस्ता कु–प्रथाहरु हटाउन अझै बढी पहल गर्नेछ ।
अन्त्यमा भन्नुपर्ने बाँकी केही छ की ?
समग्र नगर क्षेत्रको अवस्था, विकास निर्माणमा कामको गति, कार्यालयबाट भैरहेका सेवा प्रवाह लगायतका बारेमा मैले यसअघि माथि नै भनिसकेको छु । हामी सम्पूर्ण नगरवासीलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौं । नगर क्षेत्रभित्र प्राथमिकता के हो भन्ने सवालमा त्यसैअनुसार बेनी नगरपालिका, यहाँका सबै जनप्रतिनिधि ज्युहरु र कर्मचारीसहित लागिपरेका छौं । यो वर्ष बेनी नगरपालिका ‘कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको आधार’ भन्ने मूल नारासहित बजेट, नीति तथा कार्यक्रम लिएर अगाडि बढेको छ । समृद्ध बेनी नगरपालिका बनाउन यहाँहरुलगायत आम नगरवासीको सहयोग हुनेछ भन्ने अपेक्षा लिएको छु । बेनी नगरपालिकालाई उत्कृष्ट बनाउन हामी निरन्तर लागिपरेका छौं । यसका लागि सबै पक्षको सहयोगको आवश्यकता पर्दछ । अन्त्यमा यहाँको पत्रिकामा मेरा अनुभव र नगरपालिकाको विषयमा आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद !
Previous Articleरुप्से दैनिक ! ११ चैत्र २०७७
Next Article रुप्से दैनिक ! १२ चैत्र २०७७