बिन्जु खड्का
परापूर्व कालदेखि नै नर्सिङ पेशालाई विभिन्न संस्कृति र समुदायमा फरक–फरक ढंगले बुझिन्थ्यो । नर्स शब्द खासगरी ल्याटिन भाषाबाट आएको हो । जसलाई Nutrire भनिन्छ । यसको अर्थ हो शिशुलाई स्तनपान गराउने, दुध खुवाउने तथा हेरचाह गर्ने । प्राचिन इतिहासदेखि हेर्दै आउँदा नर्सिङ पेशा आजको जस्तो व्यवस्थित, पेशागत, संस्थागत रुपमा आइपुग्नुमा निकै लामो इतिहास देखिन्छ ।
मर्यादित, पेशागत नर्सिङको रुपमा क्रिमियन युद्धपछि विकास भएको हो । यसको मुख्य पात्र फ्लोरेन्स नाइटेन्गेल थिइन् । जसले यसका आधारभूत कुराहरु Notes of Nursing भन्ने किताबमा लेखिएको थियो । न्यूजिल्याण्ड पहिलो देश हो जसले वैधानिक रुपमा Nurses Registration Act (१२ सेप्टेम्बर १९०१) मा स्थापना गरेको थियो । Florence Nightingale का अनुसार, नर्सिङ भनेको मानिसको स्वास्थ्य तन्दुरुस्त राख्नु, बिरामीको उपचार गर्नु वा रोग लाग्न नदिनु हो । (Nursing is the possible condition for nature tor restore of preserve health, to prevent or the care disease or injury).
सन् १९७२ (२०२९) भन्दा अगाडिको नर्सिङ इतिहासका बारेमा भन्नुपर्दा परम्परागत पाराले केटी तथा महिलाले परिवार तथा समुदायहरुको हेरविचार भन्ने बुझिन्छ । केही सामाजिक तथा धार्मिक समूहमा गुभाजु, धामी, झाँक्री, ध्वामयजु, पुजारी, सुडेनी, जान्ने मान्छे, फुक्ने मान्छे, गुरुबा, वैद्य आदि विरामीको औषधि–उपचारमा लागेको देखिन्छ र अहिले नर्सहरुलाई परम्परागत शैलीका उपचारमा लाग्ने व्यक्तिका नामले चिनिन्छ । विभिन्न समयको अन्तराल सँग–सँगै सामाजिक भिन्नता पनि आए । जसले गर्दा स्वास्थ्य उपचारको शैलीमा पनि परिवर्तन आयो । परिवारभित्र गरिने उपचार अब संस्थामा परिणत भयो ।
सन् १८९० –वि.सं. १९४७) मा स्थापना भएको विर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । वि.सं. १९४७–१९८७ समयमा कोही पनि नर्स बिरामीको उपचारको लागि थिएनन् । त्यसबेला अधिकार प्राप्त व्यक्तिहरुले बिरामीको उपचारका लागि नर्सको आवश्यकता भएको महसुस गरी चारजना नेपाली महिलाहरु श्री विद्यावती कंसाकार, श्री राधादेवी मालाकार, श्री धर्मदेवी कंसाकार र श्री विष्णुदेवी मालीलाई १८ महिने प्रसुति कोर्स गर्न भारत पठाइयो र कोर्स सकिएपछि वीर अस्पतालमा १९८७ मा काम गराइयो । सन् १९७२ पछि त्रिभुवन विश्वविद्यालयले चलिरहेका सम्पूर्ण कार्यक्रमहरु, विद्यालय तथा क्याम्पसहरु २०२९ (सन् १९७२) मा आफ्नो अन्र्तगतमा ल्यायो । त्यसकारण महाबौद्ध नर्सिङ विद्यालयको नाम परिवर्तन भएर नर्स क्याम्पस महाबौद्ध भयो । २०३० र २०३५ मा अ.न.मी. क्याम्पस तानसेन र क्षेत्रपाटीमा स्थापना भई राम्ररी चले तर ती दुवै हाल बन्द भैसकेका छन् । CTEVT ले देशभर धेरै ANM Campus चलाई रहेका छन् । यी कार्यक्रमहरुमा भर्ना हुनका लागि SLC पास हुनैपर्ने नियम बनाएको छ । यी कार्यक्रमहरुमा वार्षिक र सेमेस्टर प्रणालीहरु विश्व विद्यालयले लागु गरी अरु कार्याक्रम सँग मिल्ने बनाएर त्रिभुवन विश्व विद्यालयले १९८० ई. देखि लागु हुने गरी पहिलो स्टाफ नर्स कार्यक्रमको समय घटाई ३ वर्षमा झा¥यो, जुन पहिला ३१/२ वर्षको थियो ।
राजा वीरेन्द्रले आफ्नो राज्य शासनका बेलामा राजकुमारी प्रेक्षालाई नर्सिङ पेसामा भर्ना गरी ठूलो परिवर्तन ल्याए । स्नातक तहमा प्रौढ नर्सिङ (ई. १९८३), स्नातक बालरोग नर्सिङ (ई. १९८४) अहिले ३ किसिमका (अस्पताल, सामुदायिक र मनोवैज्ञानिक) कार्यक्रमहरु नर्सिङ क्याम्पस महाराजगञ्जमा राम्ररी चलिरहेका छन् । महिलाको स्वास्थ्य र विकासमा स्नातकोत्तर कार्यक्रम सन् १९९५ दे्खि सुरु भयो । यसरी नै पछि विस्तारै प्रौढ नर्सिङ २०५७ र बालरोग नर्सिङ २०५८ मा पनि स्नातकोत्तर कार्यक्रम सुरु भयो । यी प्रत्येक विषयमा ४/४ जना विद्यार्थी रहेका थिए । २०६२ देखि क्याम्पसले B.Sc Nursing (नर्सिङ) पनि सुरु गरिसकेको छ । त्रिभुवन विश्व विद्यालयको अनुमति लिई वीर अस्पतालले पनि वीर अस्पताल नर्सिङ क्याम्पस २०४५ खोल्यो । हाल यो राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत रहेको छ । हाल काठमाण्डौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, CTEVT अन्तर्गतका धेरै क्याम्पसहरुमा प्रमाण पत्र तह लगायत स्नातक तहका कार्यक्रमहरु सुचारु भैरहेका छन् । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०५३ देखि B.c नर्सिङ धरानमा ४ वर्षको स्थापना गरेको थियो । २००५ देखि हाल पूर्वाञ्चल, काठमाडौं विश्वविद्यालय, त्रि.वि.त्र र पोखरा विश्वविद्यालय अन्तगर्तका क्याम्पसमा कार्यक्रम चलिरहेको छ ।
र्इं १९८६ देखि १० प्रतिशत पुरुषहरुलाई पनि नर्सिङ क्याम्पसमा भर्ना लिइन्थ्यो । तर १९९० ई देखि यो बन्द भयो । यद्यपि ४ वर्ष पुरुष नर्सहरुले नर्सिङमा उच्च शिक्षा (Graduate) IOM को त्रि.वि. नर्सिङ क्याम्पसबाट प्राप्त गरिसकेका छन् । कतिपयले स्नातक तथा कोहीले स्नातकोत्तर पूरा गरिसकेका छन् ।
नर्सिङ पेशालाई विश्वव्यापी रुपमै एक सम्मानित पेशा मानिन्छ । मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदान गर्न यो पेशा अत्यन्तै महत्वपूर्ण छ । नेपालमा पनि नर्सिङ पेशाले आमजनताको मन जित्न सफल नै भएको छ । विगतका विभिन्न बाधा व्यवधानसँग जुधेर हाल नर्सिङ पेशा विकसित अवस्थामा आउन सफल भएको हो ।
यतिबेला अभिभावक तथा विधार्थीको पहिलो रोजाइको विषय नर्सिङ बनेको छ । विश्व विद्यालय एवं अन्य शैक्षिक संस्थाबाट सञ्चालन गरिने नर्सिङ प्रवेश परिक्षा उत्तिर्ण गर्न विद्यार्थी एस.एल.सी पछि नै धमाधम तयारी गरिरहेका भेटिन्छन् । सेवामुलक नर्सिङ पेशामा भविष्य देख्ने विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । एकातिर नेपालमै जागिरको केहि सम्भावना र अर्कोतर्फ विदेश जान इच्छुकका लागि पनि नर्सिङ शिक्षा सहयोगी हुने भएकाले विद्यार्थीको आकर्षण बढेको छ ।
नेपालमा त्रिभुवन, काठमाण्डौ, पूर्वाञ्चल र पोखरा विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) चिकित्सा विज्ञान, राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट नर्सिङ शिक्षा अध्यापन गराइन्छ । उच्चस्तरको जनशक्तिको अभावले देशका सम्पूर्ण नर्सिङ क्याम्पसमा आवश्यकता अनुसारको अध्यापन गराउने विशेषज्ञहरुको कमी खड्कीएको छ । जसका कारण नर्सिङ शिक्षाको गुणस्तरमा अहिले विभिन्न प्रश्न खडा भएका छन् । साथै, सम्बन्धित निकायहरुको पर्याप्त अनुगमन र मूल्यांकन गर्न नसक्दा नर्सिङ शिक्षाको गुणस्तर खस्किदैं जाने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
पछिल्लो समय अभिभावक तथा विद्यार्थी जुन उत्साहका साथ लगानी गरेर नर्सिङ शिक्षामा होमिएका छन् त्यस अनुरुप देशमा पर्याप्त अवसर भने उपलब्ध हुन सकेको छैन । जुन अनुपातमा नर्सिङ जनशक्ति उत्पादन भइरहेको छ, त्यस अनुरुप नयाँ रोजगारी सृजना नहुँदा अध्ययन सकेर बसेका नर्सहरु निरास हुने अवस्था छ । अर्कोतर्फ दक्ष जनशक्तिको अभावमा आम जनताले आधारभुत स्वास्थ्य सेवा नपाइरहेको अवस्था विद्यमान छ । दक्ष जनशक्ति र रोजगारीको यस्तो असमानतालाई हटाउन राज्यले नै पहल गर्नुपर्ने हुन्छ । विकसित देशमा नर्सिङ पेशालाई उच्चस्तरको मान्यता र पारिश्रमिक प्राप्त हुन्छ भने रोजगारिको अवसर पनि उत्तिकै हुन्छ । नेपालमा भने सोहि अनुसारको वृद्धि विकास नहुँदा अत्याधिक नर्सिङ जनशक्ति विदेशतिर पलायन हुन बाध्य छन् ।
२०७० को तथ्यांक अनुसार हरेक वर्ष विभिन्न शैक्षिक संस्थाबाट चार हजार पाँच सयको (४५००) हाराहारीमा स्टाफ नर्स (प्रविणता प्रमाणपत्र) उत्पन्न हुने गरेको तथ्यांक छ । स्नातक तहमा वर्षेनी १५ सय जना बीएन, ९ सय जना एमएन र ९ सय जना बीएस्सी नर्सिङ पासआउट हुन्छन् । यस्तै स्नातकोत्तर तहमा ५६ जना एम एन र १७ जना एमएस्सी नर्सिङका विद्यार्थी उत्पादन भइरहेको अवस्था छ । यो आँकडाले प्रमाणपत्र र स्नातक तहमा उत्पादित जनशक्तिको तुलनामा स्नातकोत्तरमा न्यून मात्र जनशक्ति उत्पादन भएको देखाउँछ ।
नर्सिङ शिक्षाको मुलभुत मान्यता एउटै भएपनि नेपालमा विश्व विद्यालयहरुको भिन्नाभिन्नै पाठ्यक्रममा अध्यापन गराउँदै आएका छन् । नर्सिङ शिक्षामा अन्तराष्ट्रिय स्तरको मापदण्डलाई समेट्ने गरी आफ्नै परिवेशको एउटै पाठ्यक्रम देशभर लागु हुनुपर्ने विषयगत विशेषज्ञहरु बताउँछन् । हुन पनि नेपाली नर्सिङ जनशक्तिले उच्च शिक्षा हासिल गर्ने विभिन्न देश जाँदा महंगो शुल्कमा थप पाठ्यक्रम अध्ययन गर्नु परिरहेको छ । नर्सिङ शिक्षामा देखिएका यस्ता समस्या समाधान गर्न नियमनकारी निकायहरुको गहनताका साथ अध्ययन गरी नीतिगत तहमै परिमार्जन गर्न आवश्यक भइसकेको छ ।
नेपाल सरकारको स्वास्थ्य योजना तथा नीति निर्माणमा नर्सिङ विशेषज्ञहरुको प्रतिनिधित्व अत्यन्तै न्यून छ । जसका कारणले नर्सिङ क्षेत्रका समस्या जस्ताका त्यस्तै छन् । यसतर्फ अब पनि सरकारको गम्भीर ध्यानाकर्षण भएन भने समय र लगानी खर्चिएर नर्सिङ सेवामा आउन चाहने एउटा सिंगो पुस्ता नै अन्यौल र निरासमा बाँच्न विवस हुन्छ । कम्तिमा नर्सिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै नर्सिङ महाशाखाको स्थापना हुनु अहिलेको आवश्यकता हो । (खड्का निलगिरि अस्पतालकी नर्सिङ इन्चार्ज हुन् ।)