विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशबाट फर्किएकालाई लक्षित गरी म्याग्दीको बेनीमा सञ्चालित योग शिविर सकिएको छ । सदरमुकाम बेनीस्थित क्वारेन्टाइनमा बसेका प्रवासी म्याग्देलीहरुका लागि सञ्चालन गरिएको योग प्रशिक्षण शिविर सम्पन्न भएको हो ।
गएको जेठ २१ गतेदेखि १६ दिनसम्म चलेको निःशुल्क योग शिविरमा करिब १ सय जनाले सहभागिता जनाएका थिए । बेनी नगरपालिकाको आयोजना र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको समन्वयमा निःशुल्क तथा बृहत योग शिविर–२०७७ सञ्चालन गरिएको थियो । बेनीको न्यु वेष्ट प्वाइन्ट कलेज र म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेकालाई योग प्रशिक्षण दिइएको जनाइएको छ ।
‘संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुछ’ भन्ने मूल नारासहित कोरोना भाइरस (कोभिड–१९)का विरुद्ध सञ्चालित क्वारेन्टाइनमा बसेकालाई लक्षित गरेर योग प्रशिक्षण चलाइएको थियो । वेष्ट प्वाइन्टमा हरेक दिन बिहान र म्याग्दी क्याम्पसमा बेलुकाको समयमा दैनिक डेढ घण्टाका दरले योग प्रशिक्षण चलाइएको हो । लामो समयसम्म क्वारेन्टाइनमा बस्दा हुने बोरिङ तथा तनावलाई हटाउन र मनोबल उच्च गराउँदै मानव जीवनका लागि योगको आवश्यकता एवं महत्व बुझाउने उद्देश्यले योग शिविर आयोजना गरिएको थियो ।
अहिलेको समयमा मानवीय सङ्कट तथा महामारीको अवस्थामा विशेष गरी आहारविहारलाई जोड दिनुका साथै शरिरमा जैविक शक्तिको वृद्धि गर्नका लागि विभिन्न प्याकेजहरु बनाएर योग शिविर चलाइएको बताइएको छ । क्वारेन्टाइनमा रहेकाहरुलाई योगका विभिन्न विषयहरुमा सिकाइएको प्रशिक्षकहरुले जनाएका छन् । उक्त शिविमा कोरोना भाइरससँग जुध्न नियमित रुपमा योग साधनालाई समेत प्राथमिकता दिन आग्रह गरिएको थियो । कोरोनाका कारण अवस्था जटिल बन्दै गैरहेको अवस्थामा मानव जीवनलाई फूर्तिलो र तन्दुरुस्त बनाउन योग प्रशिक्षण दिइएको नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीका अध्यक्ष नवीन जुग्जालीले बताए ।
भौतिक दुरी कायम गरी सञ्चालन गरिएको योग प्रशिक्षणबाट क्वारेन्टाइनमा बसेकाहरु निकै उत्साहित भएका छन्भने योगले सकारात्मक ऊर्जा मिलेको उनीहरुले प्रतिक्रिया दिएका छन् । योग शिविरमा केन्द्रका अध्यक्ष नवीन जुग्जाली, उपाध्यक्ष सुरेन्द्रराज शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ओमकुमारी थापा, सदस्य पवित्रा बोगटी, बिमला गौचन, दिपेन्द्रकुमार विश्वकर्मा, कुलराज पौडेल लगायतले प्रशिक्षण दिएका थिए । योग केन्द्रले म्याग्दी जिल्लामा योग लक्षित विभिन्न शिविर तथा कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको छ ।
चालु आर्थिक वर्षमा योग शिविर सञ्चालन गर्न भन्दै बेनी नगरपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । योग साधनाले पनि अहिले माहामारीका रुपमा फैलिरहेको कोरोनाबाट केही शान्ति मिल्ने हुँदा आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई जोड दिइने बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको भनाइ छ । म्याग्दी जिल्लामा पछिल्लो समय योगा गर्नेहरु बढ्दै गैरहेका छन् ।