विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले आक्रान्त बनाइरहेको वर्तमान अवस्थामा कुनै पनि क्षेत्र अछुतो छैन । खेलकुद क्षेत्रलाई पनि यसले निकै प्रभावित बनाएको छ । सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउनको समयमा सबै खेलाडीहरु प्रायः आफ्नै घर वा घर नजिकै ड्युटीमा खटिएका छन् । अहिले के गर्दै छन्, देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउने म्याग्दीका खेलाडीहरु ?
तारादेवी पुन: भारत्तोलन खेलाडी (नेपाल पुलिस क्लब)
वि.सं. २०५८ सालदेखि लगातार नेपालको शक्तिशाली खेलाडीको उपाधि जित्न सफल अन्नपूर्ण गाउँपालिका–७, हिस्तान मथेनीकी तारादेवी पुन अहिले म्याग्दीमा छिन् । नेपाल प्रहरीको क्लबबाट खेल्ने उनले हरेक प्रतियोगितामा आफ्नै रेकर्ड तोड्दै आएकी छिन् । लामो समयको बन्दका कारण खेलाडीहरु दैनिक प्रशिक्षणमा सहभागी हुन नपाउँदा समस्या हुने उनको भनाइ छ । २०७७ साल बैशाखमा राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप रोकिँदा तथा ओलम्पिक जस्ता खेलहरु रोकिँदा कोरोना संक्रमणले कुनै पुस्ताका खेलाडी नै हराएर जाने सम्भावना रहेको उनको भनाइ छ । विगत १९ वर्षदेखि लगातार प्रशिक्षणमा रहँदै जुनसुकै समय पनि खेल्नका लागि तयारी अवस्थामा रहने गरेको बानी अहिलेको लकडाउनले त्यसलाई ब्रेक गरेको तारादेवी पुनको भनाइ छ ।
विन्दु पुन: उसु खेलाडी (नेपाल आर्मी क्लब)
सुरुमा फुलकन्ट्याक कराँते खेलबाट सुरु गरी उसु खेल्न थालेको मंगला गाउँपालिका–२, बाबियाचौरकी विन्दु पुन अहिले काठमाडौंको कोठामै छिन् । विन्दुले भारतमा भएको १२औं र नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक जितेकी थिइन । उनी चीनमा २०१९ मा भएको उसुको विश्व च्याम्पियनसिपमा पनि सहभागी भइन । उसु खेलाडी विन्दु अहिले आफ्नो कोठामा सेल्फ एक्सरसाइज गर्दै आएकी छिन् ।
अरुणा शाही: (कप्तान) राष्ट्रिय महिला भलिबल टिम
नेपालमा सन् २००८ पछि महिला भलिबल टिम नै थिएन, त्यसपछि सन २०१४ मा राष्ट्रिय टिममा छनौट हुँदा रघुगंगा गाउँपालिका–३, की अरुणा शाही पनि छानिइन् । हाल उनी राष्ट्रिय महिला भलिबल टिमको कप्तान छिन् । उनकै कप्तानीमा महिला भलिबल टिमले राम्रो सफलता हात पारेको छ । भारतसँग कुनै पनि सेट जित्न नसकेको नेपाली महिला टोलीले सागको फाइनलमा २–३ को अन्तरमा पराजित भएको थियो । भारतमा भएको १२औं सागमा सोझो सेटमा पराजित हुँदै रजतपदकमा सीमित नेपाली भलिबल टोली १३औं सागमा भने प्रतिस्पर्धात्मक रुपमा भारतलाई कडा चुनौती दिएको थियो । कप्तान शाहीले सन् २०१६ मा भारतमा साग, २०१७ मा माल्दिप्समा सम्पन्न विश्व च्याम्पियन, २०१९ सेन्टरजोन भलिबल प्रतियोगिता, एवं नेपालमै भएको १३औं सागमा सहभागिता जनाएकी छिन् । अहिले लकडाउनका कारण खेलाडीहरु नियमित प्रशिक्षणमा सहभागी हुन नपाएको भए पनि नियमित फोन सम्पर्कमा रहेको कप्तान शाहीको भनाइ छ । उनका अनुसार अहिले खेलाडीहरु सबै प्रायः घरमै रहेको र जोखिमको समय भएकाले सेल्फ एक्ससाइजमै आफूलाई सीमित राखिएको उनले बताइन् ।
कमला पुन: राष्ट्रिय भलिबल टिमकी सेटर (नेपाल पुलिस क्लब)
राष्ट्रिय महिला भलिबल खेलाडी टिमकी सेटर मालिका गाउँपालिका–३, रुमकी कमला पुन अहिले म्याग्दीमा छिन् । पुलिस क्बलका खेलाडीहरुलाई केही समयको छुट्टी भएकाले प्रायः खेलाडीहरु घरमा छन् । यो समयमा नियमित व्यायाम गर्नका लागि असहज हुँदा खेलको स्तर नै घट्ने सम्भावना हुने उनी बताउँछीन् । शारिरीक व्यायामले मात्र शरिरलाई चुस्त राख्न नसक्ने भएको हुनाले समग्र खेलाडीलाई नै समस्या हुने उनको भनाइ छ । सन् २०१४ देखि नियमित राष्ट्रिय टिमको हिस्सा रहेकी कमलाले राष्ट्रिय टिमबाट आधिकारीक तथा मैत्रीपूर्ण धेरै खेलहरु खेलेकी छिन् । १२औं र १३औ सागमा पनि कमला महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भएकि थिइन् । गोरखापत्रदैनिका लागि तयार पारिएको सामग्री