म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने म्याग्देलीहरुको पहलमा झण्डै साढे ३४ लाख रुपैयाँ सहयोग भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण विश्व नै आक्रान्त बनिरहेका बेला जन्मभूमिमा प्राकृतिक विपत्तिमा परेर जनधनको क्षति बेहोरेकालाई सहयोग गरिएको हो ।
बाढीपहिरोका कारण ठूलो संख्यामा विस्थापित भएपछि राहत जुटाएको म्याग्दी समाज न्युयोर्क अमेरिकाले जिल्लाभरका बाढीपहिरो पीडितलाई एक सातामा ३४ लाख ४५ हजार सहयोग गरेको जनाएको छ । गएको असार महिनाको २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र विस्थापित भएकालाई स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
जिल्लाभर स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणको आधारमा म्याग्दी समाज न्युयोर्कले धवलागिरीमा मृतक, घाइते र चारजना सुत्केरीलाई दुईलाख ८० हजार, पूर्ण क्षति भएका ४४ घर परिवारलाई ११ लाख सहयोग गरिएको छ । यसैगरी मालिका गाउँपालिकामा मृतक र घाइतेलाई ७० हजार, पूर्ण क्षति ५३ घरधुरीलाई १३ लाख २५ हजार सहयोग गरिएको छ । मालिका–७, बिममा एकै परिवारका सबै सदस्यको मृत्यु भएकाले विस्थापितलाई सहयोग दिइएको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले बताए ।
त्यस्तै मंगला गाउँपालिकामा १५ घरधुरीलाई तीनलाख ७५ हजार, रघुगंगा गाउँपालिकामा मृतक ३ जनालाई ३० हजारसहित अन्नपूर्ण गाउँपालिकामा मृतक २ र १ जना घाइतेलाई ३० हजार तथा पूर्ण क्षति १९ जनालाई दुईलाख ३५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । समाजमार्फत पूर्णरुपमा विस्थापितलाई प्रति घरधुरी २५ हजार, प्रति मृतक १० हजार, १३ जना घाइतेलाई प्रतिव्यक्ति १० हजार र ४ जना सुत्केरीलाई १० हजारको दरले सहयोग गरिएको थियो । सहयोग हस्तान्तरणको मापदण्डमा एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई १५ हजार, ३ जनालाई २० हजार र ४ जनालाई २५ हजारका दरले सहयोग गरिएको छ ।
सहयोग हस्तान्तरणमा पालिका र वडाका जनप्रतिनिधिसहित स्थानीय अगुवा लगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले एउटा संस्थामार्फत जिल्लाभरका बाढीपहिरो विस्थापितलाई गरेको सहयोगबाट उत्साहित भएको बताएका थिए । व्यक्तिगत रुपमा प्राप्त सहयोगले पीडितलाई राहत मिलेको बताउँदै पूनर्वास अभियानमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।
सहयोग रकम प्राप्त गरेका बाढीपहिरो पीडितहरुले सहयोगदाताहरुलाई धन्यवाद दिँदै उक्त रकमले तत्कालको समस्या समाधानका लागि ठूलो राहत मिलेको बताउँदै सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी समाज न्युयोर्कका उपाध्यक्ष रमेश तुलाचनको संयोजक र मनप्रसाद पुन उपसंयोजक रहेको समितिमार्फत आर्थिक सहयोग सङ्कलन गरिएको संस्थाका सचिव याम पुनले जानकारी दिए । संस्थागत गतिविधिमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष भविन्द्र शेरपुञ्जाले धन्यवाद ज्ञापनसहित भविष्यमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने बताए ।