नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै जिल्लामा रहेका सरकारी अस्पतालहरु अहिले प्रदेशस्तरीय अस्पतालको रुपमा रुपान्तरित भएका छन् । रुपान्तरण भएसँगै अस्पतालले प्रदान गर्ने सेवा सुविधामा पनि वृद्धि भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित तत्कालीन म्याग्दी जिल्ला अस्पताल २०७२ सालमा ५० शैया क्षमतामा स्तरोन्नति हुँदै बेनी अस्पतालको रुपमा सञ्चालनमा आएको हो । अहिले बेनी अस्पताल परिसरमा ५० शैया क्षमताको भवन निर्माणाधीन अवस्थामा रहेको छ । पछिल्लो समय बेनी अस्पतालमा अस्पताल व्यवस्थापन समितिमार्फत विभिन्न सेवासुविधाहरु थप गरी नागरिकलाई प्राथमिकताका साथ उपचार सेवा प्रदान गरिएको छ । अस्पतालमा दक्ष जनशक्ति परिचालन, अत्याधुनिक उपकरणको व्यवस्थापनसँगै नागरिकले जिल्ला बाहिर गएर पाउने सेवासुविधा बेनी अस्पतालमै पाइरहेका छन् । यसैक्रममा अस्पतालमा पछिल्लोपटक विस्तार गरिएको भौतिक पूर्वाधार, थपिएका सेवासुविधा र आगामी योजनाका बारेमा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालसँग रुप्से दैनिकका लागि अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंशः
बाहिरबाट हेर्दाको अस्पताल र भित्र बसेर काम गर्दा कस्तो पाउनुभयो ?
आम मानिसले बेनी अस्पताल भनेपछि सरकारी अस्पतालमा धेरै सुविधाहरु हुन्छ भनेर सोचेका हुन्छन् र त्यो स्वभाविक पनि हो । मेरो पनि मानसिकतामा त्यही थियो र म पनि आम सर्वसाधारणकै भूमिकाबाट आएको हुँ । ग्रामीण परिवेशमा हुर्केको मेरो दिमाग २०५० सालमा बजार झरेपछि जुनसुकै स्थानमा औषधी पाइन्छ भन्ने थियो । चाहे त्यो किराना पसल नै किन नहोस् वा औषधी पसल । सामान्यतयाः त्यो समयमा किराना पसलमा पनि गाउँबाट मानिसहरु पेट दुखेको, ज्वरो आएको, खोकी लागेको, जिउ दुखेको औषधीहरु किन्नका लागि पुग्थे र त्यहाँ बिक्री गरिन्थ्यो । सरकारी अस्पताल भनेको फरक हो र अहिले धेरै मानिस शिक्षित भैसकेका छन् । अहिले डाक्टरको सल्लाह (जाँच गरेको पेपर) विना औषधी पाइँदैन । यति हुँदाहुँदै पनि अस्स्पतालभित्र सेवाहरु व्यवस्थित र विस्तार गर्नुपर्ने थियो ।
अस्पतालमा सेवा विस्तार र व्यवस्थित गर्नका लागि के कस्ता कार्यहरु गर्नुभयो ?
जिल्लाको सरकारी अस्पताल हुँदै गर्दा पनि विद्युत आपूर्तिमा नियमितता हुन सकेको थिएन । त्यसकारण एक्सरे लगायतका अन्य सेवा लिनुपर्ने बिरामीहरु दिनभरी पर्खेर बस्नुपर्ने र बेलुकासम्म विद्युत आपूर्ति नहुँदा रिफर भई सुविधा लिनका लागि पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो । त्यो समस्या अन्त्य गर्न गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर समस्याका बारेमा जानकारी गराई समितिले जेनेटर खरिदको माग ग¥यौं । हाम्रो मागलाई मन्त्रालय र मन्त्री ज्युबाट सुनुवाई भएपछि अहिले ६२ दशमलव ५ केभिए क्षमताको जेनेरेटर जडान गरी कुनै पनि समय विद्युत आपूर्तिका कारण सेवा प्रवाह रोकिएको छैन ।
अस्पतालको ल्यावमा पुराना मोडेलका मेडिकल उपकरणलाई विस्थापित गरी नयाँ अत्याधुनिक मेसिनहरु जडानसहित सेवा दिइएको छ । ल्यावभित्र थप सेवाहरु पनि विस्तार गरिएका छन् । जसमा ज्द्यज्ञऋ (सुगर) परीक्षण, त्ँत् (थाइराईड) परीक्षणलाई विस्तार गरिएको छ । यसअघि यही सुविधा लिनका लागि म्याग्दीका बिरामीहरु पोखरासम्म पुग्नुपर्ने बाध्यता थियो ।
बेनी अस्पतालमा रहेको पुरानो मोडेलको ग्क्न् (भिडियो एक्सरे) मेसिनलाई पनि परिवर्तन गरी नयाँ मोडेलको आधुनिक डिजिटल प्रविधिको मेसिनबाट सेवा प्रवाह गरिएको छ । जसले गर्दा स्वास्थ्यकर्मी (डाक्टर)लाई रोग निदान गर्न सहज भएको छ । हामीले अस्पतालको सेवासुविधा र व्यवस्थापनसहित नागरिकको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेका छौं ।
अस्पतालमा आउने सेवाग्राहीको गुनासो, कर्मचारीको नियमितता र कार्यालयको दैनिक कार्य सम्पादनलाई चुस्त, दुरुस्त बनाउन अस्पताल परिसरभित्र सबै विभागहरुमा सिसिटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइएको छ ।
म्याग्दीमा धेरै मृगौलाका रोगीहरु भएकाले उनीहरुको उपचार गर्न तथा अस्पतालबाट दैनिक निस्कने फोहोरमैला व्यवस्थापनका लागि केही प्रयास गर्नुभएको छ ?
म्याग्दी जिल्लामा मृगौलासम्बन्धी समस्याका धेरै बिरामीहरु रहेको र उनीहरुले डायलाइसीस गर्नुपर्ने अवस्थामा भए पनि जिल्लामा त्यो सेवा थिएन । डायलाइसीस गर्नकै लागि जिल्ला बाहिर पुगेर उक्त सुविधा लिनुपर्ने बाध्यता थियो । त्यसैले बाहिर जानुपर्ने बाध्यता हटाउन अस्पताल व्यवस्थापन समितिको माग र सामाजिक विकास मन्त्री नरदेवी पुनज्युको सक्रियतामा ४ वटा मेसिन, आवश्यक अन्य उपकरणको व्यवस्था गरी २०७७ साउनदेखि बेनी अस्पतालमै निः शुल्क डायलासीस सेवा सुरु गरिएको छ । तर म्याग्दीमा मृगौला फेल भएका बिरामीहरुको सङ्ख्या करिब ५० जना अहिले पनि सेवा पाउनका लागि पालो पर्खिएर बसेका छन्भने ३० जना सम्पर्कमा आएका छन् । अब छिट्टै डायलाइसीसको दोस्रो सिप्ट पनि सञ्चालनको प्रक्रियामा रहेको छ । बिरामीको चापका कारण मृगौला डायलाइसीसका लागि सामाजिक विकास मन्त्रालयमा थप मेसिनको माग गरी प्रस्ताव पठाइएको छ ।
यसैगरी अस्पतालबाट निस्कने फोहोर जोखिमयुक्त हुने र आम सर्वसाधारणहरु अस्पतालजन्य फोहोरबाट डराउनुपर्ने स्वभाविक थियो । विगतमा अस्पतालले आफ्नो कम्पाउण्डभित्रै त्यसलाई जलाउने वा गाड्ने गर्दै आएको थियो । यस प्रकारको कार्य दिर्घकालीन समाधान नभएकाले अटोक्लेप मेसिन खरिद गरी त्यसबाटै फोहोरलाई व्यवस्थित तबरले पुनः प्रयोग गर्न सक्नेसम्मको बनाउन थालिएको छ । यति गर्दा जोखिम नहुने भएपछि बेनी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने टोलीले नै प्रशोधित फोहोर लैजाने गरेको छ ।
अक्सिजन प्लान्ट जडानसँगै अन्य सेवासुविधाहरु केके छन् ?
विगतमा सामान्य अवस्थामा स्वासप्रश्वासका बिरामीहरुलाई पनि पोखरा पठाउने गरिन्थ्यो । उक्त कार्य बिरामीहरुका लागि निकै खर्चिलो हुने देखिएकोले अस्पताल व्यवस्थापन समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि माग गर्ने निर्णयअनुसार सामाजिक विकास मन्त्रालयबाट मन्त्री नरदेवी पुनको पहलमा बेनी अस्पतालको हाताभित्रै हाल दैनिक २० वटा सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । साथै उक्त प्लान्टबाट सिलिण्डर भर्नका लागि आवश्यक पर्ने बुस्टर मेसिन खरिद गर्न संघीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा सांसद विकास कोषबाट रघुगंगा गाउँपालिकामार्फत उक्त मेसिन खरिदमा १३ लाख ४५ हजार छुट्याई नपुग रकम व्यवस्थापन समितिले थप गरी भर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै अहिले अस्पतालको प्रत्येक बेडमा हाईप्रेसरका लागि पाइपमार्फत अक्सिजन उपलब्ध हुने गरी सेवा विस्तार गरिएको छ ।
त्यस्तै बेनी अस्पतालभित्रै अत्यावश्यक सामग्रीहरुको व्यवस्था गरी छुट्टै बच्चा वार्ड सञ्चालनमा ल्याइएको छ । आवश्यक मेडिकल सामग्री सामाजिक विकास मन्त्रालय, लायन्स क्लब र ज्योती विकास बैंकको सहयोगमा तयार गरी सञ्चालनमा ल्याइएको छ । जोखिम अवस्थामा पुगेका बिरामीहरुलाई बचाउनका लागि बेनी अस्पतालले प्रयास गर्दै आएको छ । त्यस्तै कार्यका लागि बेनी अस्पतालको अध्यक्ष भएर म आएपछि ३ वटा भ्यान्टिलेटरसहित ५ बेडको आइसीयु जडान गरी आवश्यकताअनुसार सञ्चालनमा ल्याइएको छ ।
अहिले बेनी अस्पतालमा कस्तो खालका अप्रेशनहरु हुन्छन् ?
अप्रेसन थिएटरलाई नयाँ प्रविधिका आधुनिक सामग्रीहरु जडान गरी हाडजोर्नी, हर्निया, हाईड्रोसिल, पत्थरी तथा एपेण्डीसाइटिस जस्ता अप्रेसनहरु बेनी अस्पतालमै गर्ने व्यवस्था उपलब्ध गराइएको छ । आम सर्वसाधारणहरुले पहुँचको आधारमा नाम लेखाउँछन् भन्ने जस्ता आरोप खेप्ने गरेकोले त्यसको अन्त्यका लागि टोकन (क्यु) मेसिन जडान गरी सेवालाई व्यवस्थित बनाइएको छ । यसका साथै बेनी अस्पतालभित्रै गएको असोज महिनादेखि आँखाका बिरामीहरुको उपचार सेवा पनि सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको आँखा उपचारले स्वास्थ्य बिमाको सुविधा लिने बिरामीहरुलाई फाइदा पुगेको छ ।
तपाइँ अध्यक्ष भएर अस्पतालमा जाँदै गर्दा जनशक्तिको उपलब्धता कस्तो थियो ?
बेनी अस्पतालको अध्यक्षका रुपमा सामाजिक विकास मन्त्रालयले मेरो नाउँमा पत्र पठायो त्यसपछि म अस्पतालमा जाँदा एनएसआइले दिएको एकजना एमडिजीपी डाक्टरको भरमा चलेको थियो । त्यसपछि समिति र तत्कालीन निमित्त मेडिकल सुपरिटेण्डेन्ट मनोज घिमिरेको पहलमा पाटन अस्पतालसँग सहकार्य गरी तेस्रो वर्षका रेजिडेन्ट डाक्टर एकजना जनरल सर्जन, एकजना मेडिसिन र एकजना एमडिजिपि निरन्तर बेनी अस्पतालमा रहेर सेवा प्रदान गर्ने व्यवस्था मिलाइयो । हाल आएर थप एमडिजिपि डाक्टर २ जनासहित गाईनोकोलिष्ट विशेषज्ञ डाक्टरको सेवा विस्तार गरिएको छ । अस्पताल व्यवस्थापन समितिमार्फत प्रोत्साहनका लागि विशेषज्ञ डाक्टरलाई मासिक ३५ हजार रुपैयाँ थप सुविधा प्रदान गरिएको छ ।
अस्पतालमा पानी र सरसफाइको व्यवस्थापनमा के पहल गर्नुभएको छ ?
गण्डकी प्रदेश सरकारबाट विनियोजित रकम ४० लाखमध्ये खानेपानीका लागि डिप बोरिङ गर्न टेण्डर प्रक्रियामा गई सेवा सुचारु गर्ने तयारी थालिएको छ । जसले गर्दा खानेपानी र सरसफाइमा पर्ने अहिलेको समस्या समाधान हुनेछ । यसबाट अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र सेवा लिन आउने सर्वसाधारणहरु लाभान्वित हुनेछन् । यसका साथै खानेपानी आपूर्तिका लागि खानेपानी इकाई कार्यालय म्याग्दीबाट पाइप विस्तारसहित पानी पिउनयोग्य बनाउन निर्मलीकरण गर्न आवश्यक बजेटसहित कार्यसम्पन्न हुने भएको छ ।
नयाँ सुविधा थप गर्नका लागि केही पहल भएको छ कि ?
संघीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा धवलागिरी गाउँपालिकामार्फत सांसद विकास कोषबाट ३० लाख रुपैयाँको सहयोगमा इन्डोस्कोपी मेसिन खरिद गरी सो सेवा सञ्चालन गर्नका लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ । जिल्लामै इन्डोसकोपी सेवाको सुरु भएपछि यसबाट आवश्यक सर्वसाधारण तथा बिरामीलाई राहत मिल्नेछ । साथै बेनी अस्पताल स्थापनादेखि हालसम्म सहयोग गर्ने सम्पूर्ण दाताहरुको नामावली सङ्कलन गरी शिलालेख निर्माण गर्ने मेरो प्रतिबद्धताअनुसार अस्पताल परिसरभित्र गार्डेनमा सो अभिलेख राख्न निर्माण प्रक्रिया अघि बढाइएको छ ।
निर्माणाधीन ५० बेड क्षमताको अस्पतालमा भौतिक पूर्वाधार निर्माणको कार्य कुन गतिमा अगाडि बढेको छ ?
अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएर काम थालिएको भए पनि पूर्ण रुपमा काम रोकिएको थियो । म अध्यक्ष भएर आएपछि पटकपटक ताकेता गरेपछि ठेकेदार सम्पर्कमा आएर काम थालेको हो । काम रोकिएपछि जिल्लाका सबै पत्रकार तथा सञ्चारकर्मीहरुले पनि राम्रोसँगै आ–आफ्नो क्षेत्रबाट गर्नुभएको प्रचारप्रसारको कारणले नै ठेकेदार सम्पर्कमा आएर काम गर्ने वातावरण बनेको थियो । तर अहिले पुनः ठेकेदार सम्पर्कविहिन जस्तै अवस्थामा रहेकोले निर्माणकार्य पुरै रोकिएको छ । अस्पताल व्यवस्थापन समितिमार्फत जतिसक्दो छिटो ५० शैया क्षमताको अस्पताल भवन निर्माणसम्पन्न गर्न दवाव दिइरहेका छौं ।
अस्पताल ५० शैयामा स्तरोन्नति भएसँगै जनशक्तिको अवस्था कस्तो छ ?
बेनी अस्पतालका लागि ५० बेड स्वीकृत भएपछि ५९ जना कर्मचारीको स्वीकृत दरबन्दी भए पनि हाल २६ जना मात्रै कार्यरत छन् । छात्रवृत्तिमा करारका डाक्टर, केही प्रदेश सरकारबाट स्वयंसेवकका रुपमा कार्यरत स्वास्थ्यकर्मीका साथै अस्पताल व्यवस्थापन समितिले करारमा राखेका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको खटाइले अस्पतालमा विभिन्न सेवाहरु २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पतालको लेखा शाखामा कर्मचारी नहुँदा लामो समयसम्म पनि कर्मचारीले तलब समेत रोकिने अवस्था आउने गरेको छ । साथै लामो समय अस्पतालका लागि खरिद गरिएका औषधी तथा उपकरणको समेत भुक्तानी गर्न नसक्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ । यदि राज्यले तोकेको स्वीकृत दरबन्दीको कर्मचारीको व्यवस्थापन भएमा अस्पताल व्यवस्थापन समितिलाई पनि सहज हुने थियो ।
अस्पतालको सेवा विस्तारका लागि आगामी योजनाहरु के–के छन् ?
सामान्यतयाः दुर्घटना तथा लडेर घाइते भएका र टाउकोमा गम्भीर चोटपटक लागेका बिरामीहरु अहिले बेनीबाट अन्यत्र पठाउनुपर्ने अवस्था छ । उक्त समस्या हल गर्नका लागि सिटि स्क्यान मेसिन आवश्यक पर्ने भएकाले अस्पताल व्यवस्थापन समितिले निर्णय गरेर सामाजिक विकास मन्त्रालयमा पठाएको छ । यसका लागि सामाजिक विकास मन्त्री नरदेवी पुनले सकारात्मक प्रतिक्रिया दिनुभएको छ भने अन्य क्षेत्रको पनि साथ र सहयोग आवश्यक देखिन्छ । सबैले सहयोग र साथ दिएको खण्डमा निकट भविष्यमै बेनी अस्पतालमा सिटि स्क्यानको सेवा सुरु गर्ने लक्ष्य रहेको जानकारी गराउन चाहन्छु । ५० बेड क्षमतामा स्तरोन्नति भएको अस्पतालमा भौतिक पूर्वाधार निर्माणको काम भैरहेको अवस्थामा सिटि स्क्यान मेसिनसहितको सेवा दिन सकेमा म्याग्दी मात्र नभई धौलागिरीका चारवटै जिल्लाका बासिन्दालाई सुविधा लिन सहज हुन्छ ।
अस्पतालमा नियमित सेवा लिन आउने बिरामी, सर्वसाधारण र अस्पतालका कर्मचारीहरुलाई लक्षित गरेर बैङ्किङ सेवाका लागि निकट भविष्यमै एटिएम सेवासहित कुनै एउटा बैंकको सेवा काउन्टर राख्नका लागि आवश्यक पहल थालिएको छ । यसका लागि जिल्लास्थित कुनै बैंकमार्फत यो वर्षभित्र एटिएम तथा काउन्टरको स्थापना गरी सेवा सञ्चालनमा ल्याइनेछ । यसबाट आम सेवाग्राहीहरु लाभान्वित हुनेछन् ।
अन्त्यमा केही भन्नु छ कि ?
म अध्यक्ष भएर बेनी अस्पतालमा आएपछि अहिलेसम्म अस्पताल सुधार तथा सेवा विस्तारका धेरै कामहरु भएका छन् । अस्पतालको सेवासुविधा विस्तार तथा अस्पताल सुधारका लागि जिल्लास्थित सबै राजनैतिक दल, सरोकारवाला निकाय, संघसंस्थाहरु, पत्रकार तथा सञ्चारकर्मी, प्रवासी म्याग्देलीहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी एवं आम नागरिकले गरेको सहयोग अतुलनीय छ । यसका लागि अस्पतालको विकासमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु । यहाँहरुको सहयोग र साथले गर्दा नै अस्पतालमा सुधार भएको छ । मेरो कार्यकालमा भएका जति पनि सुधारका कार्यहरु छन् र सुधारको प्रक्रियामा गएका छन्, त्यसका लागि सबैले गर्नुभएको सहयोगको कारण नै सुधार आएको हो । बेनी अस्पतालका डाक्टर, कर्मचारी एवं शुभचिन्तकलगायत सबैबाट प्राप्त सहयोगले अस्पतालमा सुधार गर्न सकिएको छ । यसका लागि फेरि पनि सबैलाई धन्यवाद दिन्छु । अन्त्यमा, मेरो विचार तथा अस्पतालमा भएका गतिविधिहरुको बारेमा आफ्नो भनाइ राख्ने अवसर दिएकोमा यहाँ र रुप्से टिमलाई समेत धन्यवादसहित आभार प्रकट गर्दछु । धन्यवाद !
बेलबहादुर कटुवाल
अध्यक्ष
बेनी अस्पताल व्यवस्थापन समिति म्याग्दी