काँग्रेस नेता एवं सांसद गगनकुमार थापाले कोभिड– १९ का कारण विदेशमा अलपत्र नेपाली ल्याउन नसक्ने सरकारले भारतले मिचेको माटो फिर्ता ल्याउन भन्ने विश्वास नरहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि जोगाउन नसक्ने बताए । ‘जसले सीमानामा अलपत्र परेको मेरो नागरिक, साथीलाई जोगाउन सक्दैन, त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ । राष्ट्रियता भनेको माटो हो कि मान्छे हो ?’,उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन, जसले आफ्नो मान्छे जोगाउन सक्दैन, त्यसले बाटो जोगाउन पनि सक्दैन ।’
राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको उनको भनाइ थियो । ‘राष्ट्रियता भनेको मान्छे पनि हो माटो पनि हो । जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन’, थापाले भने, त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले भूमि जोगाइ दिन्छ भन्ने रत्तिभर विश्वास छैन ।’ उनले सरकारले कोरोना महामारी रोक्न कुनै ठोस कदम नचालेकामा पनि आपत्ति जनाए ।
सरकारको अभूतपूर्व कामले संक्रमण कम भयो भनिरहँदा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भनेर कसैले नभनेको टिप्प्णी गरे । कोरोना नियन्त्रणमा सरकारको यस्तै प्रवृत्ति र काम गर्ने तरिकाले अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न नभ्याइँने थापाको भनाइ थियो ।
‘कोरोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन,’ थापाले भने ।