रुप्से दैनिक/मुस्ताङ
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको घरपझोङ गाउँपालिकाको १०४ घरधुरीका लक्षीत वर्ग विपन्न तथा दलित परिवारलाई सोलार वितरण भएको छ । विपन्न परिवारहरुको पीडालाई मल्हम लगाउने प्रयत्नस्वरुप गाउँपालिकामार्फत चालु आर्थिक वर्षमा सोलार प्यानल वितरण गरिएको हो ।
नेपाल सरकार वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र मध्य बानेश्वर काठमाडौंको आर्थिक सहयोगमा उपलब्ध १०४ सेट सोलार प्यानल मङ्गलबार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेका विपन्न तथा गरिब एवं दलित परिवारलाई सोलार प्यानल वितरण गरिएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले टेलिफोनमार्फत जानकारी दिएकी छिन् ।
गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडाबाट सर्वेक्षण गरेर २०९ घरधुरी परिवारलाई छनौट गरी केन्द्रमा सिफारिससहित पठाइएकोमा १०४ परिवारका लागि स्वीकृत भएर आएकोले सोही परिणाम अनुसार सोलार वितरण गरिएको उपाध्यक्ष गुरुङले बताइन् । उनले यसपटक सिफारिस पठाएकोमध्ये आधा घरधुरीलाई मात्रै सोलार प्यानल आएको बताउँदै बाँकी घरधुरीलाई अर्को पटकमा सोलार प्यानल सहयोग गरिने बताएकी छिन् । गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका विपन्न परिवारलाई राहतस्वरुप सोलारको प्यानल उपलब्ध गराएको जनाएको छ ।
क्वालिटी रिलुयबल इनर्जी प्रालि बालाजु काठमाडौंका प्रवन्ध निर्देशक हरिनारायण गौतमका अनुसार नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा सोलार सिस्टम वितरण गरिएको हो । दलित जनजाति तथा निम्न आयस्तर भएका परिवारलाई लक्षित गरी सोलार वितरण गरिएको प्रवन्ध निर्देशक गौतमले बताए । सोलार सामग्रीहरुको सम्पूर्ण व्यवस्थापनको कार्य क्वालिटी रिलुयवल इनर्जी प्रालिले गरेको प्रवन्ध निर्देशक गौतमको भनाइ छ ।
घरपझोङ गाउँपालिका सञ्चार तथा सूचना प्रविधि शाखाका सूचना प्रविधि अधिकृत सुजिता थकालीले दिएको जानकारी अनुसार प्रतिसेट ११ हजार पाँचसय रुपैयाँ पर्ने उक्त सोलार सिस्टम २० वाट क्षमताको हो । बिजुली बत्तीको पँहुच पुग्न नसक्ने परिवारका लागि तथा विद्युत खपत कम गर्न सोलार सिस्टम उत्कृष्ट सावित हुने अधिकृत थकाली बताउँछिन् । घरपझोङ गाउँपालिकामा वितरण गरिएको उक्त सोलार सेटहरु ढुवानीबाहेक ११ लाख ९६ हजार रुपैयाँ पर्ने समेत थकालीको भनाइ छ ।
सोलार प्यानल पाएपछि अबदेखि उज्यालोमा बस्न पाइने भन्दै स्थानीयवासीहरु खुशी देखिएका छन् । आर्थिक रुपमा गरिब तथा विपन्न घरधुरीमा गाउँपालिकाको पहलमा नेपाल सरकार वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्र मध्य बानेश्वर काठमाडौंको आर्थिक सहयोगमा सोलार प्यानल प्राप्त भएपछि उनीहरु उत्साहित भएका हुन् । सरकारले देशका सबै नागरिकहरुलाई कुनै न कुनै माध्यमबाट उज्यालोमा राख्ने यसअघि नै बताएको थियो ।
हिमाली जिल्ला मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युतका साथै कागबेनीमा हावाबाट चल्ने बिजुली बत्ती पनि सञ्चालनमा छ । देशका कतिपय स्थानमा पनि हावाबाट बिजुली बत्ती उत्पादन गर्ने तथा फ्याँकिएका टायर, क्वाइल, जस्तापाता लगायतबाट समेत विद्युत उत्पादन हुन्छ ।
Previous Articleसंकट टार्न ओली–प्रचण्डबीच भयो यस्तो सहमति
Next Article रुप्से दैनिक ! २० असार २०७७