डडेल्धुरा, २१ जेठ– डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
भारतबाट आएर जिल्लाको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक महिला आफ्ना श्रीमानसँगै चार दिनअघि भारतबाट आएकी थिइन् ।
मंगलबार राति राति शौचालय गएकी उनी एक्कासि ढलेको र तत्काल मृत्यु भएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । उनको स्वाब संकलन गरी पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।