छैटौँ संविधान दिवस–२०७७ को अवसरमा म्याग्दीका समाजसेवी एवं पत्रकार सुरत केसी शनिबार अलङ्कार राष्ट्र यशोवर्दक पदकबाट विभूषितका लागि घोषित भएका छन् । समाजसेवी केसीसहित म्याग्दी जिल्लाबाट ७ जना विभिन्न पदकमा घोषित भएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा जिल्लाभित्र महत्वपूर्ण योगदान पु¥याएका केसीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार राष्ट्र यशोवर्दक पदकले विभूषित गरिने भएको हो । सरकारले लकडाउन घोषणा गरेलगत्तै केसी फन्टलाइनमै खटिएर कोरोना नियन्त्रणको अभियानमा विगत ६ महिनादेखि सक्रिय छन् । उनी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का सदस्य हुन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका उपमन्त्री तथा कोरला यातायात प्रालिको अध्यक्ष समेत रहेका केसीले कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम रहेको भन्दै घरमा ज्यान गुमाएका र बेवारिसे अवस्थामा भेटिएकाको शव व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए । यसैगरी केसीले बेबारिसे शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालसम्म लैजाने आफ्नो निजी सवारीसाधनलाई शव वाहनका रुपमा प्रयोग गरेर दर्जनौंको उद्दार तथा शवको अन्त्येष्टी गर्न घाटसम्म पु¥याउने काम समेत गरेका थिए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका निवर्तमान अध्यक्ष, रुप्से सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्ष र म्याग्दीकाली सञ्चार सहकारी संस्थाको लेखा समिति संयोजक समेत रहेका केसीले हालसम्म ६१ पटक रक्तदान गरिसकेका छन् । जिल्लामा सबैभन्दा धेरै पटकसम्म रक्तदान गर्ने केसी नै हुन् ।
यसैगरी विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्ने पर्वतारोही निर्मल पूर्जा पनि संविधान दिवसको अवसरमा पदकका लागि घोषित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका पूर्जालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा किर्तिमय राष्ट्रदिप पदकबाट विभूषितको घोषणा गरिएको हो । त्यस्तै बेनी नगरपालिका–१०, पात्लेखेत घरभई हाल बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा जनसेवा भूषणबाट विभूषितका लागि छनोट भएका छन् ।
त्यस्तै बेनी नगरपालिका–१, रत्नेचौरका विकास थापा प्रबल जनसेवा श्री चतुर्थ मानपदवी पदक, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कार्यरत शिवलाल शर्मालाई राष्ट्रसेवक पदकका लागि छनोट भएका छन् । धवलागिरी गाउँपालिका–७, ताकमका नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत डा. राजन सुवेदीलाई प्रबल जनसेवा श्री चौथो र प्राकृतिक विपत्तिमा जोखिम मोलेर उद्दारमा खटिएवापत इलाका प्रहरी कार्यालय दरबाङमा कार्यरत हबल्दार खड्क सिंह नेपालीलाई नेपाल प्रताप भूषणबाट विभुषितका लागि छनोट गरिएको छ ।
घोषित पदकका लागि छनोट भएकाहरुलाई आगामी वर्षको गणतन्त्र दिवसमा विभूषित गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Previous Articleरुप्से दैनिक ! ०४ असाेज २०७७
Next Article रुप्से दैनिक ! ०५ असाेज २०७७