पत्रकारको डायरी
कृष्ण कँडेल
जिल्ला प्रविधिक सहयोग समितिले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा ४ गाउँपालिका बनाउने प्रस्तव गरेपछि भौगोलिक रुपमा विकट क्षेत्रमा खुसीयाली बढेको छ । निसीखोला र तमानखोलामा दुई छुट्टाछुट्टै गाउँपालिकाको प्रस्ताव गरेपछि त्यहाँका नागरिकमा घर नजिकैबाट सेवा पाउने विश्वास बढेको हो । यसअघि जिल्ला प्रविधिक सहयोग समितिले तमानखोलाका तमान, खुंगा, खुंखानी र बोङ्गादोभान गाविसलाई बुर्तिबाङ केन्द्र हुने ढोरपाटन गाउँपालिकामा प्रस्ताव गरेको थियो ।
बुर्तिबाङ केन्द्र हुँदा अहिलेकै जस्तो राज्यका सुविधा लिन फेरी पनि टाढा जानुपर्ने बाध्यता हुने भन्दै उनीहरुले विशेष क्षेत्र सहितको तमानखोला गाउँपालिकाको प्रस्ताव गर्दै आएका थिए । कात्तिक १० गते भएको चारै गाविसको सर्वदलिय बैठकले छुट्टै विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र सहितको गाउँपालिका बनाउने निर्णय गरेको थियो । दलित, जनजाति, अल्पसंख्यक नागरिकको बसोबास क्षेत्र भएको र भौगोलिक विकताले विकासका पुर्वाधार सडक लगायत पुग्न नसकेकाले नगरपालिकामा जान उपयुक्त नहुने भनेर गाउँपालिकामै जान सबै दल सहमत भएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य बोङ्गादोभानका सुर्य श्रीपालीले जानकारी दिए । चारओटा गाविस मध्य खुंगा बुर्तिबाङको नजिक हुने भएकाले त्यहाँका केहि नागरिकको धारणा बुर्तिबाङ केन्द्रमै जानुपर्छ भन्ने रहेको थियो । तर कात्तिक १० को बैठकमा खुंगाबाट पनि सबै दलको सहभागिता रहको र स्थानिय गाउँपालिका नै बनाउन सहमति भएका थिए । बैठकमा काँग्रेस खुंगाका सभापति थमबहादुर घर्ती, काँग्रेस क्षेत्रीय सदस्य खुंगाकै नजंग श्रीपालीलगायत सबै सक्रिय राजनैतिक दलको सहभागीता थियो ।
स्थानियको माग अनुसारनै जिल्ला प्रविधिक सहयोग समितिले शुक्रबार ४ ओटा गाविसको छुट्टै गाउँपालिका प्रस्ताव गरेको छ । यो प्रस्तावले तमानखोलाबासी उत्साहित बनेका छन् । तर यो खुसी सँधैका लागि हुन्छ कि अर्को निर्णय नहुँदासम्मका लागि मात्र हुन्छ भन्ने पुष्टि हुन केहि समय लाग्ने देखिन्छ ।
जिल्लाका केही नेताहरु पार्टिको आन्तरिक कार्यक्रममा व्यस्त भएका कारण कात्तिक २३÷२४ गते सम्मका लागि यो विषयलाई स्थगित गरिएको खबर आएका छन् । यसलाई निर्णयमा पुराउन सके सदियौँदेखि दुरदराजबाट समान्य सेवा लिन हप्तौँ लगाएर बागलुङ बजार र बुर्तिबाङ बजार जानुपर्ने बाध्यता हट्ने उनीहरुको विश्वास छ ।
यता निसी र बोहरागाउँका नागरिकले पनि तीन गाविसको गाउँपालिका बन्ने आशासहित राहत महसुस गरेका छन् । यसअघि प्रस्तावित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिँवाखोला रहने भएपछि राज्यको सुविधा र विकास केहि भएपनि नजिक आउने भयो भनेर उनीहरुमा आशा पलाएको थियो । पछिल्लोपटक देविस्थानले गाउँपालिकाको केन्द्र पाए निसीखोला मै बस्ने नत्र बुर्तिबाङतिर मिसिने गरि बार्गेनिङ हुन थालेपछि उनीहरु सशंकित थिए । सबैभन्दा धेरै चिन्ता त बुर्तिबाङलाई केन्द्र मानेर नगरपालिका बनाउने निसी र बोहरागउँलाई पनि ल्याउने निर्णय नगरविकास समितिको सर्वदलिय बैठकले गरेपछि त्यहाँ आक्रोश बढेको थियो । आफुहरु दुरदजमा रहेको अवस्थामा विकासबाट बन्चित हुनुपरेको र नगर बनेपछि पनि उल्टै धेरै कर तिनुपर्ने जस्ता झन्झट आउने भएकाले पहिलेको जिल्ला सदरमुकाम जस्तो धेरै टाढा हुने नगरको केन्द्रबाट सहज रुपमा सेवा लिन नपाईने स्थानिय नागरिकको चिन्ता रहेको थियो । स्थानिय नेताहरुको पनि स्थानिय रुपमै गाउँपालिका बन्दा त्यहाँ आफु नेता हुन पाईने भएकाले उतै जोड गर्ने गरेका हुन् । जबकि बुर्तिबाङ आउनुप¥यो भने आफ्नो पार्टिभित्रै क्षेत्रीय स्तरबाटै ठुला नेताले नेतृत्व लिने र आफुहरुले अवसर नपाउने उनीहरुको चिन्ता हो ।
निसीका स्थानिय भुमिराज घर्ती मगरले ईलाका नम्बर–१३ अन्तरगत पर्ने निसीखोलाका ४ ओटै गाविस गाउँपालिकामा जान तयार रहेको सर्वदलिय निर्णय भएको अवस्थामा पछिल्लो प्रस्ताव सकारात्मक नै भएको बताए । राजकुतलाई पनि निसीखोला गाउँपालिकामा जान सहमत भएकाले त्यहि राख्नुपर्ने घर्तीको धारणा छ । तर जनसंख्या लगायत मापदण्ड पुगे ईलाका अनुसार ३ ओटामात्रै गाविसको गाउँपालिका बनाएपनि हुने उहाँको मत छ । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य बोहरागाउँका तारानाथ शर्माले राजकुतलाई पनि समावेश गरेर गाउँपालिका बनाउने र देविस्थानको उचित स्थानमा केन्द्र मान्ने कुरामा सबै दल सहमत रहको अवस्थामा चार ओटै गाविसको गाउँपालिका बनाउनुपर्न धारणा छ । शर्माले राजकुत आफै बुर्तिबाङ जान तयार भए आफुहरुलाई कुनै आपत्ति भएको बताए । प्रभा मावि बोहरागाउँका प्रअ नवराज आचार्यले स्थानिय गाउँपालिका बनाउन सबै सहमत भएको अवस्थामा त्यो निर्णय आए खुशी नै हुने बताए ।
यता भिमगिठेमा भने पछिल्लो प्रस्तावले असन्तुष्टि बढाएको छ । भिमगिठेका स्थानिय राजनैतिक दलले स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनीहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रबार दलहरुसँग छलफलमा राखेको प्रस्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिसप्रति कडा आपत्ति जनाएका छन् । यसअघि ग्वालीचौर केन्द्र हुँदा मान्न तयार भएपनि फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जाने निर्णय गरेका हुन् ।
सर्वदलिय बैठकले रणसिंहकिटेनी, ग्वालीचौर, दर्लिङ र भिमगिठे गाविसको गाउँपालिका बनाउन पहल गर्ने निर्णय गर्दै त्यसका लागि जिल्ला प्राविधिक सहयाग समिति र दलका नेतृत्व समक्ष डेलिकेशन जाने भएको छ ।
नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जित थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिलो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताए । यि चार गाविसको जनसंख्या १९ हजार ३ सय ४९ रहेको छ । गाउँपालिकाको लागि २२ हजार जनसंख्यामा १५ प्रतिशत तलमाथि गर्न सकिने भएकाले चार गाविसलाई जनसंख्याका आधारमा पनि गाउँपालिका बनाउन सकिने नेपाली काँग्रेस गाउँ कार्यसमितिका सभापती कृष्ण गुरुङले बताए । सभापति गुरुङले अहिले आफ्नो गाविसको सर्वदलिय बैठक गरि अरु तिन गाविसलाई पनि भिमगिठे केन्द्र हुने गरि गाउँपालिकामा आउन आग्रह गर्ने निर्णय भएको बताए ।
नेकपा एमालेका प्रतिनिधि दिपक रायमाझीले निर्णय कार्यान्वयनको पहल गर्न अरु गाविस सँग छलफल गर्ने र जिल्लाका राजनैतिक दल तथा प्रविधिक समितिमा डेलिकेशन जाने बताए । जिल्ला प्रविधिक समितिको अघिल्लो प्रस्तावमा भिमगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । शुक्रबार जिल्ला प्रविधिक समितिले भिमगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रस्ताव गरेको छ ।
राजकुत गाविसमा भने असन्तुष्टि व्यक्त भएको छ । नेपाली काँग्रेस जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले गाउँपालिका नगरपालिका जेसुकै बनेपनि बुर्तिबाङ केन्द्रमा जान नसकिने बताए । उनले निसीखोला गाउँपालिका नै उपयुक्त भएको बताए । यसअघिको चार गाविसको सर्वदलिय बैठकको निर्णय पनि निसीखोलामा पर्ने चारै गाविसको एउटा गाउँपालिका बनाउने निर्णय भएकाले त्यहि उपयुक्त भएको उनको ठहर छ । तर राजकुत गाउँ सभापति तेजेन्द्र विक्रम कुँवरले देविस्थान केन्द्र हुने सन्दर्भमा निसीखोला मान्ने भनिएपनि केन्द्र त्यहाँ कुनैपनि हालतमा नहुने भएकाले बुर्तिबाङ नै उपयुक्त हने तर्क गरेका छन् ।
बुर्तिबाङसहित राजकुत, अधिकारीचौर, बोबाङ, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रस्ताव गरिएपछि नगरपालिकाका पक्षधारले जुनसुकै हातलमा नगरपालिका बनाउनुपर्न धारणा राखेका छन् । उनीहरुको मुख्य जोड बुर्तिबाङ सहितको स्थानिय निकाय नगरपालिका नै हुनुपर्छ भन्नेमा छ । एमाले, माओवादी केन्द्र र राजमोका बुर्तिबाङका नेताहरुले नगरपालिका जुनसुकै हालतमा बनाउनुपर्ने र गाविसको सन्दर्भमा जिल्ला प्रविधिक समितिको पछिल्लो प्रस्तावकै वरिपरि सहमति खोजिनु पर्ने धारणा राखेका छन् । नेपाली काँग्रेसले भने भुजीखोलाका २, निसिखोलाका ३, र राजकुत गाविस समेटेर ईलाका नम्बर–१० र १३ लाई मिलाएर नगरपालिका बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यौ कुनैपनि हालतमा व्यवहारिक र संभब नहुने राजमोका जिल्ला अध्यक्ष अमर थापाको तर्क छ । थापाले भिमगिठेलाई छोडेर निसी र बोबाङलाई बुर्तिबाङमा ल्याउनु तर्क संगत नभएको बताए । उता तारामा ४ ओटा गाविसको छुट्टै गाउँपालिका बनाउने प्रस्तावको स्वागत गरिएको छ । सबै स्थानिय राजनैतिक दलका प्रतिनिधि सहमत प्रस्तावको स्वागतमा देखिएका छन् । जिल्ला प्राविधिक समिति बागलुङले माथिल्लो गलकोटका ४ गाविसलाई गाउँपालिका बनाउन सकिने गरि सर्वदलिय बैठक राखेको प्रस्ताव सकारात्मक भएको भन्दै त्यहाँका सरोकारवाले स्वागत गरेका छन् । जिल्ला प्राविधिक समितिले यसअघि गलकोट नपामा राखेका तारा, हिल, अर्गल र अमरभुमी गाविसलाई शुक्रबारको छलफलमा छुट्टै गाउँपालिका प्रस्ताव गरेको छ । दलहरु बीच थप छलफल गरेर टुंगो लगाउने जिल्ला प्रविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
विशिष्ट पहिचान रहेको ताराखोला क्षेत्रलाई विशेष क्षेत्र सहितको गाउँपालिका बनाउनुपर्ने बताउँदै आएका राजनैतिक दलले प्रविधिक समितिको प्रस्ताव वैज्ञानिक र न्यायपुर्ण भएको बताएका छन् । चारओटै गाविसमा क्रियाशिल दलको उपस्थितीमा गाउँपालिका बनाउने गरि गत असार १२ गतेको बैठकले गरेको सर्वसम्मत निर्णय अनुसार नै प्रस्ताव आएकाले स्थानिय नागरिकको भावनालाई त्यसले समेटेको उनीहरुको ठहर छ । तर गलकोटका हटिया र हरिचौरका राजनैतिक दलका अगुवाले यि ४ गाविसलाई समेटेर साधनस्रोत सम्पन्न गलकोट नगरपालिका बनाउनु पर्ने तर्क गर्दै आएका छन् । साझा गलकोटको मनोविज्ञानलाई निर्वाचन क्षेत्र बनाउँदा विगतमा टुक्रार्ईको भन्दै अबपनि गलकोट टुक्रिए विकासमा फेरी पछि पर्ने उनीहरुको भनाई छ । गलकोटका केहि नेताहरुले आफ्ना माग विपरित पार्टिले गलकोटलाई फुटाउने प्रयास गरे एउटै गलकोटका लागि पार्टिको सदस्यता समेत त्यागेर आन्दोलनमा उत्रिने बताएका थिए । प्राविधिक समितिले छुट्टै गाउँपालिका प्रस्ताव गरेपछि एउटै गलकोटका पक्षधरहरुले त्यसलाई नमान्नै भन्दै सर्वपक्षिय छलफल सुरु गरेका छन् ।
यसअघि जिल्ला प्रविधिक समितिले चारै गाविसलाई गलकोट नपामा राख्ने प्रस्ताव गरेको थियो ।
तारा गाविसका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका नेता डण्डपानी कँडेलले ताराखोला क्षेत्रको सांस्कृतिक पहिचान, भौगोलिक विकटता र साझा मनोविज्ञान तथा जनजातिको बाहुल्यताका आधारमा छुट्टै विषेशता रहेकाले गाउँपालिका प्रस्ताव हुनु सकारात्मक भएको बताए । कँडेलले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नकै लागि पनि जुनसुकै हालतमा छुट्टै गाउँपालिका बनाउनुपर्ने तर्क गरे । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य हिलका स्थानियवासी सञ्जयकुमार श्रेष्ठले शुक्रबार भएको पार्टि जिल्लाको बैठकमा ४ गाविसको छुट्टै गाविस बनाउनुपर्ने धारणा राखेको बताए । श्रेष्ठले मापदण्ड अनुसार जनसंख्या नपुगेपनि विशिष्ट पहिचान, भौगोलिक जाटिलता तथा जातिय सघनताको आधारमा बिशेष क्षेत्र बनाउनुपर्ने बताए । सामान्य अवस्थामा गाउँपालिका बनाउन २२ हजार जनसंख्या आवश्यक पर्नेमा चार गाविसको जनसंख्या १२ हजार ९०० मात्र रहेको छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा अर्गलका स्थानिय प्रकाश घर्तीले अहिलेपनि गाउँपालिका बनाउन नसके ताराखोला क्षेत्र सँधै पछि पर्ने दाबी गर्दै छुट्टै गाउँपालिका बनाउन जुनसुकै मुल्य चुकाउन तयार रहेको तर्क गरे । घर्तीले चारओटै गाविसका राजनैतिक दलको सर्वसम्मत निर्णय अनुसार जिल्ला प्रविधिक समितिले प्रस्ताव आएकाले जुनसुकै अवस्थामा पनि यसलाई पारित गर्नुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हिलका तिर्थसिंह थापाले चार गाविसको सर्वदलिय निर्णय अनुसार नै प्रस्ताव आएकाले स्वागतयोग्य रहेको बताए । उनले चारओटा गाविसको सबै कुरा मिल्ने र हटिया, हरिचौर तिर केन्द्र बनाउँदा नागरिकलाई सेवा लिन समस्या हुने बताए । अमरभुमि गाविसका पुर्वअध्यक्ष तथा काँग्रेस नेता नन्दलाल गैरेले जनजातीको सघनतामा सबैको मेलमिलाप सहित साझा भावना रहेको र जिल्लाकै दुर्गम पर्ने चार गाविसमा रहेका प्राकृतिक साधन श्रोतलाई परिचालन गरि विकासको गतिमा अघि बढाउन छुट्टै गाउँपालिका बनाउन माग गरे । गैरेले आफ्नै अध्यक्षतामा गत असारमा भएको सर्वदलिय वैठकको भावना अनुसार नै पछिल्लो प्रस्ताव आएकाले त्यसलाई निर्णय प्रक्रियामा लैजानु पर्नेमा जोड दिए ।
गलकोटलाई तिनतिर पारिएको भन्दै समग्र गलकोट बलियो नगरपालिकाका पक्षधरहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनिहरुले गलकोटमा सवैको साझा मनोविज्ञान रहकाले छुटाउन नहुने धारणा राख्दै आएका छन् । गलकोट सेवा समाज बागलुङको समन्वयमा भएको सर्वपक्षिय बैठकले गलकोटका १२ ओटा गाविस र रणसिंहकिटेनीका ४ ओटा वडालाई नगरपालिका बनाउन पहल गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षतामा भएको बैठकम राजनैतिक दलका प्रतिनिधि तथा गलकोटसँग सरोकार राख्नेहरुको सहभागीता रहेको थियो । बैठकले गलकोटका हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी, दुदिलाभाटी, रिघा, पाण्डवखानी, तारा, हिल, अर्गल र अमरभुमि गाविसमा रणसिंहकिटेनी गाविसको वडा नम्बर–६ देखि ९ लाई समेटेर बलियो नगरपालिका बनाउन माग गरेको छ । स्थानिय रुपमा सहमती रहे गलकोटमै पर्ने सल्यान र सुखौरालाई पनि गलकोट नगरमै समेट्न सकिन निष्कर्ष रहको वैठकमा सहभागी गलकोट एफएमका अध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।
विगतदेखि नै गलकोटलाई छुट्टाएर राज गर्ने गरिएको र अहिलेपनि त्यहि कुरा दोहो¥याउन खोजिएको आपत्ति जनाउँदै माग सम्बोधन नभए चारणवद्ध आन्दोलनमा जाने निर्णय भएको गलसकोट सेवा समाज बागलुङका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिनुभयो । थापाले पहिले साधनस्रोत सम्पन्न एउटै गलकोट नगरपालिका बनाउन जिल्लाका राजनैतिक दल, जिल्ला प्रविधिक समिति तथा केन्द्रमा पहल गर्ने तर माग पुरा नभए थप छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको बताउनुभयो ।
ताराखोला क्षेत्रका ४ ओटा गाविसलाई गलकोट नगरपालिकाको संरक्षित क्षेत्र बनाएर जानु पर्ने गलकोट एफएमका अध्यक्ष राज थापाको भनाई छ ।
Previous Articleनेपालमा नर्सिङ पेशाः अवसर तथा चुनौती
Next Article २३ कात्तिक २०७३, धौलागिरी स्टार साप्ताहिक