केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको समर्थनमा शुक्रबार म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवाहरुले शक्ति प्रदर्शन गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित बृहत प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन लागेका युवाहरुले प्रदर्शन गरेका हुन् ।
नेकपा म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवन अगाडि जम्मा भएर युवाहरुले झण्डासहित ¥याली गरेका थिए । युवाहरुको भेलालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका सचिवालय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख सुरत केसीले अहिले पार्टीमा देखिएको समस्याले ठूला नेताहरु जहाँ गए पनि कार्यकर्ताहरु भने एकै ठाउँमा रहेको बताए । उनले फेरि एकपटक कार्यकर्ताहरु एकजुट भएर नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने भन्दै सरकारले गरेका राम्रा कामहरुलाई जनताको माझमा लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
पोखरामा आयोजित युवाहरुको भेलामा म्याग्दी जिल्लाबाट मोटरसाइकल र तीनवटा बसमा ३ सय १० जना युवाहरु सहभागी भएको युवा नेता नारायण जिसीले जानकारी दिए । उनका अनुसार धौलागिरिबाट मात्रै झण्डै ५ सयजना युवाहरु पोखरा गएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै दुई भागमा विभाजित नेकपाको म्याग्दी जिल्लामा भने ओली पक्ष बलियो देखिएको छ ।