बालकृष्ण सुवेदी
बागलुङ, २८ कात्तिक – बागलुङ जिल्ला मौलिक संस्कृतिले भरिपुर्ण जिल्ला हो । जिल्लामा बसोबास गर्ने जातजातिका आ–आफ्नै संस्कृति रहेका छन् । यस्ता ऐतिहांसिक र मौलिक संस्कृति युवापुस्ताको उदासिनताले संकटमा पनि परेका छन् ।
कतिपय जाजतातिका परम्परागत महत्वका पर्व तथा संस्कृति अझैपनि जीउँको तिउँ देख्न सकिन्छ । जिल्लाको अर्गल गाउँ विकास समितिमा बसोबास गर्ने मगर समुदायको भुष पोल्ने पर्व पनि हालसम्म जिवितै रहेको छ । करिब ९० प्रतिशत मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुष पोल्ने पर्वले आफ्नै बिषेशता बोकेको छ ।
अर्गल गाउँमा बसोबास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरको पहिचान र सभ्यताको रुपमा उनिहरुले भुस पोल्ने पर्व मनाउदै आएका छन् । प्रत्येक पर्व कात्तिक २४ गते देखि २६ गतेसम्म यो पर्व मनाउने गरेको अर्गल माविका प्रधानाध्यापक गणेश घर्ती मगरले जानकारी दिए ।
पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका घर्ती मगरहरुको महत्वपुर्ण पर्व भुस पोल्ने पर्व हो । यस अवसरमा अर्गली मगर समुदायमा गत बर्षभरी मृत्य भएका सदस्यका परिवारमा २६ गतेनै बरखी फाल्ने कार्यक्रम हुनेगर्छ र आज २७ देखि पुत्र बढाई कार्यक्रम सुरु गरिन्छ ।
यस अवसरमा मानिसको मृत्यु र जन्म संस्कार, मौलिक संस्कृति गोपिचन गित प्रस्तुत गरिन्छ । भुस पोल्ने पर्व अन्तरगत ऐतिहांसिक शंखुबारीमा विधिवत भुस पोल्ने गरिन्छ । १६ औ शताब्दीमा पाल्पाको अर्गलीबाट अर्गलमा बसाई सरी आएका आफ्ना पुर्खाले सोही दिनमा खोरीया फांडेको सम्झनामा ऐतिहांसिक कालदेखिनै यो पर्व मनाउन थालिएको स्थानीय सूर्य घर्तीले बताए ।
२४ गते अर्गली मगर समुदायले शंखुबारीमा घामको झुल्कोसंगै बिहान ९ बजे विधिवत पुजाआजा गरी भुस पोलेका थिए । कहिलेदेखि भुस पोल्न थालिएको हो भन्ने बारेमा एकिन जानकारी नभएपनि पुर्खाको प्रचलन अनुसार आफुहरुले पनि निरन्तरता दिएको पत्रकार संगम घर्तीले जानकारी दिए ।
यसैगरी २४ गते बेलुका वर्षभरी दिंबगत भएका अर्गली मगरको घरबाट होलादास चलाउने प्रचलन रहेको स्थानियले जानकारी दिएका छन् । मृतकको मावल र माईती अथवा ससुरालीमा होलादास पुर्याउने प्रचलन रहेको छ । होलादासमा चामल, मासु जस्ता खाद्य परिकार समावेश गरिन्छ । उक्त होलादाश बेलुका यतिकै राख्ने र भोलिपल्ट सबै दाजुभाई जम्मा भएर बांडेर खाने चलन रहेको छ ।
२६ गते अर्गली मगर समुदायमा मृत्यु भयकाहरुको बर्खि फाल्ने र पृति कार्य गर्ने उनको भनाई छ । त्यो दिन मृतकको घरमा रातभर जाग्राम बस्ने गरिन्छ । उनिहरुको चलन अनुसार ३ दिन अघिसम्म निधन भएको भएपनि २६ गते बरखी फालेपछि मरेपछि गरिने सबै संस्कार सकिने गर्दछन । तर २६ गते भन्दा पछि निधन भयमा एक वर्ष भरी बरखी बार्नु पर्ने हुन्छ ।
बरखी फाल्ने र पुत्र बढाई संग समन्धित गोपीचन नांच पनि उनीहरुले मृतकको घरमा र छोरो जन्मेको घरमा नाच्ने गर्दछन । पौराणिक कालमा मणिचन भन्ने राजा को छोरा गोपीचन जन्मेको दिन मणिचन राजा मरेपछि जन्म र मरणको संस्कार एकैपटक मनाउनको लागी यो नाच नाच्ने उनीहरु बताउँछन ।
बर्षभरी जन्मेका जेठा छोराको मात्र पुत्र बढाई गर्ने गरिन्छ । २६ गते पुर्खाहरुले खेति गरेको सम्झनामा शंखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउँसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ र जौ छर्ने गरिन्छ । अबिबाहित युवा युवतीले बारी नसकुन्जेलसम्म नरोकी खन्ने गर्दछन भने बिवाहितहरुले बिऊ छर्ने गर्दछन ।
अन्तिममा युवा र युवतीबीच कोदालो तानातान गर्ने र जसले आफुतीर तान्छ उसैको जित हुने गर्दछ । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ। पर्वको प्रवद्र्धनका लागि एक दशकदेखि स्थानीय अर्गल खेलकुद विकास मञ्चले पहल लिएको छ । मञ्चकै आयोजनामा बर्षेनि कात्तिक महिनामा ‘भुस पोल्ने पर्व’ लाई फेरिँदो रुपमा मनाउन सुरु गरिएको हो । मगर बाहुल्य रहेको अर्गलका अन्य समुदायको समेत सक्रियतामा भुस पोल्ने पर्वको उत्थानमा टेवा पुगेको मञ्चले जनाएको छ ।
युवा पुस्ताको पलायनले गर्दा हाम्रा कतिपय मौलिक सँस्कृति र परम्परा लोप हुन लागेको अबस्थामा अर्गलमा भने युवा युवतीहरु यस पर्वको संरक्षणमा लागी परेको महसूस गर्न सकिन्छ ।
मारुनी नाच्ने,नौमती बाजा बजाउनेदेखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साहका साथ संग्लग्न हुने गरेका छन । जसको कारण यो पर्व परम्परा अनुसार चल्दै आएको पाइन्छ ।