बेनी कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नका लागि म्याग्दीको बेनी नगरपालिकाले सहमति नदिने निर्णय गरेको छ । बुधबार बसेको नगरपालिकाको ६१औं कार्यपालिका वैठकले विद्युत विकास विभागले निर्माणको तयारी गरेको बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई सहमति नदिने निर्णय गरेको हो ।
५० दशमलव ५३ मेगावाट क्षमताको यस आयोजनाले बेनीबजार क्षेत्रमा वातावरणीय असर निम्त्याउने भएकाले निर्माणका लागि सहमति नदिने निर्णय गरेको बेनी नगरपालिकाले जनाएको छ । गलेश्वर मन्दिरभन्दा १.२ किलोमिटर तल बेनपा–८, र ६ नम्बर वडा तथा पर्वतको जलजला गाउँपालिका–२, को सिमानामा बाँध निर्माण गरी तीन हजार ५ सय ३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला–४, मा पर्ने सेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरी विद्युत विकास विभागले प्रस्ताव गरेको छ ।
तर विद्युत विकास विभागले गरेको यस खालको प्रस्तावको आयोजनालाई निर्माण गर्न दिन नहुने नगरपालिकाको ठहर गरेको बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ८ बेनीका वडा अध्यक्ष रामकृष्ण बराईली (विश्वकर्मा)ले पत्रकार भेटघाटमा जानकारी दिएका छन् । उनका अनुसार जिल्ला सदरमुकाम समेत रहेको बेनी हुँदै बग्ने कालीगण्डकी नदीको अधिकांश पानीलाई सुरुङबाटै लैजाँदा बजार क्षेत्रको पर्यावरणीय पक्षमा हानी पुग्ने र तापक्रम समेत वृद्धि भई बजार क्षेत्रको मानव जनजीवन नै प्रभावित हुने देखिएपछि नगरपालिकाले विद्युत विभागले मागेको सहमतिको प्रस्तावमा असहमति जनाएको हो । विद्युत विभागको यस्तो खालको प्रस्ताव कार्यान्वयन भएमा समग्र वातावरणीय सन्तुलन समेत बिग्रने बताइएको छ ।
यसअघि मङ्गलबार बेनी नगरपालिकाले जिल्लास्थित सरोकारवालाहरुबाट समेत आयोजनाको बारेमा सुझाव सङ्कलन गरेको थियो । सरोकारवालाहरुले प्रस्तावित बाँधस्थल परिवर्तन नभएसम्म निर्माणको लागि अनुमति नदिन बेनी नगरपालिकालाई सुझाव दिएका थिए । म्याग्दीबाट संङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापा, संविधान सभा सदस्य गोविन्द पौडेलसहित जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी वैठकले यस्तो सुझाव दिएको थियो ।
यसअघि पनि प्रभावित क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका थिए । कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धि हुने र बजार क्षेत्रमा प्रदूषण बढ्ने खतरा भएकाले हाल प्रस्तावित ठाउँभन्दा करिब डेढ किलोमिटर माथि राहुघाट र कालीगण्डकीको दोभान छेउमा रहने रघुगंगा जलविद्युतको आउटलेटभन्दा माथि कालीगण्डकी नदीमा बाँध बनाउँदा उपयुक्त हुने सरोकारवालाहरुको सुझाव रहेको छ ।
रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि ३ मिटर अग्लो र ९० मिटर लम्बाइको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४ दशमलव ८३ मिटर अग्लो रहेको जनाइएको छ । आठ अरब २० करोड सातलाख रुपैयाँको लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्वीकृतीका लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमति मागेका बताइएको छ ।