काठमाडौं, २२ कात्तिक – संविधान संशोधनका लागि सरकारले मधेसी मोर्चाका नेताहरुलाई पठाएको मस्यौदा सहितको पत्रको सार्वजनिक आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरुले खण्डन गरे पनि मस्यौदा बाहिर चुहिएको विषयमा मोर्चा भित्र आरोप प्रत्यारोप हुन थालेको छ ।
अंगीकृत नागरिकलाई उच्च संबैधानिक पदमा जान मिल्नेगरी ड्राफ्ट गरिएको संविधान संशोधन मस्यौदा बाहिर आएपछि आइतबार प्रधानमन्त्री दाहालले मस्यौदा नै नबनाएको भन्दै खण्डन गरेका थिए । यस्तै आइतबारका छापा माध्यममा मस्यौदा सहितको पत्र आएको स्वीकार गरेका मधेसी मोर्चाका नेताहरुले पनि विवाद भएपछि सरकारले मस्यौदा नै नपठाएको भन्दै खण्डन गरेका थिए । तर, मधेसी मोर्चा आवद्ध दलले सरकारले पठाएको मस्यौदा सार्वजनिक गरेको भन्दै एक अर्कामा दोषारोपण गरेका छन् ।
सरकारले पठाएको संविधान संशोधन मस्यौदा सार्वजनिक गरेको भन्दै मधेसी दलहरुबीच सुरु भएको आरोप प्रत्यारोपले सरकारले मस्यौदा पठाएको भने पुष्टि भएको छ । मस्यौदा सार्वजनिक भएपछि उत्पन्न जनआक्रोशका कारण उनीहरुले मस्यौदा नै नआएको भन्दै प्रतिक्रिया दिएका थिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले आफ्नो फेसबुकमा स्टाटस मार्फत ‘सरकारका एकजना मन्त्रीले अनौपचारिक रुपमा हेर्नका लागि पठाइएको खेस्रा’ सदभावना पार्टीको सरकारमा जाने हतारोका कारण सार्वजनिक भएको आरोप लगाएका छन् । उनको फेसबुक स्टाटस अनुसार संविधान संशोधन प्रस्ताव मस्यौदा गर्ने जिम्मेवारी पाएका एक मन्त्रीले अनौपचारिक रुपमा सो मस्यौदा हेर्नका लागि तमलोपा नेता हृदयश त्रिपाठी, सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्ण र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पठाएका थिए ।
मन्त्रीले दिएको सो मस्यौदामा छलफलै नगरी अंगीकृत नागरिकलाई संबैधानिक पदको सुनिश्चितता सहितको दुई बुँदा सदभावना नेता कर्णले थपेर सदभावना पार्टीका अर्का एक नेता मार्फत मिडियामा सार्वजनिक गरेको सो स्टाटसमा उल्लेख छ । विगतमा पनि सदभावना पार्टीले यस्तै तिकडम गर्दै आएको र अहिले पनि विजयकुमार गच्छदारको पार्टीले जस्तै सरकारमा जाने हतारोले सरकारले दिएको मस्यौदा सार्वजनिक गरेको आरोप उनको छ ।
चौरसियाको फेसबुक स्टाटसमा लेखिएको छ– ‘मस्यौदाको खेस्रा अनौपचारिक ढंगले हेर्छु भनेर माग्ने र दुई बुँदा थपथाप गरी सद्भावना पार्टीका एक जना नेताले हतार हतारमा मिडियामा सार्वजनिक गरेको बुझियो । स्रोतका अनुसार सरकारका एक जना मन्त्रीले अनौपचारिक रुपमा हेर्न मस्यौदाको चार बुँदे त्यो खेस्रा तपलोपा नेता हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्ण र नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईलाई पठाएका रहेछन् । तर, कसैसँग छलफल नै नगरी अंगिकृत नागरिकलाई संवैधानिक पदको सुनिश्चिता सहित दुई बुँदा थप गर्दै लक्ष्मणलाल कर्णको सहमतिमा सद्भावना पार्टीका एक नेताले सो खेस्रा मिडियालाई पठाए । जसको न कुनै अर्थ रहेन । दिनभर चर्चामा रहेको मस्यौदालाई सरकार र मोर्चा दुवैले खण्डन गरिसकेका छन् । विगत झैं सद्भावना पार्टीका नेताहरुले गर्दै आएको तिकडम, बितण्डा, स्टन्ट र नौटंकीको यो एउटा ताजा नमूना मात्रै हो । यस्तो कार्यले प्रष्ट छ, सरकारमा जान कति हतार रहेछ । पानी बिनाको माछो, गच्छदारको गोतियार जस्तै । ’
स्रोतका अनुसार मन्त्रीले हेर्नका लागि पठाएको संविधान संशोधनको मस्यौदा मिडियामा सार्वजनिक गर्ने सदभावना पार्टीका नेता मनिष सुमन हुन् । छिटै सरकारमा जान सरकारले पठाएको संविधान संशोधन मस्यौदा बाहिर सार्वजनिक गरिएको भन्दै संघीय समाजवादी फोरमका नेताले आपत्ती जनाएका छन् ।
मोर्चाका नेताहरुलाई पठाएको संविधान मस्यौदा यसरी चुहियो
Previous Articleलोकतन्त्र जोगाउन लोकमानलाई हटाउनुपर्छ -प्रधानमन्त्री
Next Article फेसबुक बारे नयाँ तथ्यहरु जानौँ