हिमालपारीको जिल्ला मुस्ताङको स्थानीय तहका जनप्रतिनिधिहरुले विद्युत नियमितताको माग गर्दै तातोपानी साना जलविद्युत आयोजनाको घरापस्थित कार्यालयमा डेलिगेसन गएका छन् ।
हिमाली जिल्ला म्याग्दी र हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो समय भएको विद्युतको अनियमित ट्रिपले आजित भएका मुस्ताङका जनताको प्रतिनिधित्व गर्दै मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षसहितको टोली डेलिगेसनमा पुगेको हो ।
उक्त टोलीले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको घरापमा रहेको नेपाल विद्युत प्राधिकरण तातोपानी वितरण केन्द्रमा विद्युत नियमितताको मागसहित दवाव दिएका थिए । प्रदेश सभा सदस्य चन्द्रमोहन गौचनको नेतृत्वमा लो–घेकर दामोदरकुण्ड गाउँपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका उपाध्यक्ष तथा अन्नपूर्ण उपभोक्ता सहकारी संस्थाका प्रमुख लगायतको टोलीले डेलिगेसनसहित ध्यानाकर्षण गराएको छ । साथै अन्नपूर्ण–३, दानामा निर्माणाधीन अवस्थामा रहेको विद्युत सव–स्टेसनको समेत निरीक्षण गरिएको जनाइएको छ ।
पछिल्लो समय म्याग्दी तथा मुस्ताङका क्षेत्रहरुमा विद्युत पटकपटक काटिने समस्याले जनताहरु आजित भएकोले समस्या समाधानका लागि म्याग्दीमा पनि म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा पटकपटक नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा ज्ञापनपत्र तथा धर्ना दिने गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालका अनुसार विद्युत समस्या छिटै समाधान हुने आवश्वासन आए पनि समाधानको उपाय के हो भन्नेबारे प्राधिकरणले एकिन गर्न सकेको छैन ।
विद्युत वितरणका लागि ३३ केभीको प्रसारण लाइन मुस्ताङको थापाखोलादेखि पर्वतको मोदी सव–स्टेसनसम्म ९५ किलोमिटर रहेको छ । साविक धौलागिरी अञ्चलका ४ जिल्लाभर प्रसारण भएका १५० किलोमिटरभन्दा लामो दुरी रहेको हुँदा जुनसुकै स्थानमा समस्या हुँदा पनि अहिले चारवटै जिल्लामा विद्युत जाने समस्या रहेको नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीका प्रमुख इन्जिनियर माधव महतले बताउनुभयो । उहाँले पर्वतको मिलनचोकबाट पनि हाल ९० किमीभन्दा लामो दुरीको वितरणले गर्दा समस्या बढेको जानकारी दिनुभयो । ३३ केभी प्रसारण लाइनमा ५० किमीभन्दा लामो दुरी हुन नहुने भए पनि १५० किमीभन्दा लामो दुरी हुँदा समस्या भैरहेको केन्द्र प्रमुख महतको भनाइ छ ।
म्याग्दीको दाना–फलेवास कालीगण्डकी करिडोर प्रसारण लाइनको काम सम्पन्न भएको खण्डमा भने हालको समस्या ४० प्रतिशत घट्ने केन्द्र प्रमुख महतले बताउनुभयो । धौलागिरीका ४ जिल्लाका छुट्टाछुट्टै वितरण केन्द्र बनाउन आवश्यक भएका फरक जिल्लाको फरक वितरण सव–स्टेसन केन्द्र भएमा विद्युत काटिने समस्याको धेरै हदसम्म समाधान हुने उहाँले जानकारी दिनुभएको छ ।
मुस्ताङ जिल्लामा विद्युत वितरणको जिम्मा लिएको अन्नपूर्ण उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार जिल्लाभरमा रहेका दुईहजार नौ सयभन्दा धेरै उपभोक्तालाई विद्युत वितरण गर्नु निकै ठूलो चुनौती भएको छ । २१ जना कर्मचारीले विद्युतको सेवा दिइरहेको मुस्ताङमा २४० किलोवाट क्षमताको विद्युत आफ्नै उत्पादन छ भने अन्य आवश्यक विद्युत नेपाल विद्युत प्राधिकरणसँग खरिद गरेर वितरण गरिएको छ । २०७२ सालदेखि मुस्ताङमा विद्युत वितरण थालेको उपभोक्ता सहकारीले स्थानीयलाई राम्रो सेवा उपलब्ध गराइरहेको भए पनि अहिले केन्द्रीय प्रसारण लाइनमा पटकपटक आउने अवरोधले गर्दा समस्या झेल्नुपरेको गण्डकी प्रदेश सभा सदस्य चन्द्रमोहन गौचनले बताउनुभयो । आफ्नै सहभागितामा सञ्चालित उपभोक्ता सहकारीबाट सेवा राम्रो पाउँदा पनि प्राविधिक कारणले गर्दा उपभोक्ताले हाल विद्युतको समस्या झेल्नुपरेको उहाँले बताउनुभएको छ ।
यता कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने पहिला केही अवरोध भए पनि अहिलेको अवस्थामा कोभिड–१९ का कारण प्रसारण लाइनको काममा ढिलाई भएको बताउनुभयो । उहाँले आगामी नोभेम्बर महिनासम्म सक्ने गरी काम भैरहेको जानकारी दिनुभयो ।
विद्युत नियमितताको माग गर्दै मुस्ताङका जनप्रतिनिधिको डेलिगेसन
Previous ArticleLaxmi Sister: Bold And Dutiful Mortuary Aide At Beni Hospital
Next Article रुप्से दैनिक ! ०४ असाेज २०७७