मुस्ताङ । देशमा रहेको बिद्यमान लैङ्गीक हिंसाको समस्या स्थानियतहले ध्यान दिएको खण्डमा हट्न सक्ने हिमालपारीको जिल्ला मुस्ताङका प्रदेश सभा सांसद महेन्द्रबहादुर थकालीले बताउनु भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा मुस्ताङको जोमसोममा आयोजीत कार्यक्रममा थकालीले अहिले देशैभर रहेको स्थानीय तहले आफ्नो क्षेत्र भित्र मात्र ध्यान दिएर अगाडी बढेमा हिंसाका घटना कम हुने बताउनु भएको हो ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा मुस्ताङमा भएको जातिय विभेद र कोभिड १९ ले महिलामा परेका असर विषयक अन्तरक्रियामा सांसद थकालिले मुस्ताङ जिल्ला भित्र विगतमा गाउँ तहमा हुने बैठकहरुमा महिला सहभागिता नहुने भएको भए पनि पछिल्लो समय त्यो परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नु भयो अहिले कहिँ कतै समस्या होला तर महिलालाई रोक लगाइएको छैन । विगतमा के थियो भन्ने तिर भन्दा पनि अहिले पछिल्लो समयमा गाउँहरुमा मुखीयाले बैठकहरुमा महिलाहरुलाई सहभागी गराउने सकारात्मक काम गर्नु भएको छ थकालिले भन्नुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले लैंगीक हिंसा रोक्नका लागि सबैले आफ्नो ठाउँबाट प्रयास गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो लिंग पहिचान गरेर गर्भपतन गर्ने जस्ता आपराधिक कार्य निस्तेज हुन पर्छ । प्रजिअ पौडेलले जातिय छुवाछुतको उजुरी मुस्ताङ जिल्लामा नपरेको भए पनि छुवाछुत छैन भन्ने अवस्था नरहेको बताउनुभयो । मानसिक, शारिरिक तथा आर्थिक कुनै पनि हंसाको सिकार महिला हुन नहुने पौडेलको भनाइ थियो ।
सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मीला गुरुङले हिंसा र अपराधका घटनाहरु पछिल्लो समय मुस्ताङमा बढेको बताउनुभयो । उहाँले भन्नु भयो २०६४ सालमा अदालतमा एउटै उजुरी थिएन तर अहिले छन् । महिलालाई शशक्त नबनाए सम्म हिंसा नरोकीने भएकाले त्यसका लागि हामी सबैले आफ्नो स्थानबाट पहल गर्नु पर्ने गुरुङको भनाइ थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता टेकनाथ अधिकारीले जिल्लामा अहिले महिला संग सम्बन्धीत बलात्कार जन्य उजुरीहरु पर्न थालेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका इन्सपेकटर आशिष अधिकारीले महिला हिंसा र महिला माथि हुने कुनै पनि घटनामा शुन्य सहनशिलता अपनाएर कार्य गरीएको बताउनुभएको थियो ।
कार्यक्रमको समन्वय घरपझोङ गाउँपालिकाले गरेको थियो । कार्यक्रममा घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले न्याय दिन ढिला हुने तथा न्याय नै नपाउने अवस्था कतै हुन नहुने बताउनुभयाएको थियो ।
जोमसोम अस्पतालका डाक्टर शिव भण्डारीले अस्पतालमा कर्मचारी प्रयाप्तता नहुँदा सेवाहमा केही समस्या हुने गरेको भए पनि भएका जनशक्तिले नै सकेसम्म राम्रो गर्न प्रयास गरेको बताउनुभयो ।
बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाकी महिला बालबालिका शाखाकी सहायक महिला विकास निरिक्षक सावित्रा सुवेदीले आफ्नो गाउँ पालिका क्षेत्र भित्र महिलाहरुलाई सार्वजनिक कार्यक्रममा सहभागिता गराउन निकै समस्या भएको बताउनु भयो । उहाँले भन्नु भयो सामान्यतया महिलाहरु गोष्टी तथा बैठकहरुमा सहभागी कम हुने हुँदा हिंसा भए नभएको थाहा पाउन समेत नसकिएको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले धार्मीक कारण पनि हिंसाका घटनाहरु बढेको हुन सक्ने बताउँदै परिवर्तन आफैबाट शुरु हुन पर्नेमा जोड दिनु भएको थियो । थकालिले भन्नु भयो कुनै जात जाति भन्दा पनि धार्मिक समुदायबाट हिंसा बढेकोहो कि भन्ने तर्फ पनि हामीले ध्यान दिनु पर्ने उहाँको तर्क थियो ।
मुस्ताङका पत्रकार तिलक विकले सबै स्थानमा समान अधिकार सुनिश्चितता हुनका लागि कानुनको कर्याान्वयन सहि तरीकाले हुन पर्ने बताउनुभयो । उहाँले बाध्यकारी कानुन नभएको भए स्थानियतहमा दलित महिलाको सहभागिता न्यून हुने बताउनु भएको थियो ।
Previous Articleरुप्से दैनिक ! १९ मसिर २०७७
Next Article रुप्से दैनिक ! २१ मसिर २०७७