गत असार २६ गते बिहान बाढीले गर्दा क्षतीग्रस्त बनेको बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थित राहुघाट खोलाको पुल तयार भए सँगै मंगलबारबाट सवारी सञ्चालन हुन थालेको छ । बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ जोड्ने उक्त पुल भत्कीएको एक महिनामा तयार भएको हो ।
राहुघाटमा आएको बाढीका कारण एकातर्फको बिम भत्कीएपछि अबरुद्ध भएको पुल निर्माण सकिएकोले मंगलबार देखि सवारी सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । प्रजिअ ढकालले भन्नु भयो –‘मुख्य कुरा जनताकाको कनेक्टीभिटि हो त्यसका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरेको कारणले नै छिटै तयार गर्न सकियो ।’ राहुघाटको पुल तयार भए सँगै बेनी–तीतर ३४ किमि सडकमा सोझो सवारी सञ्चालन हुन्छ ।
बेनी–जोमसोम सडक आयोजनाका योजना प्रमुख अशोक तिवारीका अनुसार हाल पुल मर्मतका लागि ६५ लाख खर्च लाग्ने भएको छ । तिवारीले भन्नुहुन्छ –‘५० लाख हाराहारीको खर्च निस्केको छ पुरै एकिन तथ्याङ्क निस्की सकेको छैन किनकी काम केही बाँकी छ, करिब ६५ लाख खर्च हुन्छ होला ।’ उहाँले थप्नुभयो –‘पुल उठाएको मात्रै भ्याट सहित १० लाख भन्दा बढी तिर्नु प¥यो, ग्याभीन, ढुङ्गा तथा ढुवानी लगायतका खर्च त्यती पुगेको छ ।’ स्थानिय, सुरक्षाकर्मी लगायतको जनश्रमलाई कटाउँदा पनि त्यत्ती खर्च भएको हो नत्र भने मजदुर खर्च अझै धेरै निस्कन्थ्यो आयोजना प्रमुख तिवारीले भन्नुभयो ।
हाललाई हलुका सवारी मात्र सञ्चालन हुने आयोजनाले जनाएको छ । बेनी जोमसोम सडक आयोजनाका अनुसार १५–२० दिन पछि कुल १७ टन क्षमता थेग्न सक्छ भने हाललाई खाली ट्रक, साना बस, ट्याक्सी, ट्याक्टर लगायतका सवारी मात्र सञ्चालन हुनेछन् । ठूला सवारी साधन त्यो पुलले पहिला पनि थेग्ने होइन र अब भने त्यहाँ हाल्नै हुँदैन आयोजना प्रमुख तियवारीको भनाई छ ।
यसैबीच बेनी–जोमसोम सडक खण्डको म्याग्दी सदरमुकाम बेनी देखि अन्नपुर्ण गाउँपालिकाको तितर सम्मको सडक मुस्ताङका प्रदेश सभा सांसद चन्द्रमोहन गौचन र बेनी जोमसोम सडक आयोजनाका योजना प्रमुख असोक तिवारीले निरीक्षण गर्नुभएको छ । गलेश्वरको पुल मर्मत पछि बेनी बाट अब सिधै तितर सम्म पुग्न गाडीमै पुग्न सकिने भएको छ । ‘सडक खण्डमा भएका अवरोधहरु सबै हटि सकेकोले आजबाट तितर सम्म पुग्न सकिन्छ, अबको करिब १५ दिन सम्ममा बेनीबाट सोझै जोमसोम पुग्नेगरी ट्रयाक खुलाउने योजना सहित लागिएको छ ।’ – शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले भन्नुभयो । न्यौपानेका अनुसार बेनी–जोमसोम–कोरला सडक अन्तरतको उत्तरी म्याग्दीको भुरुङतातोपानी भन्दा माथि मुस्ताङको लार्जुङ सम्मको सडक हेर्ने उक्त कम्पनिले १५ दिनमा कुनै हालतमा ट्रयाक खुलाउने गरी तयारी गरेको छ ।
मुस्ताङका सांसद चन्द्रमोहन गौचन भन्नुहुन्छ –‘अब जति सक्यो चाँडो ट्रयाक खुलाइएन भने मुस्ताङको स्याउ बजार पु¥याउन सकिदैन ।’ उहाँ थप्नु हुन्छ –‘हिन्दुहरुको चाड तीजमा स्याउ बजार लैजान पर्ने भएकोले त्यस भन्दा पहिला कुनै हालतमा सडक सञ्चालनका लागि हामीले पनि पहल गरेका छौं र ठेकेदार कम्पनिहरुले प्रयास गरेका छन् ।’