पश्चिम म्याग्दीको मंगला गाउपालिकामा कांग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
मंगला गाउपालिका सङ्गठन कमिटी नेकपाको बाबियाचौरमा भएको सचिवालय वैठकको अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापा, प्रदेश कमिटीको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले प्रवेश गरेकाहरुलाई पार्टी सदस्यता वितरण गरेका थिए ।
प्रवेश गर्नेहरुमा मंगला गाउँपालिका–२, सल्यानका गजानन्द सुवेदी, देवबहादुर कार्की, पूर्णबहादुर जिसी, विजय सुवेदी, राप्रपाका टेकबहादुर खत्रीलगायत २८ जना प्रवेश गरेको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य थापाले नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा धेरै राम्रा कामहरु गरेको बताए । उनले नेपाल सरकारले जनताको निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाएको बताउँदै विश्वका विकसित तथा धनी देशहरुले जनस्वास्थ्यका सवालमा गर्न नसकेका काम नेपाल सरकारले गरेर जनताप्रतिको उत्तरदायित्वको बोध गराएको बताएका छन् ।
प्रदेश कमिटीको कार्यालय सदस्य तथा संविधान सभा सदस्य नवराज शर्माले वैचारिक बहसले पार्टीको अन्तरविरोध समाधानमा सहयोग पुगेको बताउँदै नेकपा विभाजन नभएर अझै शक्तिशाली र बलियो हुँदै गएको बताए । नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले कोरोनाको महामारी रोकथाम, बाढी र पहिरोजन्य विपद्का कारण सिर्जित विपद् व्यवस्थापनसँगै जनताको घरदैलोमा पुग्ने गरी कार्यक्रम बनाएको बताए । चैतमा स्थगित भएको अभियानलाई स्थानीयस्तरमा विपद् व्यवस्थापन र कोरोना रोकथामको अभियानसँग जोडेर अघि बढाउन उनले आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदी र देवराज सुवेदीले पार्टीको साङ्गठनिक एकीकरणलाई पूर्णता दिँदै जनसम्बन्ध सुदृढ बनाउन र सरकारले जनताका पक्षमा गरेका कामको प्रचारप्रसारमा जुट्न निर्देशन दिए ।
कोरोनाको जोखिमका बिच स्वास्थ्य सतर्कता, स्यानीटाईजर र मास्कको प्रयोग तथा भौतिक दुरी कायम गरेर कार्यक्रम गरेको नेकपा मंगला गाउँपालिका सङ्गठन कमिटीले जनाएको छ । कांग्रेसबाट नेकपामा प्रवेश गरेका गजानन्द सुवेदीले २० वर्ष कांग्रेसमा बसेर काम गर्दा गाउँमा एउटा पनि विकासको आयोजना भिœयाउन नसकेको तर नेकपाको सरकारले दुई वर्षमै आफ्नो गाउँका सबैको घरघरमा खानेपानीको व्यवस्था मिलाएको हुँदा नेकपा प्रवेश गरेको स्पष्ट पारे ।
नेकपा मंगलाका संयोजक प्रेमप्रसाद रेग्मीको अध्यक्षता र सचिव याम रोकाका सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पूर्वाधार विकासका क्षेत्रमा मंगला गाउँपालिकाले उल्लेख्य मात्रामा काम गरेको बताएका थिए ।
Previous Articleघरेलु नेतृत्वप्रति आग्रहपूर्ण अविश्वास
Next Article रुप्से दैनिक ! १५ भाद्र २०७७