प्रताप बानियाँ÷म्याग्दी ।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्धमा देशमा जारी लकडाउनका कारण सबै क्षेत्र ठप्प हुँदा त्यसको प्रत्यक्ष असर आर्थिक उपार्जनका क्षेत्रमा परेको छ । लकडाउनका कारण प्रायः शहर, बजार, शिक्षण संस्था, कार्यालय बन्द हुँदा किसानको उत्पादनले बजार पाउन सकेको छैन ।
बजारमा दिनहुँ रुपमा खपत हुने तरकारी, फलफुललगायत दुधजन्य उत्पादनले अहिले बजार पाउन नसकेको हो । लकडाउनका कारण तरकारी र फलफुल बस्तुभाउलाई खुवाउनुपर्ने अवस्था सिर्जना भएको छ । यस्तै बजारमा दुधको खपत ह्वात्तै घटेपछि गाईभैंसीको दुध, गाईभैंसीलाई नै खुवाउन किसानहरु बाध्य बनेका छन् । बजार क्षेत्र पूर्ण रुपमा बन्द भएपछि तरकारी, फलफुल र दुधको बिक्री शुन्यमा झरेको छ ।
यसैक्रममा हिमाली जिल्ला म्याग्दीका किसानहरुले आफ्नो खेतबारी र करेसाबारीमा लगाएको तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउनुपर्ने बाध्यता भएको छ । जिल्लाको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा उत्पादन भएको तरकारी, फलफुल र दुध बस्तुभाउलाई नै खुवाउन परेको हो । लकडाउनमा तरकारी, फलफुल, खाद्यान्न र दुधजन्य सामग्री आयातमा प्रतिबन्ध नभए पनि बजारमा लग्दा समेत बिक्री नहुँदा किसानहरु मर्कामा परेका छन् । यसवर्ष हिउँदको समयमा लगाएको तरकारीजन्य उत्पादन अहिले खेतबारीमा कुहिन र सड्न थालेको छ ।
म्याग्दी जिल्लाकै अगुवा कृषकका रुपमा चिनिएका बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका चन्द्रबहादुर कार्कीले लकडाउनका कारणले गर्दा तरकारी बिक्री नभएको गुनासो गरेका छन् । उनले २ रोपनीको जग्गामा मात्रै धनियाँ लगाएको बताउँदै लकडाउनले नबिकेपछि काटेर बस्तुभाउलाई खुवाएको बताए । उनले तरकारी रुपमा दैनिक खानका लागि प्रयोग गर्न सकिने धनियाँ बिक्री नहुँदा काटेर बस्तुभाउलाई खुवाउनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् । लकडाउनका कारण तरकारी बिक्री नहुँदा दैनिक रुपमा दुई हजार रुपैयाँ घाटा बेहार्न बाध्य भएको कृषक कार्कीको भनाइ छ ।
हिउँदको समयमा कुल ७ रोपनीको जग्गामा तरकारी खेती गरेका कृषक कार्कीले लकडाउनका कारण यसपटक दुईलाख रुपैयाँ घाटा भएको गुनासो गरे । उनले तरकारी बिक्री नहुँदा गाईभैंसीलाई खुवाउने घाँसको काम तरकारीले गरिरहेको बताएका छन् । बजारमा मात्रै नभई घर तथा खेतबारीबाटै बिक्री गर्ने गरेको तरकारी पछिल्लो समय लकडाउनका कारण कोही पनि तरकारी खरिद गर्न नआएको उनले बताए । उनले घरमा र करेसाबारीमा तरकारी खरिद गर्न आउनेलाई सहुलियतदरमा मिलाएर बिक्री गर्न सकिने बताएका छन् ।
कृषक कार्कीले तरकारीतर्फ धनियासहित बन्दा, काउली, गोलभेंडा, आलु, लसुन, प्याज, रायो तथा स्वीस नामको सागपात लगाएका छन् । यसैगरी उनले फलफुलमा काँक्रो, केरा, आँपलगायतका फलफुलहरु लगाएको जानकारी दिए । कृषक कार्कीले लगाएको तरकारीको मुख्य बजार भने म्याग्दी सदरमुकाम बेनीबजार नै हो । उनीसँगै खबराका अन्यले पनि व्यावसायिक तरकारी खेती गरेका छन् ।