उपभोक्त मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।
अन्य ठाउँमा वस्तु पसलसम्म पुग्दा म्याद गुज्रेको पाइए पनि बेनीको बजारमा मुख्य गोदाममै मापदण्ड विपरीत सामान पाइएको कोइरालाले अनलाइनखबरसँग बताए । ‘मुख्य गोदाममै सामानहरु मापदण्डविपरीत पाइनु चिन्ताको विषय हो । त्यहाँका उपभोक्ता नै सचेत हुने बेला आएको छ,’ उनले भने ।
कोरोना लकडाउनका कारण अहिले सामानको गुणस्तरताभन्दा पनि सहज प्राप्ति भएकाले व्यवसायीले मनोमानी गरेको कोइरालाले बताए । ‘बजारका सामान गुणस्तर कसरी व्यवस्थित राख्ने भन्नेमा प्रशासनको मात्रै नभएर स्थानीय जनप्रतिनिधिको पनि भूमिका हुन्छ,’ उनले भने, ‘तर, बेनीमा स्थानीय जनप्रतिनिधिले पनि बेवास्ता गरेको पाइयो ।’
मापदण्डविपरीत पाइएका पसल कारबाहीका लागि स्थानीय प्रशासन र जिल्ला अनुमगन समितिलाई आग्रह गरिसकेको कोइरालाले बताए । ‘त्यहाँ कतिपय पसल सिल नै गर्नुपर्ने अवस्थाका छन् । कारबाहीका लागि सम्बन्धित पक्षलाई भनिसकेका छौं,’ उनले भने ।