टि. एन. शर्मा
केही दिन पहिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली राजनीतिमा ट्रोजन हर्स छि¥यो भन्ने अभिव्यक्ति दिए । विषेशतः चार ठूला पार्टीको अन्तरीक सहमतीबाट नेपाली राजनीति आत्मनिर्णयको चरणबाट गुज्रीएको मानिदै आएको अवस्थामा पछिल्लो सरकार परिवर्तनको घटनालाई विजुक्छेले ट्रोजन हर्सको संज्ञा दिए । चर्चीत १६ बुँदे सम्झौता गर्दा कुनै पल्लो देशको राजदुतको उपश्थिति थिएन । त्यसैले यसलाई आत्मनिर्णयको चरण मानियो । जसको फलस्वरुप नयाँ संविधान जारी भयो । नेपालमा यति ठूलो निर्णय र घटनामा कुनै न कुनै देशका राजदुत वा प्रतिनिधि साँछी नबसेको घटना थिएन । त्यसैले छिमेकी मुलुकका विदेश मन्त्रीले आफ्नो सहभागीता र समर्थनमा गरिएको निर्णयबाट प्राप्त संविधानलाई नमान्ने बताएरै होला संविधान जारी भैसकेपछि अन्य देशले स्वागत गरीरहँदा भारतले एक थान संविधान बनेको थाहा पाइयो भन्ने प्रतिकृया दियो ।
ठूला दलहरुले देखाएको खुशी विचित्रको थियो । ताते–ताते गराएर हिडेको बच्चा अचानक आफ्नै खुट्टाको भरले पिढीको वल्लो छेउबाट पल्लो छेउ पुग्दा जति खुशी हुन्छ त्यस्तै दलहरुको खुशी हेर्न लायक थियो । तर, तराईमा बलेको आगो न त निभ्ने लक्षणमा थियो न त त्यहाँ संविधान जारी भएको खुशीयालीमा दिपावली मनाउने चरणमा थियो । हुँदा–हुँदा देशले नाटकीय नाकाबन्दीको सामना ग¥यो । ठूला दल बीचको ‘भद्र सहमतीले’ हावा खायो । संसदको ठूलो दलले नयाँ सिद्धान्त प्रतिपादन ग¥यो । जस अन्तरगत ठूला दलसंगै बसेर सरकार चलाउनै हुँदैन । यो प्रजातन्त्रको विरुद्धमा हुन्छ । यस्तो सिद्धान्त बनाएपछि संसदमा सरकार चुन्ने चुनाव भयो । उक्त सरकारले ९ महिना शासन चलाउँदासम्म छिमेकी मुलुक नेपाली राजनीति सिमान्तमा परिरह्यो । देश नेपाली नेताले चलाए भन्ने बुझाई आफैमा अर्थहिन होइन । देशले दुख पाउनु, बिबाद बढ्दै जानु त छँदै थियो । तर, सरकार छिमेकीको खटनपटनमा चलेन भन्ने बुझाई नेपाली जनताको थियो ।
९ महिनापछि सरकार अल्पमतमा प¥यो । संसदमा सरकार गिराउनु पर्ने कारणका बारेमा ठूलै बहसहरु भए । यिनै बहसहरु मध्ये नारायणमान बिजुक्छेले प्रयोग गरेको ट्रोजन हर्सको सान्दर्भीकताका बारेमा मतैक्यता हुँदैन । तर, नेपाली राजनीतिमा भारतको आगमन भयो कि भएन भन्ने प्रश्न सल्बलाउन थालेको छ । बिजुक्छेलाई सोध्ने हो भने नेपाली राजनीतिमा भारतको आगमन सिधै नभएर ट्रोजन हर्स मार्फत भयो भन्ने उनको दावी हो । पाठकको सुविधाका लागि ट्रोजन हर्सको पौराणीक कथा जोड्नै पर्ने हुन्छ । ट्रोयको पतन नामक ठूलो महाकाब्य नै छ । जसले पूर्वीय पुराणमा द्वापर युगको अन्त्य भएको भनिए जस्तै पश्चिमा जगतमा एउटा युगको अन्त्य भएको जनाउँछ । दुई वटा देशबीच एउटी सुन्दरीका लागि लडाई हुँदा यस्तो विम्बको प्रयोग गरिएको छ । कथा अनुसार युद्धरत देशमध्ये एउटाले अर्को देशमा आक्रमण गर्ने दर्जनौ प्रयास गर्दछ । तर, अभेद्य किल्लाका कारण आक्रमणकारी समूह त्यसै फर्कन्छ । अन्त्यमा उनीहरुले विशाल काठको घोडा किल्ला बाहिर छोडेर जान्छन् । किल्ला भित्रको देशको राजा छक्क पर्छन् । तब काठको घोडा काम लाग्छ भनेर किल्लाको ढोका खोली भित्र लैजान्छन् । तर, काठको घोडा भित्र सयौंको संख्यामा शत्रु पक्षको सेना र हातहतियार हुन्छन् । जसको परिणाम सत्रुपक्षले किल्लाको ढोका मात्र खोल्दैनन् भित्रै आक्रमण पनि गर्छन् । यस्तो पौराणीक कहानीलाई नेपाली राजनीतिमा प्रयोग गर्ने विजुक्छेको प्रयासले के देखाउँदछ भने कुनै सत्ताधारी दलमार्फत भारत फेरी नेपाली राजनीतिको किल्ला भित्र छि¥यो भन्ने निश्कर्ष ।
पाठकलाई सहमत असहमत हुने स्वतन्त्रता छोड्दै नेपाली राजनीतिको अहिलेको द्वन्द्वलाई दुई वटा आयामबाट हेर्नु पर्छ भन्ने तर्क अघि सार्दछु । वर्तमान द्वन्द्व आन्तरिक र बाह्य गरी दुई वटा आयाममा हेर्नु उचित हुन्छ । नेपालको नयाँ संविधानलाई स्वीकार्ने आन्तरीक राजनीतिक शक्ति र यसलाई अस्वीकार गर्ने बाह्य शक्ति बीचको द्वन्द्व सबैभन्दा ठूलो हो । आन्तरिक राजनीतिक समूहले पनि संविधानलाई अस्वीकार गरेको अवस्था भएपनि तिनको पछाडी अन्तराष्ट्रिय शक्ति उभिएको छ । त्यो मध्ये भारतले नेपालको संविधानलाई स्वीकार गर्नु हुँदैन भन्दै बेलायत, युरोपीयन युनियन, जापान तथा अमेरिकामा कुटनीतिक लविङ ग¥यो । जापानले भारतीय प्रस्तावलाई ठाडै अस्वीकार ग¥यो भने बेलायत र इयुले पछि आफ्नो गल्ती सच्याएको देखिन्छ । त्यसैले अहिलेको द्वन्द्व संविधानको स्वीकारोक्ती र अस्वीकारोक्ती बीचको हो । त्यसैगरी आन्तरीक द्वन्द्वमा सत्ता प्राप्तीको दलिय प्रतिस्पर्धा प्रष्ट देख्न सकिन्छ । जबसम्म दलहरु सत्ता प्राप्तीका सवालमा सहमती गरी अगाडी बढ्छन् त्यो बेलासम्म बाह्य शक्ति बाहिरै पर्दछ । तर, सत्ता प्राप्तीका खातीर दलहरुको म्यादी सरकार निर्माण गर्ने प्रतिस्पर्धा चलिरहँदा सत्ता लोभमा आन्तरीक दलहरुले आफूलाई ट्रोजन हर्स बनाइएको पत्तै पाउँदैनन् । कुनैपनि दलले सत्ता प्राप्ती हुन्छ भने बाह्य शक्तीको धाप खान खोज्नु नेपाली राजनीतिको सबैभन्दा ठूलो बिडम्बना हो ।
संविधानको कार्यान्वयनका लागि सत्ता प्राप्तीको पिङमा मच्चीनुको सट्टा संविधान अस्वीकार गर्ने समूह र शक्तिलाई धेरै ठाँउ दिनु हुँदैन । तर यत्तीले मात्र नेपाली राजनीतिका आन्तरीक जटिलताहरु सल्टीदैन । तराई मधेश केन्द्रीत दलहरुले अहिलेको संविधानलाई अपूर्ण, विभेदकारी तथा नश्लबादी सम्मको आरोप लगाएका छन् । के संविधान नश्लबादी नै छ त ? यो स्तरको अस्वीकार्यतालाई कसरी स्वीकार्यतामा बदल्ने भन्ने सवाल नै वर्तमान राजनीतिको जटील समस्या हो । तर यसका लागि तराई मधेश केन्द्रीत दल भित्रका भिन्दाभिन्दै मनोविज्ञान र स्वभावलाई पर्गेल्नु पर्छ । गजेन्द्र नारायण सिंहले तराई मुक्तिको मसिहा बन्न खोज्दै सद्भावना पार्टी खोलेका थिए । तर, उक्त पार्टीले ठूलो आकर्षण पैदा गर्न सकेन । २०६३ सालमा अन्तरीम ंसंविधान जारी भएपछि मधेशी जनअधिकार फोरम नामक गैर सरकारी संस्थाले आन्दोलनको दुन्दुभि बजायो । फलस्वरुप नेपाली संविधानमा संघियताले ठाउँ बनायो । संघियताको यो गर्भाधान लैनचौरमा भएको थियो । नेपाली राजनीतिको बेडरुममै पुग्ने लैनचौर अर्थात् भारतीय पक्ष संविधान जारी हुँदा किल्ला बाहिर पर्नु आश्चर्यको विषय थियो । मधेशमा दुई खालको प्रवृत्तिलाई केलाउनै पर्छ । एउटा प्रवृत्ति गच्छेदारीय, अर्को प्रवृत्ति उपेन्द्रीय । गच्छेदारीय प्रवृत्तिले जस्तो सुकै होस सत्तामा शेयरीङ गर्नु अनिवार्य छ भन्छ । तर, उपेन्द्रीय प्रवृत्तिले पैरबी गर्ने विषय चुजन ट्रउमा हो । गच्छेदार, महतोलगायतका पात्रहरुमा सत्तामा पुग्ने र आफ्नो राजनीतिक भविष्यलाई सुरक्षीत राख्ने पैसा र प्रभाव आर्जन गर्ने । तर, उपेन्द्र यादव तथा महन्त ठाकुर जस्ता राजनीतिक व्यक्तित्वमा देखिएको समस्या भनेको चुजन ट्रउमा कै हो । टर्कीका प्रोफेसर भ्यमिक भोल्कानले प्रतिपादन गरेको मनोवैज्ञानिक सिद्धान्त नै चुजन ट्रउमा हो । यो सिद्धान्तका अनुसार राजनीतिमा कुनै निश्चित क्षेत्र, जाती वा सम्प्रदायले आफूहरुलाई अर्को समूह वा सम्प्रदायले हुनै सम्मको ज्यादती र शोषण गरेको मनोविज्ञान पाल्नु हो । त्यसैले ठाकुर र यादवले आफ्नो राजनीतिलाई दिगो बनाउन यस्तो मनोविज्ञान मधेश र तराईमा फैलाउन चाहन्छन् । यसमा उनीहरु एकहद सम्म सफल भएको देखिन्छ । जसको फलस्वरुप पहाडको नेता वा कुनै व्यक्ति प्रतिको मधेशीको धारणा नकरात्मक बन्दै जानु हो । उनीहरुको कुरामा जसले समर्थन गर्छ त्यसलाई ठिकै मान्ने होइन भने अनेक लान्छना र आरोप लगाउने प्रवृत्ति सामाजिक सञ्जालमा देखिन्छ । शान्त दिमागले तर्क गर्ने र एकले अर्कालाई सम्मान गर्दै सम्बाद अघि बढाउने धैर्यता देखिदैन ।
चुजन ट्रउमाले एउटा भाष्यको निर्माण गर्दै आफ्नो मनोविज्ञानलाई बलियो र गहिरो गराउँदै लान्छ । आफ्नो अहिलेको अवस्थाका लागि कुनै अर्कै समूह र जातीलाई दोष लगाउनु जति सजिलो अरु हुँदैन । यस्तो मनोविज्ञानमा अलगाव र हिंसा बढी मुखरीत हुन्छ । किनकी अर्को पक्ष प्रतिको गहिरो मनोवैज्ञानिक घृणाका कारण निषेधको व्यवहार प्रकट हुन जान्छ । पहिलो मधेश आन्दोलनमा पहाडीया जनसमूदाय माथिको आक्रमण निकै घातक बन्यो । अहिले काठमाडौ बिरुद्धको घृणा मात्रै ओकलीएन सुनियोजित हिसाबले एउटा व्यक्ति तथा दल बिरुद्ध जेहाद छेडिएको यथार्थ लुक्दैन । वर्तमान संविधानलाई अपूर्ण र नश्लबादी बताउने मधेश केन्द्रीत दलहरुले न त बाबुरामलाई स्वागत गरे, न त देउवालाई । ठूला दललाई सुन्यमा झार्ने र आफ्नो राजनीति निरन्तर कायम गर्ने मनशुवा त्यति सफल भएन । यसको पछाडीको सैद्धान्तिक रणनीति निर्माण मधेशमा भएको होइन । जसका कारण संविधानको अस्वीकार गर्दागर्दै पनि सरकार गिराउने र बनाउने कार्यमा संसदमा आउनु गयल परेको समयको तलब बुझ्नुले उनीहरुका नाडी दिल्लीले मात्र होइन काठमाडौले पनि छामी सकेको थियो । तर एउटा खतरा के छ भने चुजन ट्रउमा पुस्ता हस्तान्तरण हुने मनोविज्ञान हो । मधेशको नयाँ पुस्ताले पहाडलाई यसरी नै हेर्दै गयो भने उपेन्द्र, प्रचण्ड, देउवा एकै ठाँउमा बस्न सके जस्तै सिकाइएको पुस्ता बस्न नसक्ने सम्भावना तर्फ भने सचेत हुनैपर्छ । यसका लागि गलत सिकाइएका बाट गालि खाइन्छ आरोपीत भइन्छ भन्ने डर र त्रासको सट्टा सैद्धान्तिक हिसाबले नै बहस गर्नु र सम्वाद गर्नु डराउनु हुँदैन ।