कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन् । टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैबीच विश्वका एक सय ९९ देश र अरु दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३१ हजार पुगेको छ । अहिलेसम्म ६ लाख ६२ हजार चार सय दुई जना संक्रमित भएकामा ३० हजार आठ सय २६ जनाको ज्यान गएको वल्डोमटिरले जनाएको छ ।
एक लाख ४१ हजार चार सय ६५ जना भने उपचारपछि निको भएका छन् । त्यस्तै चार लाख ९० हजार एक सय ११ जनाको भने उपचार भइरहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने अमेरिकामा एक लाख २३ हजार दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।