नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।
त्यस्तै कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिकाे बारेमा यकिन गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।
सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको झुण्डमा रहेकाे छ ।
बाराकाे कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।
सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानकाे उपाय खाेज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले उज्यालोलाई जानकारी दिनुभयो । उज्यालोअनलाइनबाट