संसदको कानून न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीभित्र छुट्टै दलित सेल खडा गर्न सरकारलाई निर्देशन दिएको छ ।
रुकुम पश्चिमको चौरजहारी घटनाबारे छलफल गर्न मंगलबार बसेको समिति बैठकले जातीय विभेदका घटनामा अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरीभित्र दलित सेल स्थापना गर्न निर्देशन दिएको हो । यसअघि प्रहरीमा छुट्टै महिला सेल छ । त्यसले महिला हिंसाका घटनामा मात्र अनुसन्धान गर्दै आएको छ ।
समिति सभापति कृष्णभक्त पोखरेलले प्रहरीमा दलित सेल जरुरी भएकाले त्यस्तो निर्देशन दिइएको बताए । ‘छुट्टै महिला सेल सम्भव छ भने दलिल सेल पनि सम्भव छ’, पोखरेलले भने, ‘संविधानले जातीय भेदभावलाई दण्डनीय भने पनि समाजमा घटना घटिरहेकाले प्रहरीमा दलित सेल जरुरी देखियो ।
’ उनले दलित समुदायका व्यक्तिहरुमाथि जातीय आधारमा एकपछि अर्को विभेदका ऋंखला थपिएकाले त्यसविरुद्ध देशभर महाअभियान चलाउन सरकारलाई निर्देशन दिए । छलफलमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली सहभागी थिए ।