अमृतप्रसाद पौडेल
बेनी, भदौ ८ गते । गत साउन ५ गतेको अविरल वर्षा पछि पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको हिमालपारीको जिल्ला मुस्ताङ सँग आज दिउँसोबाट सडक सञ्जाल पुनः जेडिएको छ । शर्मा गजुरमुखी जेभीले म्याग्दी र मुस्ताङको सीमानाको काभ्रे भिरको सडक मर्मत गरे सँगै मुस्ताङ सँग सोझो सम्पर्क जोडिएको हो ।
बेनी जोमसोम कोरला सडक अन्तरगतको म्याग्दीको भूरुङ तातोपानीदेखि मुस्ताङको कोबाङ सम्म ३० भन्दा बढी स्थानमा पहिरोले क्षति पुगेको थियो भने १० स्थानमा बेस सहितै सडक बगेको थियो । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ तातोपानी देखि थासाङ गाउँपालिका–४ कैकु प्याकेज नम्बर २ र थासाङ गाउँपालिकाको–४ कैकु देखि थासाङ गाउँपालिका–२ कोबाङ सम्म प्याकेज नम्बर ३ सम्मको सडकको जिम्मा लिएको शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेका अनुसार दिउँसो १२ बजे बाट सवारी सञ्चालनमा आएको हो ।
न्यौपानेले भन्नुभयो –‘हामीले आफ्नो तर्फबाट निकै मिहिनेत गरेका थियौं त्यस माथि मुस्ताङको घाँसा तथा लेतेका सर्वसाधारण, मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचन, प्रतिनिधिसभा सांसद प्रेम तुलाचनको खटाइ अनि सहयोगले पनि थप सहज भयो ।’
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतको प्याकेज २ र ३ क्षेत्र भित्र मात्रै म्याग्दी तर्फ अन्नपूर्ण गाउँपालिका–३ दानाको लाटिखोला, रुप्से तथा काभ्रे भिरमा गरी बेससहित नै १० स्थानमा सडक बगेको थियो । अन्य स्थानमा पहाड कटिङ गर्दै सडक निकालिएको भए पनि काभ्रो भिरमा विष्फोटक पदार्थको प्रयोग गरेर सडकको ट्रयाक खुलाइएको मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो ।
गौचनले भन्नु भयो –‘मुस्ताङको मुख्य उत्पादन स्याउको समय आएको तर सडक नभएकोले जनता निराश थिए, त्यसैले जनताको खुशीका लागि म पछिल्लो १० दिन देखि काभ्रे भिरमा सडक खुलाउनका लागि खटेको थिएँ ।’ उहाँले भन्नुभयो –‘काभ्रेमा मात्रै काभ्रेमा ५० मिटर सडक ब्लाष्ट गरेरै तयार गरीयो ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार मुस्ताङ प्रवेश गर्ने अहिलेको एक मात्र रहेको बेनी–जोमसोम सडक अबरुद्ध हुँदा जनतालाई सास्ती भएकोले सबैको चासो र खटाइले छिट्टै सडक सञ्चालनमा आएको हो । प्रजिअ पौडेलले भन्नुभयो –‘काभ्रे भिरमा ५० मिटर सडक बिष्फोटक पदार्थको प्रयोग गरेर पुरै नयाँ तयार भएपछि आजबाट सडक खुलेको हो ।’
मुस्ताङमा उत्पादन हुने स्याउ, आलु, रायो, गाजरलगायतका फलफुल एवम् ताजा तरकारी उत्पादन हुने मुस्ताङमा गत साउन ५ गते देखि पूर्ण रुपमा आवतजावत बन्द हुँदै मुस्ताङीहरु नाकाबन्दीको अवस्थामा थिए । सडक खुले पछि शुरुको समयमा खाद्यान्न सहितका गाडीहरु मुस्ताङ प्रवेश गरेको सांसद गौचनले बताउनुभयो ।
अन्नपुर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसाय इन्द्रसिं शेरचनका अनुसार सवारी मात्रै नभएर पैदल समेत हिड्न नमिल्ने गरी बिग्रेको सडक मर्मत पछि आन्तरीक पर्यटकहरुका लागि सहज भएको छ । शेरचन भन्नुहुन्छ –‘बाह्य पर्यटकको आगमन कोरोनाले रोकिएको भएपनि आन्तरीकलाई समेत निकै सास्ती भएको समयमा सडक खुल्दा धेरै सहज भएको छ ।’ गोरखापत्रअनलाइनबाट