सरकारले अनिश्चितकालका लागि काठमाण्डु उपत्यका सिल गरेको छ ।
लकडाउन अवधिभर बाहिरबाट उपत्यका प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयले बिहीबार उपत्यकास्थित मातहतका निकाय र स्थानीय तहहरुलाई उपत्यका भित्रन रोक लगाउन परिपत्र गरेको हो । परिपत्रमा अत्यावश्यक बाहेक अरुलाई भित्र आउन नदिन भनिएको छ । अत्यावश्यकका हकमा पनि आरटिडी परीक्षणको नेगेटिभ रिर्पोट अनिवार्य चाहिने भएको छ । सर्कुलर जारी गर्नुअघि गृहमन्त्री रामबहादुर थापा बादलले उपत्यकास्थित नगरपालिका फोरमका पदाधिकारी, उपत्यका भित्रन नाकाका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग सामूहिक बैठक गरेका थिए ।
पत्रमा लुकिछिपी उपत्यका प्रवेश गर्ने कार्यलाई पूर्ण रुपमा बन्द गर्न भनिएको छ । ‘काठमाडु उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाण्डु उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने’, परिपत्रिमा भनिएको छ ।
यस्तै नाका प्रवेश गरेर भित्र आउने व्यक्तिहरुलाई स्थानीय तहले स्थानीय प्रशासनसँगको समन्वयमा होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने पनि पत्रमा उल्लेख छ । लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारबाही गरिने चेतावनी गृहको छ । यस्तै स्थानइय तहसँगको समन्वयबिना भइरहेका खाना वितरणको काम पनि रोक्न गृहले भनेको छ ।