नेपालमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्ये एकजना भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला स्थानीय तहकी जनप्रतिनिधि भएको खुलेको छ । उनी भक्तपुर नगरपालिका-९ की जननिर्वाचित महिला सदस्य भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।
यसअघि नगरपालिकाले नै गरिएको आरडिटी परीक्षणमा उनीसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि थ्रोट स्वाबको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणका लागि पठाएको थियो ।
पिसिआर परीक्षणमा ती महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएका हो। उनी वडामा राहत वितरणलगायत वडाका अन्य कार्यमा सक्रिय रहेकी थिइन् । लकडाउनसँगै वडामा विपन्नको विवरण संकलनका लागि उनी घरघर पुग्ने गरेको बताइएको छ । त्यसै क्रममा उनी संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।
उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको घर सिल गरिएको छ।भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्ने र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्नेलगायतका काम गरिने भएको छ ।