अगन्धर तिवारी
पर्वत, २८ कात्तिक – ७० वर्ष पुगेकाहरूलाई यो वर्षदेखि सरकारले वर्षको २४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । देविस्थान–७ चन्दनटारका बर्मेली बा भनेर चिनिने ७० वर्षे देवीप्रसाद भुसाल भने आफ्नै पौरखले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनी दुई दशकदेखि तरकारी खेती र बिरुवा उत्पादनमा सक्रिय छन् ।
बर्मामा ब्रिटिस शासन रहँदा बाबु गंगाधर फौजी थिए । उतै जन्मिएकाले देवीप्रसादको नाम बर्मेली रहेको थियो । १८ सालमा बाबुले पेन्सन पाएपछि नेपाल फर्किएर बुटवलमा वर्कसप चलाएर बसे । ‘४० सालमा आफ्नै गाउँ आइयो । यहाँ पनि बस्ने दिलै बसेन,’ उनले भने, ‘उतिबेलासम्म विद्युतीय पार्टपुर्जाको सबै काम गरिन्थ्यो । ६ वर्षसम्म कुलेखानी र मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गरेँ ।’
निर्माणाधीन मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गर्दागर्दै मेसिनले लागेर दाहिने हात र देब्रे खुट्टा भाँचिएपछि उनी गाउँ फर्किए । करिब एक वर्षको उपचारपछि केही समय पोखराको मालेपाटनमा खिमलाल अधिकारीको तरकारी फार्ममा काम सिकेका ‘बर्मेली बा’ ले त्यस्तो इलम आफ्ना लागि गर्ने अठोट लिएर २०४९ मा देविस्थानको पुख्र्यौली घर फिरे ।
‘उतिबेला यहाँ बीउको समस्या हुन्थ्यो । सात दिन लगाएर काठमाडौं पुगेर बीउ ल्याएर बिरुवा बेच्थें,’ उनले भने, ‘पछि बिस्तारै राम्रा बीउ पोखरामा पनि आउन थाल्यो । अहिले त कुश्मामै जस्तो भन्यो उस्तै पाइन्छ ।’ उनको करिब पाँच रोपनी बारीमा चारवटा प्लास्टिक टनेल छन् । सबै टनेलमा सिजनअनुसारको गोलभेंडा, काँक्रो, सिमी, बोडीलगायतको तरकारी लटरम्मै हुन्छ । तरकारीभन्दा उनले बिरुवा उत्पादनमा बढी जोड दिन्छन् । अहिले पनि एक रोपनीमा प्याज, गोलभेंडा, काउली, बन्दालगायत बिरुवा झपक्कै छन् ।
‘बिरुवाबाट मात्रै वर्षको तीन लाख कमाइ हुन्छ,’ उनले भने, ‘तरकारी बेचेर दुई लाख जति बच्छ । यो भेगका सबैलाई बिरुवा पुर्याउने मैले नै हो । बाग्लुङको जैदी, कुश्मीसेरासम्मका मान्छे आउँछन् । तरकारी बेच्न पनि कतै जानै पर्दैन ।’ अहिले जिल्लाभर ‘बर्मेली बा’ को तरकारी फार्म ‘ब्रान्ड’ नै बनेको छ । दुई दशकयता तरकारी बिक्री गरेरै सात जनाको विवाह गरे । घरनजिकै करिब आठ रोपनी जग्गा किनेका छन् ।
बुढ्यौलीका लागि आवश्यक रकम बैंकमा जम्मा गरेर उनी ढुक्क छन् । पछिल्लो समय जिल्ला कृषि विकास कार्यालयले पनि सक्रिय किसानका लागि दिन मिल्ने सहयोग सबै दिएको उनले बताए । ‘अहिले एउटा टनेल च्यातिएको छ । त्यो बजारमा किन्न नपाइँदोरहेछ । यो वर्ष त्यही पाउने अपेक्षा छ,’ उनले भने । बुढ्यौली बढ्दै गएर पनि ‘बर्मेली बा’ मा जाँगरको कुनै कमी छैन । चारवटा गाई र दुइटा भैंसी पालेका छन् ।
एउटै उमेरकी श्रीमती मायादेवी र उनी सधैं बिहान ४ बजे उठ्छन् । नजिकै खरबारी भएकाले झिसमिसैमा घाँस काट्न जान्छन् । चार भारी घाँस काटेर ८ बजेअघि नै घर फिर्छन् । प्राय: सबै काम सँगै गर्ने दम्पतीको मायाप्रेमको सम्बन्धमा पनि ‘हनिमुन समय’ भन्दा कमी छैन । श्रीमतीलाई ‘बर्मेली बा’ ले बोलाउने नाम ‘काली’ हो । २० सालमा विवाह भएदेखि दुवैजना सँगै छन् । मायादेवी पनि काममा उत्तिकै जाँगरिली छन् । दुवैले दैनिक दुई लिटरसम्म गाईभैंसीको दूध नियमित पिउँछन् । दैनिक ३० लिटरसम्म दूध भएर पनि कहिल्यै बिक्री गर्दैनन् ।
घरमा आउने जोकोही पनि दूध, दही, चिया वा मोही नपिई फर्किन्नन् । ‘अतिथिलाई खुवाउन पाउनु पनि ठूलो भाग्य हो । नभए के दिथ्यौं र । पैसा त तरकारीबाटै कमाइएको छ,’ मायादेवीले भनिन् । सात सन्तानका बाबुआमा भए पनि सबै आ–आफ्नो बाटो लागेकाले बूढाबूढी एक्लै छन् । ‘अल्छी भन्ने कस्तो हुन्छ अहिलेसम्म थाहा छैन ।
कुनै काम पनि भोलि गरौंला भन्ने लागेकै छैन,’ मायादेवीले भनिन् । सरकारले ज्येष्ठ नागरिकका लागि दिँदै आएको सामाजिक सुरक्षा भत्ता नलिएका ‘बर्मेली बा’ का दम्पती आफूहरूका लागि त्यो आवश्यक नरहेको बताउँछन् । ‘जो गरिखान सक्दैनन्, उनीहरूका लागि दिनुपर्छ । हामीलाई त्यो आवश्यक छैन । लिन पनि लिन्नौं,’ उनीहरूले भने, ‘सक्ने बेलासम्म हामीले नै सरकारलाई केही दिने हो । नसक्ने बेला आएपछि सरकारले नहेरेर कसले हेर्छ ?’ ‘बर्मेली बा’ का दम्पती जिल्लाका मात्रै नभएर मुलुककै अगुवा र नमुना किसान हुन सक्ने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउँछन् । ‘त्यो उमेरमा चौबीसै घण्टा खटेर काम गर्ने बूढाबूढी अहिलेसम्म भेटेको छैन ।’
Previous Articleसंविधान संशोधन प्रस्ताव तीन अध्यक्षले टुंग्याउने
Next Article ‘खोल्सीको सुन’ ले आर्थिक समृद्धिको फड्को