राकेश कार्की
खुसी कमाए कि जिन्दगी कमाए
रमाउँछु भन्दाभन्दै के–के गुमाए
के त्यस्तो पाउनुथ्यो र के पाए
यिनीहरु किन अमेरिका आए
हिमाल, पहाड, मधेसका भूमि
यहाँ अब एउटा कोठा भयो
कहिलेकाहीँ छिमेकीको मात्र ‘हाई’
साथी सङ्गी नातागोता टाढा भए
दसैँ, तिहार, छठ सबै चाडबाड
छुट्टीको दिन मिलाउनु पर्ने
न यहाँ पहिचान न प्रतिष्ठा
त्यै पनि दङ्ग परेझैँ गर्नुपर्ने
भाषा कमाए कि बोली नै गुमाए
कमाउँछु भनी के–के धन्दा समाए
मनभित्र के–के बाहिर यसै रमाए
यिनीहरु किन अमेरिका आए |
लस एन्जेलस