कोरोनाले पर्यटन व्यवसायलाई निकै ठूलो असार पारेको छ । विश्वभरमा कम लगानी गरेर धेरै आम्दानी गर्ने र विश्व समुदायले धेरै लगानी गरेको व्यवसाय भनेकै पर्यटन व्यवसाय हो । मानिसले आफू खुशी हुनका लागि धेरै लगानी गर्ने नै पर्यटन क्षेत्रमै हो । आन्तरिक तथा बाह्य पर्यटकहरुले गर्ने खर्च र त्यसको प्रत्यक्ष फाइदा लिने भनेकै निम्न आयस्तर भएको समुदाय नै हो । जुनसुकै स्थानमा प्रकृतिले दिएको चीजलाई देखाएर मानिसहरुलाई आकर्षित गर्ने क्षेत्रलाई अहिले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा धेरै प्रभाव पारेको छ । पर्यटन क्षेत्रमा भएको लगानी अहिले पूर्ण रुपमा निस्क्रिय जस्तै भएको छ । अहिले पर्यटन क्षेत्रमा भएको लगानीबाट फाइदा लिने परको कुरा त्यसलाई जोगाउन समेत समस्या भएको छ । लाखौंको संख्यामा भित्रने पर्यटकहरु अहिले शुन्यमा झरेको छ भने पर्यटकहरु आउँदा पनि राख्नका लागि पनि डराउनुपर्ने अवस्था पनि छ ।
म्याग्दीमा गएको आर्थिक वर्ष २०७६÷७७ को ८ महिनाको अवधिमा जम्मा ५० हजार पर्यटकहरुले मात्रै भ्रमण गरेका छन् । जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकहरुको आगमन बढ्दै गैरहेको अवस्थामा विश्वभर फैलिएको कोराना भाइरसका कारण गतवर्ष जम्मा ५० हजार ५८ जनाले मात्रै म्याग्दीको भ्रमण गरेका हुन् । गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७५÷७६ मा कुल ७५ हजार १ सय ९० जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेकोमा गतवर्ष जम्मा ५० हजार ५८ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कले देखाएको छ । साउनदेखि फागुन महिनासम्म ५० हजारभन्दा केही बढी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका छन् । जिल्लामा पर्यटक आगमन बढ्दै गैरहेको अवस्थामा २०१९ मा डिसेम्बरको अन्तिमतिर चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर महामारीको रुप लिएपछि यसकै कारण पर्यटकको चहलपहल शुन्यमा झरेको छ । हिमाली जिल्ला म्याग्दी र हिमालपारीको जिल्ला मुस्ताङका साथै अन्नपूर्ण फेरोमा पर्यटकहरुको भीड निकै हुने गरेकोमा यसवर्ष भने त्यस्तो हुन सकेन ।
म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । पर्वतको मालढुड्डा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र हिमाली जिल्ला मुस्ताङ भएर म्याग्दीको भ्रमण गर्नका लागि वर्षेनी पर्यटकहरु आउँछन् । कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर जिल्लाको भ्रमणमा आउँछन् । म्याग्दी तथा मुस्ताङ जिल्लामा पर्यटन व्यवसायमा ठूलो मात्रामा लगानी भएको छ । मुस्ताङ पशुपालन तथा कृषि र मुख्य भनेको पर्यटन व्यवसाय नै हो । तर पनि अहिले पर्यटन व्यवसायीहरु धरासायी भएका छन् । पर्यटन व्यवसायमा गरेको लगानी अहिले जोखिम मात्रै नभएर नोक्सानीतर्फ छ । त्यसैले पर्यटन व्यवसाय उकासिनका लागि निकै समय लाग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो क्षेत्रलाई जोगाउन सबैले पहल गर्नुपर्ने आजको आवश्यकता हो । पर्यटन क्षेत्र उकासिएको खण्डमा धेरैको रोजीरोटीका साथै व्यवसायिक सफलताले पनि सबैलाई सजिलो बनाउने देखिन्छ ।