विश्वका कुनै पनि मुलुकको विकास युवा शक्तिको प्रयोगले मात्र सम्भव भएको छ । युवाहरुका लागि कसैले केही गर्न पर्छ भन्दा पनि युवाहरुले नै आफू र आफ्नोपनलाई व्यवस्थित गर्दै लैजाने शक्ति बोकेको हुन्छ । देश विकास होस् या कुनै पनि आन्दोलन वा सकारात्मक पविर्तनको जिम्मा युवाकै काँधमा हुन्छ । किन यस्तो हो त भन्ने प्रश्न पनि नआउला भन्न सकिदैन तर यस्तो अवस्थामा युवाहरुले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा नै सब ठिक हुने त हुन् । जनसंख्याको हिसाबले हेर्ने हो भने विश्वमा सबैभन्दा धेरै जनसंख्या युवाहरुकै छ । हामीले विभिन्न दिनहरुलाई विशेष दिनका रुपमा मनाउँदै आएका छौं । यसै सिलसिलामा आजको दिन पनि विशेष दिन हो र त्यो युवाको दिन हो । अर्थात् आज अन्तर्राष्ट्रि युवा दिवस ।
युवाहरुलाई सधैं आन्दोलनका लागि मात्र प्रयोग गर्नेभन्दा पनि सकारात्मक परिवर्तन अनि देश विकासका लागि पनि युवाहरुलाई प्रयोग गर्न चुकेका विश्वका धेरै मुलुकहरु अहिले पनि विकासको गतिमा निकै पछाडि रहेका छन् । यसले के देखाउँछ भने यदि युवाको विकास गर्ने हो भने हामी पहिला युवालाई सकारात्मक परिवर्तनको लागि अवसर दिनैपर्छ । आज अगष्ट १२ तारिख अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि विश्वकै विकासमा युवाहरुको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवद्र्धनात्मक उपाय तथा हुन सक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।
विश्वभर धेरै दिवसहरु मनाइन्छ तर पनि दिवसका सार्थकता के कति भए भन्ने विषयमा खासै चर्चा भए जस्तो भने देखिदैन । तर पनि दिवसहरु मनाउन भने छाडिदैन । युवा दिवस मनाउनुको अर्थ र महत्व के हो त्यो त समयले देखाउँदै जाला । आज हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा हामी सबै भएर किन यो प्रण नगर्ने हाम्रो गाउँ र समाजमा आगामी दिनमा धेरै भन्दा धेरै युवालाई देख्न पाउँ । युवाहरुलाई गाउँघरमा देख्नका लागि सोचेर र कामना गरेर मात्र कहाँ हुन्छ र ? विदेशी भूमिमा रगत पसिना बगाउने ति युवाहरुलाई कहिले कुन दिनदेखि यहि भूमिमा पसिना बगाउन प्रेरित गर्ने तर त्यसका लागि युवाहरुलाई अवसर सिर्जना त गर्नुपर्छ नि होइन र । त्यसपछि मात्र हामीले चाहेको विकास र युवाहरुलाई यही स्थानमा रोक्न सक्नुपर्छ । नेपाल मात्र होइन विश्वका जुनसुकै मुलुकले पनि आफ्नो देशका युवाहरुलाई देशमै रोक्ने र देश विकासको काममा लगाउन उनीहरुलाई अवसर दिने र युवा मात्र नभई काम गर्न तथा मेहनत गर्न सक्नेहरुका लागि अवसरको सिर्जना गर्नुपर्छ । अन्तर्राष्ट्रिय युवा दिवसको सबैमा हार्दिक शुभकामना !
Previous Articleराहुघाटको भत्कीएको पुल मर्मतपछि गाडी चल्यो (फोटो फिचर सहित)
Next Article रुप्से दैनिक ! २९ श्रावण २०७७