म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित बास्कुनाका व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषकले आफूले उत्पादन गरेको दुध आफैले बिक्री गर्न सदरमुकाम बेनीमा आफ्नै डेरी पसल सञ्चालन गरेका छन् । किसानको मेहनतले उत्पादन भएको दुध बिचौलियामार्फत नभई सोझै उपभोक्तासमक्ष पु¥याउने उद्देश्यले डेरी स्थापना गरिएको हो ।
बास्कुना कृषि पशुपंक्षी तथा दुग्ध सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित दुग्धजन्य पदार्थ खरिद तथा बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बेनपा–७, बैंकरोडमा सञ्चालित उक्त पसलको नाम भने बास्कुना जनहित डेरी राखिएको छ । बास्कुना कृषि सहकारीद्वारा सञ्चालित डेरीको बिहीबार गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गरेका छन् ।
डेरीको उद्घाटन गर्दै सांसद केसीले उत्पादन गर्ने किसानको अवस्था समान्य हुँदा बिचौलियाले उपभोक्तालाई बेचेर मनग्य कमाउने गरेको अवस्थामा उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी पसल सञ्चालन गर्नुपर्नेमा जोड दिए । बेनपा–४, सिङ्गाका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतामा पहुँचभन्दा पनि आवश्यकताका आधारमा वितरण गर्नुपर्ने बताए ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोईरालाले मन्तव्य राखेका थिए । बास्कुनाका ६० जना किसानको सहभागितामा स्थापना भएको सहकारीले सदरमुकाम बेनीका डेरीलगायत घरदैलोमा पुगेर बिक्री गर्ने दुधलाई आफ्नो डेरीमार्फत बिक्री गर्ने गरी पहिलो चरणमा तीनलाख रुपैयाँ लगानीसहित डेरी सञ्चालन गरेको सहकारीका अध्यक्ष तिलक गुरूङले जानकारी दिएका छन् ।
Previous Articleरुप्से दैनिक ! ०२ असाेज २०७७
Next Article रुप्से दैनिक ! ०३ असाेज २०७७