प्रेस सङ्गठन नेपाल जिल्ला शाखा म्याग्दीको मङ्गलबार सदरमुकाम बेनीमा दोस्रो भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेशका संयोजक सुष्मा पौडेलले प्रेस सङ्गठनलाई श्रमजीवी, व्यावसायिक र क्रियाशील पत्रकारहरुको संस्था बनाउनुपर्नेमा जोड दिएकी छन् ।
संयोजक पौडेलले नेपालमा भएका सबैखाले आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको बताइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रेस सङ्गठनले पार्टी तथा सरकारबाट भएका कामहरुको प्रचारप्रसार गरेर जनतालाई सुसूचित बनाउनुपर्ने बताए । उनले पार्टी र जनताबीच प्रेस सङ्गठनले पुलको काम गर्नुपर्ने भन्दै आफ्नै पार्टी भित्रबाट भएको असहयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी ताजा जनादेशको घोषणा गर्नुपरेको बताए ।
कार्यक्रममा प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य प्रकाश पौडेल, लेखा आयोग सदस्य अमृत बास्कुने, गण्डकी प्रदेश सदस्य डिपी शर्मा, पर्वत शाखा संयोजक गणेश गिरी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, म्याग्दी शाखा अध्यक्ष तारानाथ शर्मा, सचिव गोरखनाथ सुवेदी र बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए ।
यसैबीच भेलाले प्रताप बानियाँ संयोजक र अमित विश्वकर्मा सहसंयोजक रहेको २५ सदस्यीय प्रेस सङ्गठन म्याग्दी शाखा गठन गरेको छ । शाखाको जिल्ला सदस्यहरुमा सन्दीप शर्मा, बामदेव रिजाल, भूपेन बानियाँ, समिर रोका, शिव बोहोरा, ममता बराईली, बादल शाही, रवि कार्की, बिमल पुन, देवी जिसी, मनु थापा, सारिका बोहोरा, प्रतिक्षा खत्री, दिपा बुढाथोकी, दिपक शर्मा, भूपेन्द्र परियार, गणेश सुवेदी, ठाकुर सुवेदी, रेजिना कटुवाल, दिपु फगामी र सिजन रोका रहेका छन् ।
प्रेस सङ्गठन म्याग्दीको दोस्रो भेला, २५ सदस्यीय जिल्ला कमिटी चयन
Previous Articleरुप्से दैनिक ! ११ फागुन २०७७
Next Article रुप्से दैनिक ! १२ फागुन २०७७