यसवर्ष केही ढिला भयो कि भन्ने सबैलाई लागेको हो र स्वभाविक पनि हो । किनभने भदौमा सबै वर्षे चाडहरु अनि सोह्र श्राद्ध पनि सकिएपछि असोज महिना पुरै अघिक मास अर्थात् चन्द्रमासमा अतिरिक्त महिना भएपछि कार्तिक १ गते घटस्थापनासँगै सुरु भएको बडादसैँको रौनक अब आज छैठौँ दिनमा पुगेको छ । दसैँको रौनक सुरु भएको वा नभएको भन्दा पनि अब दसैँको टीका लगाउने दिन हाम्रो निकै नजिक आइपुगेको छ । दसैँको दिनमा के गर्ने भन्ने सबैले आ–आफ्नो मनमस्तिष्कमा खेलाउन थालेका पक्कै छन् । हुन त आफ्ना आफन्तहरुसँगै डराउनुपर्ने अवस्था सिर्जना भएको यो माहौलमा पनि हामीले चाडपर्व मनाउन भने पक्कै छाड्दैनौं । देशमा कयौं समुदायले मनाउने जात्राहरु भएकै छन्भने कयौं यस्ता चीजहरु भए जसले आम मानिसलाई नै चकित बनाउने सम्मका कार्यहरु पनि नभएका होइनन् ।
असत्यमाथि सत्यको विजयको उत्सवको रुपमा लिइने दसैँमा हामी सबैले आफ्नै तौर तरिकाबाट मनाउने गरेका छौं । नेपाली चाडहरुमध्ये पनि दसैँलाई विशेष महत्वका साथ हेरिने गरिन्छ । जुनसुकै पनि चाडहरुको आफ्नै महत्व हुँदै गर्दा पनि दसैँ आम नेपालीहरुले मनाउने चाड हो । नेपाल, भारत लगायतका दक्षिण एसियाली मुलुकहरु तथा थाईल्याण्ड र म्यानमारसम्म पनि हिन्दु संस्कार भएको स्थानमा मनाइने यो चाडमा रोजगारी तथा अन्य कार्यका लागि टाढा पुगेकाहरु घर फर्कने अनि आफन्तहरु भेटघाट हुने समय पनि हो । यही पारिवारीक मित्रता अनि सहानुभूति बोकेको चाड भएकाले पनि यसवर्ष यसले जोखिम थप बढाउँदैछ । टाढा–टाढा भएकाहरु आफन्त भेट्नका लागि पुग्ने र त्यही समयम आफैले संक्रमण बोकेर जाने वा संक्रमण बोकेर फर्कने सम्भावना पनि निकै छ । त्यसैले गर्दा नै अहिले आफू र आफन्तहरु भन्दा टाढा रहेकाहरु जुन स्थानमा रहेका छौं त्यही स्थानमा रहनु नै उचित र उत्तम उपाय हो ।
प्रत्येक वर्ष दसैँ आउँछ र त्यसमा आफन्तहरु टाढाबाट मान्यजनको आशीर्वाद थाप्नका लागि घर फर्कने गर्दछन् । त्यही क्रममा अहिले विगतको तुलानामा कम भए पनि आउने क्रम भने रोकिएको छैन । नेपालको ग्रामीण भेगका बासिन्दाहरुको युवा पुस्ता रोजगारीको सिलसिलामा सहर वा विदेश जाने गरेको यथार्थ हो । यही यथार्थले गर्दा नै दसैँ, तिहार जस्ता चाडपर्व मनाउनका लागि उनीहरु फर्कने र अहिलेको अवस्थामा उनीहरुबाटै संक्रमण आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दे सबैले आ–आफ्नो स्थानबाट ध्यान दिँदै संक्रमण रोक्न र जोगिनका लागि प्रयास गर्नु नै आजको उत्तम विकल्प हुने देखिन्छ । विश्वभर फैलिएको कोरोना महामारीको बाबजुद पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर चाडपर्व मनाऔं । सबैको दसैँ शुभ रहोस् । सबैलाई बडादसैँको हार्दिक शुभकामना !
Previous Articleरुप्से दैनिक ! ०५ कार्तिक २०७७
Next Article कालीगण्डकी जलविद्युत आयोजनालाई सहमति नदिइने