नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई बेतलबी विदामा बस्न दवाव नदिन र बाँकी रहेको पारिश्रमिक भुक्तानी गर्न माग गरेको छ ।
महासंघको केन्द्रीय समितिको बैठकले कोरोना सङ्क्रमणले उत्पन्न गराएको सङ्कटपूर्ण अवस्थामा केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई विदामा बस्न दवाव दिएको साथै केहीले लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै यस्तो आग्रह गरेको हो ।
महासंघले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले कोरोना भाइरस सङ्क्रमणको जोखिमकाबीच सञ्चारकर्मीहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको परीक्षणको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।
यस्तै महासंघले अहिलेको सङ्कटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने पनि जनाएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्यतथ्य समाचार सम्प्रेषण गर्न पनि महासंघले आह्वान गरेको छ ।