कृष्णप्रसाद शर्मा
देशमा केही पदका लागी मात्रै बिज्ञापन खोल्यो भने लाखौले फर्म भर्छन । प्रत्येक बर्ष कोरिया जानका लागी परिक्षा लिँदा फर्म भर्नेको मारामार देखिन्छ । अमेरिका जानका लागी डि.बी भर्नेहरू शहरमा मात्र होईन अब गाउँ गाउँबाट लाईन लागेर भरेको भेटिन्छ । गाउँमा अहिले बुढापाका, असक्त र महिला तथा बालबालिकाहरू मात्रै छन् । एउटै गाबिसबाट पन्ध्र सय देखी दुई हजारसम्म युवाहरू प्रदेशिएका थुप्रै गाबिसहरू छन् । त्यहाँका बारीमा अहिले सिरु उम्रेका छन् । अहिले गाउँमा कसैको मृत्यु भयो भने घाटसम्म पु¥याउने मान्छेहरू छैनन् । कि त महिलाहरूले नै बोक्नु पर्छ कि त मलामी जाने कुरेर बिहान प्रण गएको लाशलाई बेलुकासम्म कुरेर लैजानु पर्छ । यो कथा जस्तो लाग्ने यथार्थ केवल नेपालका भीरपाखालाई मात्र थाहा छ ।
बिदेशमा गएका मान्छेहरू धेरै कारणले गर्दा गईरहेका छन् । स्वदेशमा जसले जागीर खान्छन् उनीहरूको कमाईले शहर बजारमा घर बन्ने खालको जुन भ्रष्ट्रचारी समाज बन्यो त्यसपछि सानोतिनो जागीर गरेका मान्छेहरूमा गाउँलेको जस्तै ठुलो महलको रहर पलाए पछि बिदेश छिरेका पनि थुप्रै भेटिन्छन् । बिदेश गएका र बिदेशिएका मान्छेहरूले समाजमा बिकृती समेत ल्याएका छन् ।
पैसावालाहरूले थोरै मुल्यमा पाईने जग्गाको दाम अहिले छोई नसक्नु बनाएका छन् । नेपालमै काम गरेर शहरमा घर बनाउन भ्रष्ट्रचार नगरी कसैले बनाउन सक्दैन । स्वदेशमा अकुत कमाएकाले समाजलाई यसरी बिकृत गराएका छन् कि मास्टर गरेर गाउँमै दश जोड दुई पढाउँदै गरेको एउटो ठिटो तल्लोबाटो हुँदै अमेरिका पुग्न घरबाट चार महिना अघी हिडेको अहिलेसम्म बाटैमा छ । उ अमेरिका पुगेर ३५ लाख कसरी कमाएर आँफु गएको पैसा तिर्छ थाहा छैन । तर पनि हरेक दिन तल्लो उपल्लो बाटो गरेर युवाहरू बिदेशिएका छन् । बिदेशिनु बेरोजगार त पक्कै हो तर हाम्रो समाज निकै महत्वकांक्षीको बाटो अगी बढीरहेको छ । ठुलाबढाले आजकाल सन्तानको पास्नीदेखी हरेक बर्षका जन्मदिन मनाउँदा लाखौ खर्च गरेको देखिन्छ । के खर्च नगरि जन्मदिन मनाउन सकिंदैन र ? बिना खर्च शुभकामना दिन मिल्दैन ? हरेक बिबाहका पार्टि प्यालेसको खर्च र शिक्षितले समेत खुलेआम लिईरहेको दाईजो हेनुस् त यो पनि बिदेश पलाएनको एक कारण हो । हुन त बाबुको क्रिया खर्चको ऋण तिर्न बिदेश पसेका घटना देख्न पाईन्छ ।
यदि तपाई हामीले प्रत्येक बर्ष भरिएका डि.भिका फर्मलाई केलाएर हेर्ने होभने त्यहाँ बिश्व बिद्यालयका प्रोफेसरले समेत भरेका छन् । दुई बर्ष पहिला मैले चिनेको एक जना प्राध्यापक नै अमेरिका डि.भी भरेर गए भने अब भन्नुस् एउटा आठ पासले डि.भी भरेर अमेरिका जाँदा देशलाई माया नगर्ने भनेर गाली किन गर्ने ? हाम्रा कतिपय गाउँलेहरू अहिले स्वदेशको भन्दा बिदेशका गल्ली गल्ली कण्ठै छन् र चिन्दछन् । किन कि आधी उमेर उतै बितिसकेको छ । उनीहरूका छोराछोरीले समेत राम्रोसंग चिन्न छोडिसकेका छन् । नेपालमा आजकाल हङकङ टोल, जापानी टोल, बेलायती टोल जस्ता थरीथरीका नयाँ नाम राखिएका गाउँ भेटिन्छन् भने बिदेशमा फेरी बाग्लुङे, स्याङजाली, पाल्पाली जस्ता अघोषित चोक र गल्ली छन् । यसैलाई हेर्नुस नेपालीहरू बिदेशमा कति छन् र कति गाढा छाप परेको छ ।
गाउँमा समेत अहिले कंक्रिटका घरहरू धमाधम बनिरहेका छन् । बिदेशमा घरजग्गाको लागी छुट्टै ठाउँ र व्यापारिक केन्द्रका लागी छुट्टै ठाउँ राज्यले तोकि दिएको हुनाका कारण हाम्रोमा जस्तो भद्रगोल शहरीकरण छैन । गाउँमा अहिले पुराना घरहरू भकाभग फालेर पिल्लर ठडाएका घरहरू बनिरहेका छन् । के गाउँमा यसरी जथाभावी घर बनाउन दिनु उत्तम हो ? यसले समाजमा बिकृती साथै समाजलाई भ्रष्ट्र बनाईरहेको छ । जो कँक्रिटका घरमा बस्न खोज्दछन् उनिहरू शहर झर्नु पर्छ नकि गाउँ नै कंक्रिटयम बनाउने । पैसा हुँदैमा मन लागेको काम गर्न मिल्ने परिपाटी बन्द गर्नु पर्छ । यदि यो अव्यवस्थित शहरीकरण यसरी नै रही रहने हो भने युवा पलाएनको यो पनि एक कारण हुन सक्छ ।
बिदेशमा रोजगारमा पुगेका नेपालीहरू को कहिले कसरी घर फर्किनु पर्छ कसैलाई थाहा छैन । हरेक दिन एयरपोर्टमा आएका बाकसमा कहिले कस्को नाम टाँसिएर आउँछ त्यो कसैलाई थाहा छैन । युवा बिदेशमा ५० डिग्रीको घाममा पल्लिएर मात्र होईन कहिलेकाँहि परिबन्दले प्रदेशमा जेल जीवन समेत बिताईरहेका छन् । घरको ६ लाख ऋण तिर्न साउदी पसेका काभ्रेका रामचन्द्र तिमिल्सेना जसरी अहिले साउदी कारागारमा परिबन्दले जीवनको भिख मागीरहेका छन् । त्यस्तै अन्य खाडीका देशहरु र अरू संसारभर कति यस्ता रामचन्द्रहरू छन् । यो कसैको चासोको बिषय पनि बनेको छैन । प्रत्येक सरकार परिवर्तन भए पछिको प्रधानमन्त्रीको पहिलो भाषणमा चालिस लाख युवाले बिदेशमा पसिना बगाएका छन् भनेको सुनिन्छ तर यो केवल भन्नका लागी भनिएको जस्तो लाग्छ । आज सम्म के गरे हरेक सरकारले कसै संग जबाफ छ ? आज उर्जाशील नेपाली युवाहरूले उता मलेसियालाई झलमल, कतारलाई फराकिलो, दुवाईलाई गगनचुम्बी शहर र साउदीका बालुवामा तरकारी फलाएर हरभरा बनाएका छन् तर यता भने गाउँका बारीहरू पुरै बाँझो छन् । अब हामी कहिलेसम्म प्रौढले युवा दिवस मनाएर युवालाई सम्झने । युवाहरू देशमै फर्केर स्वदेशमै पशुपति शर्माले बनाएको गीत मलाई अमेरिका नै यही मलाई जापान पनि यहि भन्दै काम गर्ने दिन कहिले आउला !
Previous Articleनेपाली राजनीतिमा ट्रोजन हर्स र चुजन ट्रउमा
Next Article सिप सप्ताह सकियो