प्रा. डा ऋषिराम शर्मा
कोरोना विपत्तिको खग्रासले समस्त भूमण्डल आक्रान्त छ । हाम्रो मुलुकसमेत यसै विपत्तिको त्रासले ग्रस्त छ । प्रकृतिमाथि विजय प्राप्त गरेको दावी गर्ने विज्ञान र प्रविधिको अहङ्कार कोरोनाले निम्त्याएको कहरका अगाडि निरीह छ । कोरोना युद्ध लडेर होइन सुरक्षित र अनुशासित रूपमा रहेर मात्र जित्न सकिन्छ भन्ने रणनीति आज विश्वका त्यस्ता शक्क्तिशाली मुलुकहरूले समेत अँगालिरहेका छन् जससँग यो सुन्दर धर्तीलाई एकै निमेषमा ध्वस्त पार्न सक्ने आणविक हातहतियारको अथाह भण्डार छ, भूमण्डलको सात फेरा लाउन सक्ने फाइटर जेट छन्, ब्यालेस्टिक मिसाइल छन् । कोरोना कहरकै कारण आज युद्ध सेलिब्रेटी जस्ता ती देशका नौनाडी समेत गलिरहेछन् र तिनीहरू आफ्ना नागरिक भकाभक ढलिरहेको टुलुटुलु हेर्न र धुरुधुरु रुन विवश छन् । आफ्ना नागरिकका मृत्युपीडा सहन नसकी कोही मिडियामा छटपटाइरहेका देखिन्छन् त कोही चाहिँ अबोध बालक रोए झैँ आँखाभरि आँसुका दह छचल्किएका कारुणिक दृश्यले सामजिक सञ्जालका भित्ताहरू भिजेका छन् ।
यसरी विश्वकका शक्तिशाली राष्ट्रहरू किंकर्तव्यविमूढ भरहेको अवस्थामा र कोरोनाका क्रूर नङ्ग्राले विकसित देशहरूलाई वीभत्स रूपमा चिथोरिरहेका बेला ती देशहरूले अँगालेको सतर्कता अभियान भन्दा एक कदम अघि बढेर नेपाल सरकारले कोरोनाको कहर भित्रिनुभन्दा पहिले नै जनताको सुरक्षाका लागि जुन कदम चालेको छ त्यसको पक्ष प्रतिपक्ष र अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको छ । नेपालमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी वहन गरिरहनु भएका युवा मन्त्रीको अहर्निश प्रयास र त्यसको प्रभावले कोरोनामुक्त नेपाल हुने सम्भावना देखे पछि यसको जस अपजसको हिसाबकिताब गरी सत्तारुढ दल र उक्तव टीमको लोकप्रियता र प्रभाव बढ्न सक्ने ठहर गर्दै जुन नियोजित हमला भइरहेको छ त्यसको जवाफ समयले त दिने नै छ, तर यो हमलालाई प्रच्छन्न मलजल गरी अभिसिञ्चित गर्दै मुस्कुराउने आफ्नैलाई पनि समयले यसको घातक स्वाद चखाउने नै छ । सबैलाई थाहा भएकै कुरा हो, नेपाललाई डब्लुएचओले समेत ग्रिनजोनमा रखिरहेका बेला जनचाहना र गहन जिम्मेवारी बोधसहित सरकारले रोगलाग्नुभन्दा पहिले नै त्यसको सङ्क्रमण फैलिन नदिने गरी लिएको नीति सराहनीय नै रहेको देखिन्छ ।
मुलुकमा एकातिर विश्वमै महामारीको विनाशकारी मनसुन गर्जन गर्दैछ भने अर्कातिर सरकारले केही गरेन भन्दै राजीनामाको बेमौसमी बाजा बजाउनेहरूको कही नभएको जात्रा छ । जनताले दुइतिहाई बहुमत दिई चुनेको स्थिर सरकारलाई अस्थिर बनाउने बाह्रमासे खेल प्रदर्शन गर्न शीर्ष, स्वनामधन्य एवम् आशलाग्दा नेताले लामो समयसम्म मञ्चन गरेको निराशलाग्दो र अपथ्य अभिनय नेपथ्य हुँदै राजनीतिक रङ्गमञ्चमा खलनायकीय आवरणमा अवतरित भैसकेको छ । आज सिङ्गो मुलुक कोरोनासँगको प्रतिरोधमा एकजुट हुनुपर्ने र आमजनताले समेत सरकारको अभियानमा साथ दिई मानवरक्षाका लागि एकजुट भैरहेका बेला क्वारेन्टाइनका कुनामा बसेर पनि विभिन्न कोणबाट मन्त्रीको राजीनामा बेमौसमी बाजाबजाइरहनु र त्यसलाई सामाजिक सञ्जाल र मिडियामार्फत मलजल गरिरहँदापनि दुईतिहाईको कित्ताबाट देखिएको मौनता यदि ‘मौनम् सम्मति लक्षणम्’को ध्वन्यार्थ हो भने रामराम भन्नुबाहेक अर्को विकल्प देखिँदैन ।
आज विश्वमा कोरोना विरुद्धको युद्ध जारी छ । यहाँ भने कोरोना सङ्कटका ढाडमा टेकेर कहिले प्रधानमन्त्री, कहिले स्वास्थ्य मन्त्रीको राजीनामा त कहिले राष्ट्रिय सहमतिको सरकारजस्ता सत्ताशास्त्रीय र कुर्सीप्राप्तीय रागको माला जपिँदै छ । नेपालमा कोरोना परीक्षण काठमाडौँको टेकुबाट मात्र हुनसक्नु र अरु ठाउँबाट हुन नसक्नु अनि यही कारण आम रूपमा मुलुकमा कोरोनाबाट कति सङ्क्रमित छन् भन्ने यथार्थ उद्घाटित हुन नसक्नु अहिलेको मुख्य समस्या मानिएकोमा अब सबै प्रदेशबाट त्यसको परीक्षण गर्न सकिने स्थिति राज्यले सिर्जना गरेको छ । सामान्य रुघाखोकी लागेका बिरामी अस्पतालमा उपचारार्थ जाँदा पिपिई (व्यक्तिगत सुरक्षाकवच) नभई डाक्टरहरू भागाभाग हुनु मुख्य समस्या छँदै थियो । मेडिकल हबको रूपमा विकास हुँदै गरेको भनिएका नेपालका निकै महँगा निजी क्षेत्रका अस्पतालहरूले हालसम्म पिपिई समेत नराखी बस्नु लाजमर्दो कुरा होइन र ? त्यस्ता अस्पतालले समेत यसबेला गैरजिम्मेबार रूपमा प्रस्तुत भएका समाचार समेत भाइरल बनिरहेकै छन् । मुलुक सङ्कटमा परेका बेला निजी अस्पतालहरू उपचारको कुरा त परै जाओस् यसबाट उन्मुक्तिका लागि सरकारलाई उपयुक्त सुझाव समेत दिन कन्जुस्याइँ गरेका हुन् के भन्ने अनुभूति हुनु अस्वाभाविक थिएन । यस्तो अवस्थामा त्वरित निर्णयमार्फत् आवश्यक उपकरण किनेर मुलुक आक्रामक रुपमा कोरोना विरुद्ध लागिरहेका बेला क्षणिक सुँको न्यानोमा रमाउनेहरू सक्रिय देखिए । विगतमा नेतृत्वको आडमा भ्रष्टाचार गर्न पल्केकाहरूले यस बेला कति खान पाइँदो हो भनी थुक घटुघुटु निल्दै आम रूपमा राज्यप्रति घृणा फैलाउन भ्रष्टाचारको हल्ला मच्चाएर राज्यले चालेका सकारात्मक अभियानका विरुद्ध घृणित र नकारात्मक वातावरण सिर्जना गर्न तम्सिएका छन् । आफूले पनि नल्याउने अनि सरकारले ल्याउन लाग्दा बखेडा झिकेर यति सस्तो र त्यति महँगो भन्दै कुत्सित स्वार्थ भएकाहरू निदानका लागि होइन महामारीका पक्षमा उभिए ।
यस्तो अवस्थामा सरकारले आवश्यक पिपिई र परीक्षण किट ल्याउन चालेको फास्ट ट्रयाक कदमको विरुद्ध भ्रष्टाचारको कुरा उछालेर उपचारको बिउ नष्ट गरी महामारीको वनमारा फैलाउने वातावरण सिर्जना गरियो ।पिपिई र किटका मूल्यसूची छ्याप्छ्याप्ती सामाजिक सञ्जालमा त्यसरी फिजाइयो, मानौ चिनमा पिपिई उत्पादन गर्ने उनकै ससुराली हुन् र त्यसका त उनीहरू नै विज्ञ, दक्ष र सर्वस्व हुन् । यदि त्यस्तो विज्ञता थियो भने उनैले मगाएर ल्याउन कसले छेक्यो ? स्वास्थ्यकर्मीहरूले सामग्री नपाएर उपचार गर्न नपाएको कुरो भनेकै छन् । सबैलाई थाहा छ, बजारमा जब हामी कुनै सामान किन्न जान्छौँ त्यहाँ बजारको माग र पूर्तिको नियम बमोजिम मूल्यमा तलमाथि पर्न जान्छ । हिजो दस रुपियाँमा पाइने सागको मुठा लक डाउनका बेला अहिले साठीमा किन्नु परिरहेछ । अर्को कुरा, गुणस्तरका आधारमा उस्तै देखिने सामानको मूल्य फरकफरक पनि हुने गर्दछ नै । सरकारले मगाएका सामान आए पछि भ्रष्टाचार भएको रहेछ भने त्यसबेला विरोध गर्ने हक छँदैछ, भ्रष्टाचार विरुद्ध कारवाही गर्ने निकाय छँदैछन् । हिजोजस्तो मान्छे भट्टामा जिउँदै डढाएर शानसाथ सत्तामा निर्लज्ज रज्जगज्ज गर्ने जमाना आज छैन, आज त आरोप लाग्नासाथ प्रधानमन्त्रीका आग्रहमा मन्त्रीहरूले भकाभक राजीनामा दिने प्रचलन चलेकै छ ।
आज आइसियुको अवस्थामा पुगेको मुलुक बचाउन लाग्ने कि तथाकथित रुग्ण मानसिकता भएका लाबुझक्कड र डेढ अक्कलीहरूले भाइरल बनाएका कुरामा विश्वास गर्ने ? मूल प्रश्न् यही हो । अतः यस्ता समाचारको स्याल हुइय्याका पछाडि आफू पनि हुइय्या गर्दै समाचार सेयर गर्न, अनि तिनै कुरा पत्याई विषाक्त समाचारका पछि कानै नछामी कागका पछि दगुर्दै विश्वािस गरिहाल्न उपयुक्त नहुने हुँदा यसतर्फ आम नागरिक चनाखो हुन जरूरी छ किनभने मीठो सेलरोटी दिँदा समेत यस्तो प्वाल परेको रोटी दियो भनी कोकोहोलो मच्चाउनेहरू र नकारात्मक सोचले भरिएकाहरूको अस्थिरताको आकाशखेती हरेकपल्ट झैँ यसपल्ट पनि नष्ट हुने निश्चिनत छ ।
अहिलेको समय निकै गम्भीर छ । आफू आफ्नै घरमा सुरक्षित बसी आफैलाई र मुलुकलाई सहयोग गरौँ । विपन्न वर्गका जनताको कष्टप्रद जीवनको चिन्ता गरौँ । यिनको सङकटग्रस्त जीवनलाई कसरी सहज बनाउने भन्ने सिर्जनात्मक सुझाव सरकारलाई दिऊँ । टोलटोलमा खाद्य सामग्री सुरक्षितसाथ कसरी उपलव्ध गराउन सकिन्छ प्रयास गरौँ । ज्यालादारी मजदुरहरूका लागि आवश्यक समूहिक भोजनको व्यवस्था गर्नुपर्ने भए त्यसमा सहजकर्ता बनौँ । नियमित औषधि सेवन गरिरहेका विरामीहरूको औषधि आपूर्तिको चिन्ता गरौँ । विदेशबाट आएकाहरू र त्यसरी आई क्वारेन्टाइनमा नबसी हिँडेकाहरूसँग सम्पर्क भएकाहरूसमेत पनि क्वरेन्टाइनमै बसौँ र बसालौँ । यो थाहै नभई सङ्क्रमण हुने भएकाले सङ्क्रमितहरूलाई आतङ्कित नपारौँ , उनीहरूलाई मानवीय व्यवहार गरौँ । राज्यको ढुकुटी राज्य र नागरिक जोगाउन प्रयोग गर्दा हल्ला गर्ने बाह्रमासेहरूलाई उफ्रन दिऊँ, आफू नचुकौँ अर्काले के भन्छ भन्ने चिन्ता नगरौँ । नबिराऔँ र नडराऔँ । बिरायौँ भने कोही पनि बँच्ने छैनौँ भन्ने राम्ररी बुझौँ । पूरै नकारात्मक चिन्तनको भाइरसद्वारा सङ्क्रमितहरूका प्रश्न को जवाफ दिनुको कुनै तुक छैनभन्ने पनि बुझौँ । सरकारले चालेका हरेक सकारात्मक कदमका बेला समेत विगतमा त्यस्तो सङक्रमणका खतरनाक लक्षण पहिल्यैदेखि पटकपटक देखिने गरेकाले भविष्यमा कोरोनाको औषधि निस्के तापनि नकारात्मक चिन्तनका त्यस्ता भाइरसको औषधि पत्ता लाग्न महामुस्किलै होला भन्ने । त्यसैले सरकारका मन्त्रीहरूले समेत त्यस्ताले पोस्ट गरेका कुराको जवाफ दिएर त्यस्तालाई भाउ नदिऊँ किनकि हात्तीको काम लम्कने हो को कता भुक्यो भनी हेर्ने होइन ।
मुलुक कोरोना जस्तो वैश्विहक महामारीले ग्रस्त र त्रस्त रहेका बेला समस्या बल्झाएर कोरोनाको छिर्किनीले सत्ता लडाउने झोसपोल गर्ने लहडमा लाग्नु भन्दा कोरोना जस्तो साझा शत्रुका विरुद्ध ऐक्यबद्ध भई त्यसका विरुद्ध लडनु आजको आवश्यकता हो । कोरोनाको कालबाट बाँचियो भने न सत्ताकुर्सी आदिको स्वाद चाख्न पाइएला, लाशको रास लाग्यो भने दाहसंस्कार गर्ने दाउरो पाउन पनि मुस्किल पर्नेछ भन्ने राम्ररी बुझौँ । त्यसैले कोरोना विरुद्धको यो सामूहिक लडाइँमा राज्य र सरकारका सकारात्मक कदमको प्रशंसा गरौँ, देखिएका कमजोरीहरूको समाधेय सुझाव दिऊँ । पहिले सारा मतभेद थाती राखेर कोरोना वा कोभिड(१९ विरूद्ध लडौँ, यसलाई पराजित गरे पछि आआफ्ना अन्तर्विरोध र असन्तुष्टि, आक्रोश र रिस, भ्रष्टाचार र कुण्ठाकाऔजारहरू अर्जापेर मैदानमा उत्रने अवसरको सदुपयोग गरौँला ।