२०७२ सालमा जारी नेपालको संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला हुनैपर्ने व्यवस्था गरेको छ । स्थानीय तह सञ्चालन ऐन–२०७४ ले उपप्रमुखलाई स्थानीय तहमा न्यायिक समितिको मुख्य जिम्मेवारी दिएको छ । योसँगै उपप्रमुखलाई अनुगमन समितिको जिम्मेवारी पनि रहेको छ । सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले कामको चाप बढेको छ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका अन्य स्थानीय तहहरुको तुलनामा स्रोतसाधन र जनशक्तिका हिसाबले अब्बल मानिन्छ । बेनी नगरपालिका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति, कृषि र पर्यटन लगायतका क्षेत्रमा पनि धनी छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि हालसम्म बेनी नगरपालिकाले सञ्चालन गरेका योजना, महिलासम्बन्धी गतिविधि तथा कार्यक्रम, गौरवका योजनाहरु के–के छन् ? नेपालमा सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको पनि साढे २ वर्षभन्दा बढी समय बितिसकेको छ । यही सन्दर्भमा बेनी नगरपालिकाका उप–प्रमुख सन्जु बरुवालसँग रुप्से दैनिकका लागि प्रताप बानियाँले गरेको कुराकानीको सारसङ्क्षेप :
तपाईं बेनी नगरपालिकाको उपप्रमुखमा चुनिएपछि के–के काम गनुभयो ?
नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार तीन तहको सरकार सञ्चालन गर्ने व्यवस्था अनुरुप २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि खासगरी नगरवासीको इच्छा, चाहना तथा आवश्यकता अनुसारका योजनाहरु बनाउने कामलाई नै मुख्य रुपमा जोड दिएका छौं । संविधानमा उल्लेखित मौलिक हकको कदर गर्दै नीति तथा कार्यक्रमहरु बनाएर लागू गर्ने गरेका छौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपप्रमुखलाई दिएको जिम्मेवारी अन्तर्गत ५ ओटा विषयगत समितिको संयोजक र ९ ओटा विभिन्न समितिमा सदस्यको भूमिकामा रही काम गर्ने अधिकार प्रत्यायोजन गरेको हुँदा सोही अनुसार कार्यसम्पादन गर्ने गरिएको छ । हामीले ५ ओटा विषयगत समितिको कार्यविधि बनाई काम गर्दै आइरहेका छौं ।
बेनी नगरपालिकामा कसरी विकास निर्माणका कामहरु अगाडि बढेका छन् ?
बेनी नगरपालिकाभित्र रहेका १० ओटा वडाका सबै वस्तीमा सडकको पहुँच पु¥याइएको छ भने बाह्रै महिना सवारीसाधन गुड्ने गरी सडकको स्तरोन्नति गरिएको छ । ‘एक घर, एक धारा’को अभियान सञ्चालन गरी खानेपानीको अति समस्या भएको अर्थुङ्गे, पुलाचौरको अवेचौर, घतान र पात्लेखेतमा खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । सो योजना अन्तर्गत मिटर सिस्टमबाट जनतालाई खानेपानी उपभोगको व्यवस्था मिलाएका छौं । नगरपालिकाको सबै वडा छुने गरी रिङरोडको अवधारणा अघि सारिएको छ भने म्याग्दी खोलामाथि ४ नम्बर वडाको सिङ्गास्थित पक्की मोटरेबल पुल निर्माण गर्नका लागि सर्भेको काम अघि बढाइएको छ ।
बेनी नगरपालिकाको गौरवका योजनाहरु के–के होलान् ?
बेनी नगरपालिकाको गौरवको योजनाहरुतर्फ बेनी–अर्थुङ्गे हुँदै पात्लेखेत जाने सडकको स्तरोन्नति र कालोपत्रे, ‘एक वडा, एक उत्पादन’ कार्यक्रम, पर्यटकीय क्षेत्र लभ्लीहिलको विकास तथा पर्यटन प्रवद्र्धन, प्रसिद्ध जगन्नाथ मन्दिरनिर केभहिलमा भ्यु–टावर निर्माण, गलेश्वर, भकिम्लीको स्वर्गाश्रमको प्रचारप्रसार, पौलस्त्य पुलहाश्रम (रावण–पार्क निर्माण), ऐतिहासिक कोट मन्दिरहरुको संरक्षण र प्रवद्र्धन, नगर क्षेत्रभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको प्रचारप्रसार, खुलामञ्च स्तरोन्नति, रत्नेचौर खेलमैदानको स्तरोन्नति र व्यवस्थापनलगायत रहेका छन् ।
सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा यसलाई सफल बनाउन नगरपालिकामार्फत के कस्ता योजनाहरु बनाउनुभएको छ ?
भ्रमण वर्षलाई सफल बनाउनका लागि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेश हुने स्थान कालीगण्डकी नदीमाथि पक्की पुलनिर स्वागत व्यानर राख्ने तयारी गरेका छौं । खासगरी भ्रमण गर्नका लागि भनेर प्रकृतिप्रेमी पर्यटक र धार्मिक पर्यटक दुईथरी आउने भएकाले सोही अनुसार लक्षित गरेर विभिन्न कार्यक्रमहरु बनाएका छौं । कालीपुल बसपार्कमा रहेको पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाएर डिजिटल सूचना पार्टीको स्थापना गर्ने सोच रहेको छ । बेनीमा पर्यटक भिœयाउनका लागि म्याग्दीखोलामा रहेको पक्की मोटरेबल पुलदेखि पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि त्रिपक्षीय साझेदारीमा मोना–बेनी–लभ्लीहिल पदमार्ग बनाइएको छ । पदमार्ग निर्माणमा बेनी नगरपालिकाको ५०, प्रवासी म्याग्देलीहरुको संस्था मोना ४० र निजी क्षेत्र म्याग्दी उद्योग वाणिज्य संघको १० प्रतिशत लगानी गरिएको छ । यसका साथै प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै केभहिलमा भ्यु–टावर निर्माणको हालसम्म ५० प्रतिशत काम सकिएको छ ।
न्यायिक समितिमा के कस्ता मुद्दाहरु आउने गरेका छन् ? र कसरी समाधान गर्नुभएको छ ?
न्यायिक समितिमा घरजग्गा, सम्बन्धबिच्छेद, लेनदेन, पशुपंक्षीसम्बन्धी, घरायसी झै–झगडा, घरबहाल, गालीगलौज, सीमा विवाद लगायतका मुद्दाहरु आउने गरेका छन् । हालसम्म विभिन्न प्रकृतिका ४७ ओटा मुद्दाहरु न्यायिक समितिमा दर्ता भएकोमा अधिकांश मुद्दाहरु फस्र्यौट गरिएको छ । न्यायिक समितिमा आउने मुद्दाहरु व्यवस्थापनका लागि कार्यक्षेत्र भित्र पर्ने मुद्दाहरुलाई फस्र्यौट गर्ने कामहरु गरिँदै आइएको छ । आवश्यक परेमा जिल्ला प्रहरी, अदालत, सरकारी वकिल कार्यालयसँग परामर्श गर्ने सल्लाह लिने र समन्वय गरेर मुद्दाको किनारा लगाउने काम गरिएको छ । कतिपय मुद्दाहरु मौखिम रुपमा आउने भएकाले त्यस्ता मुद्दाको आन्तरिक रुपमा समस्या समाधान पनि गरेका छौं । पीडित व्यक्तिलाई पहिलो प्राथमिकता दिएर न्याय सम्पादन तथा सहजीकरणको व्यवस्था मिलाइएको हुँदा न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको समाधान गरी अन्यलाई भने अदालत पठाउने गरिन्छ ।
अहिलेसम्म न्यायिक समितिमार्फत कति मुद्दाहरु मिलाउनुभयो ?
न्यायिक समितिको स्थापना भई कार्यसम्पादन सुरु गरेदेखि हालसम्म विभिन्न प्रकृतिका ४७ ओटा मुद्दाहरु न्यायिक समितिमा आएको हुँदा त्यसमध्ये अधिकांश मुद्दाको किनारा लगाइएको छ । यसमध्ये दुवै पक्षलाई राखेर आवश्यक सल्लाह सुझावसहित मिलापत्र गरी सहज वातावरण निर्माण गरिएको छ ।
तपाईं उप–प्रमुख हुँदै गर्दा महिला सशक्तिकरणका के कस्ता कार्यक्रमहरु सञ्चालन गर्नुभएको छ ?
म एकजना महिला अनि उपप्रमुख भएर काम गर्दैगर्दा महिला सशक्तिकरणका लागि विभिन्न नीति, कार्यक्रमहरु सञ्चालनमा जोड दिएकी छु । बेनी नगरपालिकाभित्र पुरुषको तुलनामा महिलाहरुको जनसङ्ख्या धेरै रहेको छ । नगरपालिका अन्तर्गत १० ओटै वडामा छरिएर रहेका १ सय १८ वटा आमा समूहरुलाई एकीकृत गरी वडामा वडास्तरीय मूल आमा समूह १० वटा र सबै वडाको प्रतिनिधित्व हुनेगरी नगरपालिकास्तरीय एकवटा मूल आमा समूह गठन गरेर महिला लक्षित कार्यक्रमलाई अगाडि बढाइएको छ । नीति बनाएर महिला समूहलाई एकीकृत गरी मूल आमा समूह निर्माण गरिएको हुँदा महिलाहरुलाई क्षमता विकास, कानुनी सचेतना, उद्घोषण तथा भाषण कला, सिपमूलक तालिम, एकल महिला लक्षित तथा अपाङ्गता भएकालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । यसका साथै लैङ्गिक हिंसा निवारण रणनीतिक तथा बालविवाह उन्मुलन कार्ययोजना बनाई सोही अनुसारका कार्यक्रमलाई जोड दिएका छौं ।
बेनी नगरपालिका भित्र महिलाहरुको अवस्था कत्तिको सशक्त देखिन्छ ?
बेनी नगरपालिकामा महिलाहरुको अवस्था पहिलेको तुलनामा अहिले सशक्त हुँदै गैरहेको पाइन्छ । महिलाहरु स्वयं केही गर्नुपर्छ भनेर अगाडि बढिरहेका छन् । समाजमा हुने विभिन्न विकास निर्माणका योजनाहरुको नेतृत्व गर्ने, संघसंस्थामा बस्ने, घर व्यवहार, पसललगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रियता बढ्दै जान थालेको छ । म उपप्रमुख निर्वाचित भएलगत्तै एकजना धामी झाँक्रीले झारफुक गर्ने बाहनामा महिलाहरुलाई यौनशोषण गर्दै आइरहेको भन्ने वडाका महिला सदस्यमार्फत मसँग त्यो घटना आयो र त्यतिबेला तत्कालीन डिएसपी बसुन्धरा खड्काको पहलमा पीडक धामीलाई बागलुङबाट तत्कालै पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइयो र अहिले सो व्यक्ति कारागारमा सजाय भोगिरहेको छ । यस्ता घटनाहरु बाहिर आउन सक्नु पनि महिला सशक्तिकरण बढेको र महिलाको अवस्थामा सुधार आएको छ भन्ने एउटा उदाहरण लिन सकिन्छ ।
वडाका जनप्रतिनिधिहरुसँगको सम्बन्ध कस्तो रहेको छ ?
बेनी नगरपालिकाको सबै वडाका जनप्रतिनिधिहरुसँग नजिकको सम्बन्ध रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनले नै स्पष्ट रुपमा सबै जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार तोकिदिएको हुँदा सोही अनुसार हामीले आ–आफ्नो क्षेत्रको काम गर्दै आइरहेका छौं । सरकारको कामलाई जनताको माझमा पु¥याउने हामी सबैको जिम्मेवारी भएकाले सबै वडामा आवश्यक समन्वय, सम्पर्क र सल्लाह गरेर कामकार्वाहीलाई अगाडि बढाएका छौं ।
बेनी नगरपालिकामा कतिवटा विद्यालयहरु सञ्चालनमा छन्भने सामुदायिक विद्यालय सुधारका योजनाहरु केके सञ्चालन गरिएको छ ?
बेनी नगरपालिकाभित्र सामुदायिक विद्यालयहरु कुल ५६ र संस्थागत ८ ओटा सञ्चालनमा रहेका छन् । यसका साथै धौलागिरी क्षेत्रमै पहिलोपटक क्युएए प्राप्त एकमात्र क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस पनि बेनी नगरपालिका भित्रै पर्दछ । सामुदायिक विद्यालय सुधार गर्नका लागि बेनी नगरपालिकाको तर्फदेखि विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, नगर क्षेत्रभित्र रहेका मावि विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था, महिलामैत्री शौचालय निर्माण, अपाङ्गमैत्री भवन निर्माणमा जोड दिएका छौं । नगरपालिकामा रहेको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत शैक्षिक क्षेत्रसँग सम्बन्धित आवश्यक कार्यक्रमहरु पनि भैरहेकै छन् । शिक्षक नभएका विद्यालयहरुमा दरबन्दी मिलान, भौतिक संरचनाको अभाव झेलेका विद्यालयहरुमा भवन निर्माण, खानेपानी योजना तथा शौचालय कोटा आदिमा सहयोग गर्ने गरिएको छ । साथै सामुदायिक विद्यालय सुधार गर्नका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकका बिचमा आवश्यक समन्वय, सहकार्य तथा अन्तत्र्रिmयालाई जोड गरिएको छ । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम बनाएर अध्ययन अध्यापन गराउनका लागि समिति गठन गरी तयारी अगाडि बढाइएको छ ।
तपाईं जनप्रतिनिधि हुनुभन्दा अघि र अहिले जिम्मेवारीसहितको पदमा हुँदा के अनुभव गर्नुभयो ?
म उप–प्रमुख हुनुभन्दा पहिले बेनी नगरपालिकाको सल्लाहकारको रुपमा थिएँ । पहिला सल्लाहकार हुँदा नगरपालिकाको वैठक तथा कार्यक्रममा सहभागी हुने गरिन्थ्यो । तर, अहिले विशेष जिम्मेवारीसहित जनप्रतिनिधि भएर नगरपालिकामा आइसकेपछि धेरै फरक अनुभूतिको महशुस गरेकी छु । उपप्रमुख भएर काम गर्दैगर्दा नगरवासीसँग नजिकिने अवसर पनि मिल्यो । विकास निर्माणका काम, कानुनी विषय, नीति तथा बजेट निर्माणलगायत थुप्रै कामको समेत अनुभव लिन पाइयो । उपप्रमुख भएर काम गर्ने अवसर पाउँदा म अत्यन्तै खुशी छु र आफूलाई भाग्यमानी ठानेकी छु ।
बेनी नगरपालिकालाई नमुना बनाउन केही योजनाहरु सोच्नुभएको छ ?
बेनी नगरपालिका आफैमा नमुना छ र यसलाई अझै नमुना बनाउनका लागि हामीले नगरपालिकामार्फत सबै वडामा पुग्नेगरी रिङरोडको अवधारणा अगाडि सारेका छौं । बेनी नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । नगरपालिकाको सबै वडाका सडकलाई स्तरोन्नति र कालोपत्रे गर्ने, विकासे योजनाहरुलाई दीगो बनाउन डिपिआर तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
आउँदा दिनका योजनाहरु के–के छन् होला ?
विभिन्न हिंसामा पर्ने महिला तथा बालबालिकाहरुको उद्दार र राहतका लागि सेफ–हाउस बनाउने, महिलाहरुलाई आत्मनिर्भर बनाउन व्यावसायिक तथा आयआर्जनमूलक कार्यक्रम निर्माणमा जोड, आर्थिक सशक्तिकरण गर्न आवश्यक कार्यक्रम, पर्यटन पूर्वाधार, सडकको स्तरोन्नति गर्ने, पदमार्गहरु बनाउने, पिक्नीक स्पोट बनाउने, जगन्नाथमा भेजिटेरियन स्पोट बनाउने जस्ता कार्यक्रम तथा योजनाहरु रहेका छन् ।
आगामी निर्वाचनमा कुन पदमा उम्मेदवारी दिने इच्छा छ ?
आगामी निर्वाचनमा अहिलेसम्म फेरी उम्मेदवार बन्नका लागि त्यस्तो कुनै सोच बनाएको छैन । तर, पनि जनप्रतिनिधि भएर जनताको काम गर्नका लागि भने विचार गर्न सकिन्छ । पुनः उम्मेदवार बन्नका लागि पार्टी र जनताले फेरी पनि विश्वास गरेको खण्डमा जुनकुनै पदमा उठ्न सक्ने सम्भावना समेत उत्तिकै छ । राजनीति भनेको पनि समाजसेवा भएकाले विकास निर्माण र जनताको काम गर्नका लागि राजनीति क्षेत्रमै लाग्नुपर्छ भन्ने छैन ।
भन्नुपर्ने केही बाँकी छ ?
सर्वप्रथम त मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र पत्रिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि हामी नगरपालिकाको विकासमा केन्द्रीत भएरै लाग्ने छौं । बेनी नगरपालिकालाई समृद्ध बनाउन आम नगरवासी सबैको साथ र सहयोगको आवश्यकता छ । यसका लागि हामी सबैसँग हातेमालो गरेर अगाडि बढ्छौं । अन्त्यमा, मेरो अन्तरवार्ता पढेर रचनात्मक सल्लाह र सुझाव दिनुहोला भन्ने अनुरोध गर्दछु ।
‘महिलाको अवस्था सशक्त बन्दै गैरहेको छ’
Previous Articleकोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
Next Article ❤️💙💗💚गजल💛💖💜💝