सरकारले कोरोना भाइरस डिजिज (कोभिड-१९) को सङ्क्रमण फैलिन नलिन घोषणा गरेको लक डाउनको अवधि थप गरेको छ । चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २५ गते १२ बजेसम्म लक डाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत १० गते दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्मका लागि लक डाउन घोषणा गरेको थियो ।
त्यसैगरी सरकारले कोरोना भाइरसबाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले १ सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
चैत १६ गते राति साढे ९ बजेसम्म कोरोना सङ्क्रमणबाट ३१ हजार ८ सय ८२ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ८१ हजार ७ सय ६ जनामा सङ्क्रमण देखिएको छ । १ लाख ४५ हजार ६ सय ९६ जना उपचारपछि घर फर्किएका छन् ।