आरपी शर्मा
पहिलो– अडियो प्रकरण । गोकुलप्रसाद बाँस्कोटाले ७० करोड मागेको भनिएको अडियो प्रकरणको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । सरकारका प्रबक्ता, प्रधानमन्त्रीका बिश्वासिलाको रुपमा चिनिएका बाँस्कोटालाई प्रधानमन्त्रसँग जोडेर प्रचार गर्दा तार्किक र मनासिव हुने भएकाले त्यसमा केही मिडिया र शक्ति लागे । र, ठूला भनेका मिडियाले एकैपटक योजनाबद्ध रुपमा उक्त अडियो प्रधानमन्त्रीलाई डेढ महिनाअघि नै बुझाउँदा पनि कुनै एक्सन नभएको समाचार प्राथमिकताका साथ प्रवाह गरे । अर्थात सुरक्षण मुद्रण मेसिन खरिदका सबै प्रक्रिया प्रधानमन्त्रीको जानकारी रहेको र उक्त भिडियोबारे पनि प्रधानमन्त्री ज्ञात रहेको विना श्रोतको एकोहोरो सन्देश प्रवाह गरिरहे । ठूला भनिएका दैनिक र अनलाइनले यस्तो गम्भीर मुद्दामा कार्यकारी प्रमुखलाई तान्दा कुनै श्रोतको उल्लेख गरेनन् । तर जव अडियो रेकर्ड गरेका भनिएका एजेण्टले प्रधानमन्त्रीलाई त्यसबारे थाहा नभएको र आफूले नबुझाएको बताए, त्यसपछि सत्यतथ्य बाहिर आयो । तर प्रधानमन्त्रीमाथि यस्तो गम्भीर आरोप लगाउने ती मिडियाले आफ्नो गलत समाचारमा क्षमायाचना गरेका छैनन् । बरु उनीहरु जर्बजस्ती प्रधानमन्त्रीलाई विवादमा तान्ने, गोयबल्स शैलीमा प्रचार गरेर गलतलाई सत्यमा रुपान्तरण गर्ने प्रयासमा छन् ।
कुनै मुद्दाका आधारमा नभएर जसरी पनि ओली सरकालाई बिस्थापन गर्नुपर्छ भन्ने केही बाहिरिया र घरेलु शक्तिको गोटीका रुपमा ती संचारमाध्यम र तीनका संम्पादक लागेको प्रष्टै छ । नभए प्रधानमन्त्रीलाई पहिले नै थाहा भएको प्रोपोगाण्डा किन गरे ? यदी उनीहरुले गल्ती भएको भन्दै सार्वजनिक क्षमायाचना गर्दैनन् भने कसैका गोटी भएको किन नभन्ने ? प्रधानमन्त्री ओलीको आफूप्रतिको बिश्वास र देश बनाउने सोचका अघि त्यस्ता सुनियोजित कदमलाई धुलो चटाइदिए ।
दोश्रो– बाँस्कोटामाथि छानवीनको प्रसंग । अडियो सार्वजनिक हुनेबित्तिकै सबैभन्दा पहिला मन्त्री बाँस्कोटालाई राजिनामा दिएर छानवीनलाई सहयोग पुर्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । ७ गते बेलुका अवेर अडियो बाहिरिएपछि लगत्तै ओलीले नै आरोपित मन्त्रीलाई यो निर्देशन दिनुभएको हो । भोलिपल्ट बिहान अध्यक्ष प्रचण्डसँग बैठक हुँदा ओलीले नै गोकुललाई राजिनामा दिन भनेको बताउनुभएको थियो । त्यसबेला प्रधानमन्त्रीले अख्तियार, सीआईबी लगायतका निकायले छानविन गर्नुपर्ने भन्दै ती निकायलाई समेत संकेत गर्नुभएको थियो । तर भोलिपल्ट ठूला भनिएका तीनै मिडियामा प्रधानमन्त्रीले गोकुललाई छानवीन गर्नुनपर्ने बताएको भन्दै मुख्य समाचार सार्वजनिक भए । उक्त बैठकमा प्रधानमन्त्री र प्रचण्डमात्रै हुनुहुन्थ्यो । प्रचण्डले प्रधानमन्त्रीले गोकुलले गल्ती गरेका भए कारवाही भोग्न तयार हुनुपर्छ भनेको बताउनुभएको थियो । तर बैठकमा सहभागि पक्षको भन्दा ठिक विपरित प्रधानमन्त्रीले आफ्ना बिश्वासीलाई बचाउन लागेको भन्दै एकैखालका समाचार आए । अर्थात ती मिडिया र संपादकको एकैमात्र उदेश्य थियो– प्रधानमन्त्रीबिरुद्धको ग्राण्ड डिजाइनलाई निरन्तरता दिनु । त्यसैले तीनले गलत समाचार प्रवाह गरे र आजसम्म पनि गलत भएको भन्दै क्षमायाचना गरेका छैनन ।
तेश्रो– संविधान संसोधन कार्यदल । जनताबाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संसोधन गर्न नेकपा तयार भएको समाचार आयो । र, त्यसमा प्रधानमन्त्री ओलीसमेत तयार भएको र कार्यदल बनाउँदा ओलीको पनि सहमति रहेको भन्ने रिर्पोट आयो । त्यसदिन ओलीको ‘भिजन टु एक्सन’ भन्ने पुस्तक बिमोचन थियो, त्यसपछिको सचिवालय बैठकले कार्यदल बनाएको भन्ने भोलिपल्ट प्रधानमन्त्री जन्मघर पुगेपछि काठमाडौंबाट प्रवाहित भयो । खासमा कार्यदलको अवधारणा प्रचण्डको थियो र उनी वामदेवलाई आफ्ना सत्तारोहणको तुरुप बनाउन चाहन्थे । उनैले त्यो सार्बजनिक गरिदिए र त्यसमा सबै सहमत भएको बताइदिए । तर प्रधानमन्त्रीलाई हुँदै नभएको कार्यदल आफू काठमाडौंबाहिर गएका बेला भाइरल बन्ला भन्ने लागेको पनि थिएन ।
आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्न तयार रहेको उहाँले बताउँदै आउनुभएको छ । तर एउटा व्यक्तिलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउन् जनमतको अपमान हुन्छ भन्ने ओलीलाई थाहा थियो । त्यसैले उहाँले यस्तो कदम सफल हुन दिने कुरा थिएन । र, दिनुभएन । अर्थात जनमतको नेतृत्व उहाँले गर्नुभयो । तर तिनै मिडियाले ओलीकै सहमतिमा कार्यदल बनेको भन्दै एकोहोरो प्रचार गरे । आखिर उक्त प्रचार एकैछिनमा गलत सावित भयो । नबनेको कार्यदल अवधारणाकै क्रममा सकियो ।
चौथो– एमसीसी । एमसीसी नेपालको बिकासमा सहयोग गर्ने अमेरिका परियोजना हो । यसले प्रसारण लाइन निर्माण गर्छ र सडक स्तरोन्नती गर्छ । यहाँ अमेरिकी सेना आउने कल्पनासमेत यसले गर्दैन । फेरी अमेरिकी सेना यति सस्तो छैन, जो नेपाल आओस् । यसलाई असफल पार्न कन्दनीदेखिको बल लगाएर लागेका छन् पूर्वमाओवादी र केही सरकारबिरोधी पूर्वएमालेहरु । भीम रावललाई भूमिकाविहिन भएकोमा पिंडा छ । झलनाथ खनाललाई राष्ट्रपतिको सुनिश्चितता चाहिएको छ । प्रचण्डले उनीहरुलाई उधारो पद बाँडिसकेका छन् । किनकी ती पुरा नगर्नु उनको राजनीतिक चरित्र हो । प्रचण्डले जे भन्छन, त्यो पुरा गर्दैनन् । तरपनि वामदेव र झलनाथलाई उनले बिश्वास दिलाएकै छन् । एमसीसीको सारबस्तुको बिरोध होइन, सरकार र अमेरिकाको बिरोध जसरी भएको छ, त्यो पनि प्रधानमन्त्रीबिरुद्ध सुनियोजित योजनाकै अंग हो । एमसीसी पास नभए सरकार अफ्ठ्यारोमा पर्छ भन्ने उनीहरुलाई लागेको छ । तर ओलीलाई थाहा छ एमसीसी पारित हुन्छ र नेपालको विकासमा त्यसले अपेक्षित योगदान गर्छ ।
ओली राजनीति बुझ्नु्हुन्छ, बिकास बुझनुहुन्छ । ओलीलाई कमजोर पारेको ठान्नेलाई थाहा हुँदैन कतिखेर उनीहरु नै कमजोर हुन्छन । किनकी ओली आफुसँग अतिरिक्त प्लान राख्नुहुन्छ । कहिलेकाही प्लान ‘ए’ ले काम नगर्दा प्लान ‘बी’ प्रभावी भएर आउँछ । ओलीबिरुद्ध जसरी अहिले चौतर्फी घेराउ र आक्रमण गर्न खोजिएको छ, यो क्रम त निरन्तर चलिरहला तर यसले अन्तत पाउने असफलतामात्र हो । यस्तो असफल षड्यन्त्रमा लाग्नुभन्दा ओलीको भिजन र एक्सनको सहयात्री बन्नुमा सबैको हितकर छ ।