कैलालीकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै वीरगञ्जबाट दाङ आएका तीनै जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत व्यक्तिहरुको नमूना संंकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराही निवासी यी तीनै जना वीरगञ्जबाट कैलाली पठाइएकी ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै थिए ।
कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्बेश शर्माले तीनै जनाको रिपोर्ट नेगेटिभ आउनु दाङका लागि सुखद भएको बताए ।
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट नौ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गर्न मंगलबार काठमाडौं पठाइएको थियो । उनीहरुमध्ये कैलालीकी महिलासँगै यात्रा गरेका तीन जना र अर्का एक जना गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
अन्यको रिपोर्ट भने आउन बाँकी रहेको डा. शर्माले जनकारी दिए ।
सोमबार कैलालीकी ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत चैत ९ गते उनी, छोरा र नातेदारसहित १५ जना भारतको बिहारबाट वीरगञ्ज आइपुगेका थिए । त्यस रात वीरगञ्जमै बसेका उनीहरुलाई अर्को दिन स्थानीय प्रशासनले कैलाली पठाइदिएको थियो ।